जन्मदेखि मृत्युसम्मको संस्कारः केही टिप्पणी

जन्मदेखि मृत्युसम्मको संस्कारः केही टिप्पणी

सांस्कृतिक आन्दोलन कम्युनिष्ट पार्टीको सर्वाधिक महत्वको रणनीतिक र कार्यनीतिक एजेण्डा हो तर नेपाली कम्युनिष्ट आन्दोलनले सांस्कृतिक परिवर्तनको एजेण्डालाई सधैँ उपेक्षा गर्यो

आहुती १ चैत्र, २०७१

सांस्कृतिक रुपान्तरणका सवालमा नेपालको कम्युनिष्ट आन्दोलन मूलतः ढोँगी चरित्रको रह्यो, सहायक पक्ष मात्र यसको क्रान्तिकारी रह्यो । लोकतान्त्रिक भनिने आन्दोलनचाहिँ मूलतः यथास्थितिवादी रह्यो, सहायक चरित्र सुधारवादी रह्यो । कम्युनिष्ट आन्दोलन राज्यसत्ता प्राप्तिको मात्र आन्दोलन होइन, यो विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन हो, यसको अर्थ सांस्कृतिक आन्दोलन कम्युनिष्ट पार्टीको सर्वाधिक महत्वको रणनीतिक र कार्यनीतिक एजेण्डा हो तर नेपाली कम्युनिष्ट आन्दोलनले सांस्कृतिक परिवर्तनको एजेण्डालाई सधैँ उपेक्षाको सूचीमा राख्न पुग्यो । यसको परिणाम आज कस्तो देखियो भने कम्युनिष्ट समर्थक पनि बढ्दै जाने धार्मिक जमात पनि बढ्दै जाने, विश्वदृष्टिकोण परिवर्तनको यात्रा तय नगरेको जमातले कम्युनिष्ट आन्दोलनलाई कुनै पनि बेला छोडिदिन सक्छ । नेपालमा यस्तै परिदृश्य देखिँदै छ । त्यसैले यो समाज परिवर्तन र परिवर्तनलाई उल्टिन नदिने विषय भएकाले संस्कार र संस्कृतिको रुपान्तरणको विषयमा नीति र ठोस आवधिक कार्यसूची बनाएर अघि बढ्नु बढाउनु धेरै ढिलो भैसकेको छ ।

नीति

यहाँ संस्कारगत विषयमा लिन आवश्यक नीति र व्यवहारबारे मात्र चर्चा केन्द्रित गरिएको छ । कुनै पनि युगमा संस्कार र संस्कृतिबारे समाजलाई निरन्तर परिवर्तनमा लैजान तीन वटा नीति एकसाथ लिनुपर्ने हुन्छ । 

क) सुधारको नीति  ख) परिवर्तनको नीति  ग) नयाँ निर्माणको नीति

क) सुधारको नीति

कुनै संस्कार वा संस्कृतिको मामलामा सुधारको नीति लिँदा त्यस नीतिका दुइटा लक्ष्य हुन्छन् । एक, सुधार गरेर लामो समय टिकाउने । दुई, सुधार गर्दै त्यसमा आधारभूत परिवर्तन गर्ने । यदि कुनै संस्कार वा संस्कृति आधारभूत रूपमा गलत छ र सहायक पक्ष मात्रै ठीक छ भने तत्कालै परिवर्तन गर्ने चेतनामा मानिसहरू नपुगेको अवस्थामा त्यसको हानिकारक पक्ष कम गर्दै अन्ततः त्यसलाई अन्त्य गर्नका निम्ति सुधारबाट काम थालिनुपर्दछ । अर्को अवस्थामा कुनै संस्कार र संस्कृतिको आधारभूत पक्ष ठीक छ तर सहायक पक्ष मात्र बेठीक छ भने त्यसको खराब पक्ष झिकेर आधारभूत पक्षलाई दीर्घजीवी बनाउन सुधार गर्नुपर्दछ । सुधार भनेपछि सबै एउटै कुरा हो भन्ने कुरा सत्य होइन । 

आधारभूत रूपमा गलत संस्कार र संस्कृतिलाई परिवर्तन नै गर्नुपर्दछ तर त्यसलाई अभ्यास गरिरहेका समुदायको अधिकतम हिस्सा त्यसलाई परिवर्तन गर्ने चेतनामा नपुगिसकेको अवस्थामा जबर्जस्ती गर्दा विकृति उत्पन्न हुने हुनाले सुधार गर्दै अन्त्य गर्ने कार्यनीति लिनुपर्ने हुन्छ ।

आम जनताको निम्ति तत्काल सुधारबाट सुरु गर्ने कार्यनीति लिँदा पनि समाजको सबैभन्दा चेतनशील तप्काले पनि त्यही सुधारको अभ्यास गर्ने हो भने सुधारको कार्यनीतिभित्र परिवर्तन र नयाँ निर्माणको रणनीति पुरिन पुग्छ । यो कस्तो कुरा हो भने दश कक्षाको विद्यार्थीलाई दश कक्षाकै पाठ्यक्रम स्नातक गरेको शिक्षकले पढाउनुपर्छ तर शिक्षकले पनि दश कक्षाकै पाठ्यक्रम अभ्यास गर्न थाल्यो भने ऊ स्नातकोत्तर तहमा स्वतः अनुत्तीर्ण हुनेछ । त्यसैले आम मानिसको अधिकतम हिस्साको पिछडिएको चेतनाका कारण संस्कार र संस्कृतिमा सुधारको अभ्यास गराउँदा वा सनातनदेखिकै गरिरहँदा नेतृत्वकारी चेतनामा पुगेको हिस्साले वा व्यक्तिले भने निश्चित रूपमा आपूmलाई परिवर्तनति र अगाडि बढेको स्पष्ट सङ्केत दिने गरी संस्कार र संस्कृतिमा अडान र गतिविधि गर्नैपर्दछ । त्यहाँ कुनै न कुनै स्तरको द्वन्द्व हुन्छ तर त्यसको जोखिम उठाउनुको विकल्प छैन । नेतृत्वको भूमिकासम्बन्धी ऐतिहासिक भौतिकवादी नियम संस्कार र संस्कृतिमा चाहिँ लागू हुन्न भन्ने कुरा हुँदैन । तत्कालीन रूपमा मानिसलाई कार्यनीतिले आकर्षित गर्छ तर दीर्घकालीन रूपमा रणनीतिले अगाडि बढाउँछ भन्ने कुरा आत्मसात् गर्नैपर्दछ ।

ख) परिवर्तनको नीति

संस्कार र संस्कृतिमा परिवर्तनको नीतिका दुई पक्ष हुन्छन् । एक, गलतलाई पूर्ण रूपमा अभ्यास गर्न छोड्नु । दुई, आधारभूत गलत पक्षलाई झिकेर अभ्यास गर्न थाल्नु । विद्वान् तथा साहित्यकार खगेन्द्र संग्रौलाले आमाको किरिया नगर्दा ताका चलेको बहसमा कतिपयले भन्थे, “विकल्प नभई छोडेर हुन्न ।” बिझेको काँडाको विकल्प के हो ? काँडा झिकेर किला ठोक्नु ? सबैलाई थाहा छ काँडा झिक्नु नै विकल्प हो । चुरोटको विकल्प सुर्ती होइन, त्यसका लागि मात्र हो जो निकोटनचाहिँ छोड्न चाहन्न । त्यसैले संस्कार र संस्कृतिका मामलामा सबैमा विकल्प चाहिन्छ भन्ने कुरा नै सत्य होइन । 

कुनैमा चाहिन्छ, कुनैमा चाहिँदैन । त्यो वास्तवमा समाजको उत्पादन सम्बन्ध र चेतना कहाँ पुगेको छ र जीवनको आवश्यकता के छ ? भन्नेमा भर पर्दछ । संस्कार र संस्कृतिका मामलामा परिवर्तन एजेण्डै हुँदैन जसरी सोच्ने तरिका जो छ, त्यो गलत छ । 

ग) नयाँ निर्माणको नीति

हरेक नयाँ युगमा उत्पादन सम्बन्ध र त्यसले निर्माण गर्ने जीवन प्रणालीले नयाँ संस्कार र संस्कृतिको माग गर्दछ जुन निरन्तरताको पुरानोमा कतै हुँदैन । त्यसो भएको हुनाले नयाँ बिल्कुल नयाँ संस्कार र संस्कृतिका अभ्यास थाल्नुपर्ने हुन्छ । संस्कारमा परिवर्तन गरी लागू गर्नुपर्ने हुन्छ । यी विषय नयाँ निर्माणको नीतिभित्र पर्दछन् । जस्तै एउटा उदाहरण, केटाकेटी विवाहपूर्व सहवास गर्न थाले जुन नेपालमा पहिले कल्पना पनि गरिन्नथ्यो । अब त्यो यथार्थलाई अस्वीकार गर्न सकिन्न । अब समाजसँग त्यसलाई जोड्न निश्चित संस्कार निर्माण जरुरी भैसक्यो ।

संस्कार र संस्कृतिबारेको यी तीन नीति वास्तवमा सबै युगमा एकसाथ मानव समुदायको फरक–फरक चेतनायुक्त हिस्सामा लागू गर्नुपर्ने हुनसक्ने नीति हुन् । ती सबै अवस्थामा बुझ्नैपर्ने कुरा के हो भने सबै समयको सबैभन्दा चेतनायुक्त नेतृत्व जमात एक कदम अगाडिको अडान र व्यवहार गर्दै समाजलाई नेतृत्व गर्छ । 

व्यवहार

१) पहिलो कुरा, संस्कार र संस्कृतिबारे नेपालका राजनीतिक पार्टी विशेषतः कम्युनिष्ट पार्टी, किनभने अरू पार्टीहरू संस्कृतिका मामलामा मूलतः यथास्थितिवादी, सुधार गरे पनि गलतलाई टिकाउने उद्देश्य मात्र राख्दछन् । कम्युनिष्ट पार्टीले सांस्कृतिक नीति मात्र बनाएर हुन्न भन्ने कुरा बुझ्नु जरुरी छ बरु सांस्कृतिक नीतिलाई लागु गर्ने आवधिक कार्यसूची पनि हुनुपर्दछ । यदि आवधिक कार्यसूची पनि नीतिका साथमा हुन्थ्यो भने कमरेड मोहनविक्रम सिंहको गृह जिल्ला प्युठानका उहाँको पार्टीको पकड भएको कम्तीमा पाँच गा.वि.स. उहाँको जीवनकालभित्रै छुवाछुतमुक्त वा बोक्सी अवधारणामुक्त वा रजस्वला हुँदा महिलाले छुवाछुतमुक्त हुन सक्ने हुँदैनथ्यो होला त ? करिब साठी वर्षमा कम्तीमा पाँच गाविसमा, नभए तीन वटामा ? तर भएको छैन किन ? किनभने संस्कार र संस्कृतिको रूपान्तरण पार्टीहरूका आवधिक कार्यसूचीमै थिएनन्, अभैm छैनन् । त्यो बनाउनुपर्छ, व्यवहारका सन्दर्भमा पहिलो आवश्यकता यही हो ।

२) नेपालका प्रगतिशील सांस्कृतिक संगठनहरू र सबै समुदायबाट विकसित प्रगतिशील बौद्धिकहरूले नेपालका सबै जाति समुदायमा रहेका संस्कारहरूलाई सुधार गर्नुपर्ने के, परिवर्तन गर्नुपर्ने के र नयाँ निर्माण गर्नुपर्ने के भन्ने बारेमा गम्भीर छलफलसहित रूपान्तरणको समग्र नीति र विधि तयार गरी आवधिक योजनाको कार्यसूची तयार पार्नुपर्दछ र पार्टी तथा सांस्कृतिक संगठनभित्रबाट आवधिक रूपान्तरणको कार्यसूची लागू गर्ने प्रक्रिया सुरु गरिनुपर्दछ । 

३) समाजमा व्यक्तिगत रूपमा जोखिम मोलेर रूपान्तरणमा लाग्ने व्यक्ति, समूहहरूलाई संरक्षण दिने, प्रोत्साहित गर्ने र सम्मानित गर्ने काम संगठनहरूको कार्यसूचीमा पारिनु गर्नुपर्दछ ।

हिन्दु संस्कारहरू र ठोस रूपान्तरणको प्रश्न

१) मुख्य लक्ष्य

हिन्दु समाजमा गर्भमा बच्चा आएदेखि मृत्युसम्म र मृत्युपश्चात् पनि गरिने संस्कारहरू जे जस्तो अवस्थामा सुरु गरिए पनि, समाजलाई आजको बिन्दुसम्म ल्याइ पुर्याउन सकारात्मक तथा नकारात्मक जे जति भूमिका तिनले खेलेका भए पनि आजको ठोस अवस्थामा हेर्दा ती सबैजसो नै हिन्दु धार्मिक अवधारणामा टिकेका छन् । स्वर्ग, नर्क, भाग्य, तागाधारीको श्रेष्ठता, पुरुषभन्दा महिला कमसलको मान्यता, खास जातको स्वतः उच्चताको अवधारणा आदि नै तिनका आधारस्तम्भ रहेका छन् । अब तिनको निरन्तरताले हिन्दु समाजलाई अगाडि बढ्न दिँदैन, बरु विकृतितिर नै लिएर जान्छ । त्यसैले सांस्कृतिक रूपान्तरणको कोणबाट हिन्दु संस्कारलाई हेर्दा यसमा परिवर्तन नै मुख्य एजेण्डा हुनुपर्छ । आम मानिसको चेतनालाई ख्याल गरेर सुधारद्वारा अघि बढ्दा पनि अन्ततः तिनलाई विस्थापन गर्ने, न कि दीर्घजीवी बनाउने, लक्ष्य नै राखिनुपर्दछ ।

२) परिवर्तन के केमा कसरी ?

हिन्दु समाजमा तागाधारीका लागि तोकिएका संस्कारहरू र दलितले पनि गर्दै आएका संस्कारहरूमध्ये आज प्रचलनमा जन्म, न्वारान, अन्नप्राशन, व्रतबन्ध, छेवर, प्रथम रजस्वला, स्वयम्बर (टीकाटालो), विवाह, मृत्युसँग सम्बन्धित संस्कार मात्र धेरैथोरै अभ्यासमा छन्, अरू पुस्तकका पानामा । पुस्तकका पानामा पुर्याएकालाई अभ्यासमा ल्याउन परेन, बाँकी रहेकाबारे के गर्ने त ? प्रश्न यही मात्र हो । 

जन्म: बच्चा जन्मिँदा सुतक बार्ने अर्थात् जुठो जस्तै कम्तीमा तेह्र दिने नातेदारले उत्सव कुनै नमनाउने र सुत्केरीलाई चोख्याउनुपर्ने जुन संस्कार छ, त्यो अर्थात् सुतक बार्ने संस्कारको अहिले कुनै सान्दर्भिकता देखिँदैन । कुन बेला कुन कारणले यो संस्कार बन्न पुग्यो त्यो बेग्लै कुरा हो तर अब त्यसको जरुरी छैन । मानिसको जन्म हुनु सृष्टिको सबैभन्दा ठूलो हर्षको विषय हो, सुतक बारेर उत्सव नमनाउनुपर्ने कुनै कारण अब बाँकी छैन । सुतक परेको घर पुरेतले चोख्याएर चोख्खिने पनि होइन । अहिलेको आवश्यकता सरसफाइ, स्वास्थ्यको हेरचाह र पौष्टिक आहारको हो जुन चोख्याउने धार्मिक मन्त्रमा हुँदैन । त्यसैले सुतक पार्ने र चोख्याउने संस्कार अब जरुरी छैन ।

न्वारान: यो बच्चाको नामकरणसँग सम्बन्धित संस्कार हो । यहीँदेखि मानिसलाई वास्तविक हिन्दु धार्मिक मान्यताकोे महासुरुङमा प्रवेश गराइन्छ र पूरै मानिसको भाग्य पुरेत र शास्त्रको जिम्मा लगाइन्छ । हिन्दु समाजका प्रत्येकको नाम कम्तीमा दुइटा हुन्छ, एउटा न्वारानको नाम र अर्को बोलाउने ।

न्वारानको नामसँग उसको चिनाको सम्बन्ध छ जसमा उसको जीवनको भाग्यको चित्रण गरिएको हुन्छ । नामको कम्तीमा पहिलो अक्षर पुरेतले दिन्छन् अरूले दिन पाउँदैनन् । बोलाउने नाममा मात्र जन्म दिने बाबुआमा वा नवीन शिशु स्वयम्को हक हुन्छ । यो एउटा निकै डरलाग्दो अवधारणा हो । आफ्नो नाममा समेत व्यक्तिलाई आफ्नो हक हुँदैन । जन्माउने बाबुआमालाई हक हुँदैन । यो नामकरणको समाजशास्त्र हिन्दु प्रभुत्ववाला समाजमा यति डरलाग्दो छ कि नामबाट समेत व्यक्तिको सामाजिक हैसियत खुल्ने हुन्छ । जस्तो ः प्रसाद, नाथ दलितलाई नाममा राख्न नदिने अनि बहादुर ब्राह्मणले राख्न नहुने आदि । 

पुरेतले केका आधारमा नामको पहिलो अक्षर वा नाम दिन्छन् त ? स्पष्टै छ पूर्वीय ज्योतिषशास्त्रको राशी अवधारणाका आधारमा । पूर्वीय ज्योतिषशास्त्रमा वैज्ञानिक महान् अन्वेषणहरू छन् तर प्रत्येक मानिसको भाग्यको गणित कोर्नतिर जब लाग्दछ त्यो शास्त्र, तब फटाहागिरी सुरु हुन्छ । ग्रहहरूको गतिले पृथ्वीमा र मानिसको गतिविधिमा समेत प्रभाव पार्ने कुरा त अपुष्ट भए पनि अन्दाज गर्न सकिन्छ तर त्यो सामान्य राशीको गणितभित्र कुनै हालतमा पुष्टि गर्न सकिन्न । त्यसको लागि धेरै लामो खोज अझै आवश्यक छ । एउटै राशीभित्र पर्ने महिनामा करोडौँ मानिस जन्मिन्छन् दुनियाँमा, राजा र प्रजाको राशी एउटै हुन्छ अनि पुँजीपति र मजदूरको राशी एउटै हुन्छ तर एउटै राशीभित्र पर्ने मानिसको कर्म, काम, वर्ग, मृत्यु आदि आदि सबै नै फरक भइरहेको त स्पष्टै छ । नेपालमा हिन्दु पुरेतलाई नाम राख्न दिन थाल्दा गैरीहन्दु लिम्बुका नाम रामबहादुर लिम्बु, मगरका नाम हरिबहादुर मगर, गुरुङका नाम देवबहादुर गुरुङसमेत हुन पुगेको छ जसबाट गैरहिन्दुका आफ्नो ऐतिहासिक विम्बहरू हराउन पुगेका छन् । पञ्चायतकालमा प्रधानाध्यापकहरू आफ्नो विद्यार्थी दगरू थारुको नाम फेरेर कृष्ण थारु राखिदिन मन पराउँथे । नाममा समेत अरूले हक राख्ने यो संस्कार बढेर रामेछाप जिल्लाको चिसापानी गा.वि.स. मा यसरी पुग्यो कि कथा यस्तो छ ः चिसापानी गा.वि.स.को स्कुलमा भारतबाट आएका एक शिक्षक अति राम्रो गणित पढाउने पुगेछन् जसलाई पहाडको सार्कीबारे थाहा थिएन तर चिसापानीका सार्की विद्यार्थी आफ्नो जात सार्की वा थर लेख्थे । एकदिन ती शिक्षकले बुझे कि सार्की भनेको भारतको चमार हरिजनजस्तै रहेछ, त्यसपछि उनले सबै सार्की विद्यार्थीको थर बनाइदिए हरिजन । यस्तो अवस्थाको कारणले न्वारान वा नामकरणको संस्कारलाई बिल्कुल पारिवारिक विषय बनाइनु जरुरी छ । जसले जन्म दिन्छन् ती आमाबाबुले नाम राख्न पाउनुपर्छ र वयस्क भएपछि व्यक्ति स्वयम्ले आपूmले चाहेको नामबाट चिनिन पाउनुपर्छ । यो नामकरणको संस्कारलाई शास्त्र र पुरेतबाट अलग बच्चाको आमाबाबुको अधिकार क्षेत्रभित्र ल्याइनुपर्दछ ।

भात ख्वाउने (अन्नप्राशन): यो संस्कार अब पुरानो तरिकाले त्यति नै समयमा गरियो भने बच्चा कुपोषणको शिकार बन्ने खतरा हुन्छ किनभने सबै आमाको दुधले अन्य दुधले मात्र बच्चालाई त्यो समयसम्म धान्छ भन्ने छैन । त्यसैले यो बच्चा र आमाको स्वास्थ्यअनुसार गर्नुपर्ने भएकोले यो संस्कारको आवश्यकता नै छैन । अहिले नेपालमा अन्नप्राशन वास्तवमा सम्पत्ति देखाउने आडम्बरका रूपमा मात्र जीवित छ । वास्तविक जनजीवनमा हिन्दु र हिन्दु प्रभावित समाजमा भए पनि बढीमा पारिवारिक विषय मात्र छ । बच्चालाई अन्न स्वास्थ्यशास्त्रअनुसार ख्वाउने हो कुनै धार्मिक मान्यताका आधारमा खुवाउने हैन । 

व्रतबन्ध / छेवर: व्रतबन्ध वास्तवमा हिन्दु समाजमा उच्च जातका पुरुषलाई बच्चादेखि गर्दै आएको स्वाभाविक मानवीय क्रियाकलापलाई छाडी धर्मद्वारा निर्धारित शासक चरित्र ग्रहण गराउन बाध्य पार्ने संस्कार हो, अनि जनै (धागो वा तागो) चाहिँ कागजको प्रमाणपत्र नहुँदाको बेलाको शासक चिनाउने प्रमाणपत्र हो ।

व्रतबन्धको संस्कारले एक, जातप्रथालाई निरन्तरता दिन्छ । दुई, महिलालाई पुरुषभन्दा कमसल मान्दछ किनभने उनीहरूलाई जनै लगाउन दिन्न । तीन, दलित र जनजातिहरूलाई कमसल मानिस ठह¥याउँछ किनकि उनीहरूले जनै लगाउन हुन्न अर्थात् पाउँदैनथे ।

यसरी व्रतबन्ध जताबाट हेरे पनि आजको लोकतान्त्रिक समता र समानतातिर जानुपर्छ भन्ने युगमा सही संस्कार हुनै सत्तैmन । आजको समयमा कोही धार्मिक रूपमा तोकिएको जातका आधारमा ठूलो या सानो भन्न मिल्छ ? हुन सक्छ ? यो सर्वथा अस्वीकारयोग्य संस्कार हो । नाम जे दिए पनि यसको सार यही नै हो । 

व्रतबन्धजस्तै गैर तागाधारीमा छेवर गरिन्छ तर त्यसले खासै जातीय उँचनीचको किटान गर्दैन तर महिलालाई भने कमसल नै त्यसले मान्छ किनकि महिलाको छेवर गरिन्न । छेवरमा कुलपुजा र भोजबाहेक केही हुन्न तैपनि छेवर आजको जीवनमा आवश्यक छैन ।

प्रथम रजस्वला: सबै समाजमा युवतीको प्रथम रजस्वलासँग सम्बन्धित कुनै न कुनै संस्कार थिए । यो वास्तवमा समाजमा युवती प्रजननयोग्य भएको सूचना दिन, प्रजननयोग्य भएपछि पालना गर्नुपर्ने अनुशासनको प्रशिक्षण दिन र शारीरिक अवस्थाबारे प्रशिक्षण दिन गरिँदै आएको संस्कार बुझिन्छ । यो प्रशिक्षण पुरुष शासित समाजमा महिलाबाट मात्र गराउँदा ठीक हुने भएकाले नै प्रथम रजस्वलापछिको निश्चित दिन केवल महिलाको मात्र सम्पर्कमा राखिने संस्कार बुझिन्छ । तर आज यस संस्कारको खासै अर्थ छैन किनभने खाद्यशास्त्रमा हुँदै गएको विकासले अहिले ११ वर्षदेखि नै रजस्वला हुन थालिसक्यो, परिवारमा ११ / १२ वर्षका छोरीलाई आमाले यसबारे भन्न थालिसके र स्कूलहरूमा ११ वर्षका छात्रालाई यसबारे छुट्टै प्रशिक्षण पनि दिन सुरु भैसक्यो । यो शिक्षालाई प्रचार गर्नु जरुरी छ तर प्रथम रजस्वला भएपछि अर्काको घरमा लुक्नुपर्ने संस्कार जरुरी छैन । प्रथम पल्ट मात्र नभई प्रत्येक महिना रजस्वला हुँदा ७ दिन छुवाछूत हुनेप्रथा पूरै हटाउनु पर्दछ ।

स्वयम्बर / टीकाटालो: हिन्दु समाजमा विवाहभन्दा पहिले बकाइदा मण्डप बनाएर पुरेतद्वारा मन्त्र वाचन गरेर स्वयम्बर गर्ने चलन थियो र अहिले पनि फाटफुट बाँकी छ । स्वयम्बरपछि केटाकेटी पतिपत्नी त भैसक्दैनथे तर केटीका निम्ति त्यो विवाहसरहकै संस्कार थियो किनभने विवाहभन्दा पहिले केटाको मृत्यु भएमा ती केटीमाथि विधुवाजस्तै व्यवहार गरिन्थ्यो । यो संस्कार वास्तवमा केटीलाई ओगट्न नै मूल रूपमा प्रयोग भएको देखिन्छ । यसले केटी मान्छेलाई बढी बेफाइदा छ । आज सम्बन्ध विच्छेदको अधिकारसमेत कानुनमा व्यवस्था भैसकेको सन्दर्भमा यो संस्कार जरुरी छैन ।

यस्तै प्रकारको अर्को संस्कार भन्न मिल्ने टीकाटालो छ अर्थात् बिहे गर्ने कुरामा सहमति भएपछि केटाकेटीलाई सँगै राखेर टीका लगाइदिने । यसमा धार्मिक ठोस विधि हुँदैन । धार्मिक विधि केही नगरी केवल टीका लगाइदिने कुरा इच्छ्याउने व्यक्तिहरूले कायम राख्दा फरक पर्दैन किनकि कुनै पनि गम्भीर महत्वपूर्ण निर्णयको उल्लासलाई केही सांस्कृतिक तरिकाद्वारा सजाउने काम मानिसले मात्र गर्छ, त्यो राम्रो कुरा हो । जहाँ धर्म उपस्थित हुन्छ त्यो संस्कार बाध्यकारी वा बन्धन बन्छ । केवल सांस्कृतिक विषय हो भने त्यो बाध्यकारी बन्धन बन्दैन भन्ने कुरा यस सन्दर्भमा बुझ्नै पर्दछ ।

विवाह: हिन्दु परम्परामा विवाह निष्कर्षमा महिला सदाका निम्ति खास पुरुषको स्थायी सेविका बन्न कबुल गराउने संस्कारका रूपमा रहँदै आयो । यहाँसम्म कि पुरुष मरेपछि पनि महिला अर्को जीवन सुरु गर्न पाउँदैनथी र सतीसमेत जानुपथ्र्यो । यो सधैँभरि महिलाका निम्ति बन्धन बन्दै आयो । मेरो अध्ययनमा महिलामाथि उत्पीडन गर्ने दोस्रो नम्बरको परम्परा हिन्दु समाजमा छ, पहिलो नम्बरमा इस्लाम परम्परा पर्दछ । हिन्दु समाजमा बुहारीको मृत्युपछि माइती उपस्थित नभइकनै लास जलाउन छुट हुन्छ । यसको मतलब माइतीले छोरीप्रतिको सम्पूर्ण उत्तरदायित्व विवाहपछि खारेज गर्दछ र भन्छ, “मारे पाप, पाले पुण्य”, यो भनाइ धर्तीमा चाहिँ उजुरी गर्दैनौँ भनेको हो । छोरीप्रतिको सम्पूर्ण उत्तरदायित्व खारेज गर्ने हिन्दु परम्पराको विवाहको धार्मिक पक्ष सम्झिँदा पनि अमानवीय छ । यो जति सुधार गरे पनि समानतामा आधारित बनाउन सकिँदैन । विवाहमा गोडाको पानी खाने, कन्यादान गर्ने.... बाफ रे बाफ दुनियाँको भव्य तर कुरूप चित्र त्यहाँ देखिन्छ । दुलहाको जुठो दुलहीले खाएर जीवन सुरुआत हुन्छ किनकि हिन्दु परम्परामा जुठो खानु आफू कमसल भएको स्वीकार गर्नु हो । यति बिघ्न महिलामाथि अत्याचार हुने, स्वीकार गर्न बाध्य पार्ने हिन्दु धार्मिक विवाह संस्कारलाई परिवर्तन नै गर्नुपर्छ, सुधार गरेर ठीक बनाउन सम्भव नै छैन ।

यसबाहेक स्वीकृत धार्मिक मान्यता तोडेर भागी विवाह हरेक युगमा थियो, जुन आज प्रेम सम्बन्धका रूपमा सम्मानित हुँदै छ नेपालमा ! त्यो मानव जातिले विवाहका बारेमा गर्दै आएको कालजयी महान् विद्रोह थियो । आज विवाहलाई धर्मबाट अलग गर्ने र महिला समानता र स्वतन्त्रतालाई प्रत्याभूति गर्ने कुरा नै हिन्दु विवाह संस्कारबारेको मुख्य रूपान्तरणको विषय हो । विवाहको सार भनेको सँँगै जीवन बिताउने निर्णयको जानकारी दिने उत्सवमा परिणत गर्नु आजको आवश्यकता हो ।

नेपालमा केही दशकयता प्रगतिशील विचार बोक्नेमध्ये एक हिस्साले धार्मिक परम्पराबाट अलग गरेर मन्त्रोच्चारण नगरी माला, मैनबत्ती इत्यादि प्रयोग गरेर प्रतीकात्मक ढङ्गले सहयात्राको सन्देश दिने गरी विवाह गर्ने परम्परा बसालिसकेका छन् । विद्रोहका रूपमा क्याम्पसका कोठाहरूमा मञ्च खडा गरी सुरु भएको त्यस प्रकारको विवाह आजसम्म पुग्दा चौतारो, कोठा, हल, आँगन, पार्टी प्यालेस, पिकनिक स्पट सबैतिर गर्न थालिएको छ । त्यस प्रकारको विवाहमा दुलहा दुलहीको बाबुआमा नै खुसीका साथ सहभागी हुने परम्परा पनि बसिसकेको छ । त्यस्ता विवाहमा खानपिन गच्छेअनुसार वा आयोजकको इच्छाअनुसार गर्ने परम्परा पनि बसिसकेको छ । यही बसिसकेको परम्परालाई अघि बढाउनु नै सबैभन्दा सही हुन्छ ।

मृत्यु: मृत्यु जीवनको अन्तिम र सबैभन्दा दुःखद सत्य हो । यसपछि जीवितहरूसँग मृतकको यादबाहेक केही रहन्न । आफ्नो प्रिय आफन्त सदाका निम्ति हराउनुले मृतकका आफन्तलाई विचलितसमेत बनाइदिन्छ । विछोडको पीडाबाट ध्वस्त भएको मनोदशाबीच मृतकको निम्ति केही गर्नेदेखि जे पनि गर्नेसम्मको इच्छाको भेल प्रकट हुन्छ । यस्तो बेलामा चिकित्सकका अगाडि बिरामीले मोलतोल गर्न नसकेजस्तै हिन्दु पुरेतका अगाडि मृतकका आफन्त नतमस्तक हुन बाध्य हुन्छन् र त्यहीँबाट सुरु हुन्छ गरुडपुराणको श्रवण या दानदक्षिणाको कुरूप शृङ्खला । त्यो बढ्दै श्राद्धसम्म बर्सेनि आइरहन्छ ।

हिन्दु समाजमा मानिसको मृत्युपछि गरिने अनेकन् संस्कार छन्, त्यसमध्ये ब्रÞमनालमा सुताउने, दागबत्ती दिने, जलाउने, किरिया बस्ने, ढिकुरो खडा गर्ने र काट्टो खाई शुद्धयाइँ गर्ने, गाईदान, बर्खी बार्ने र वार्षिकी गर्ने मुख्य छन् । त्यसपछि वर्षेनि श्राद्ध त छँदै छ ।

यिनमा बर्खी बार्नेबाहेक अरू सबै संस्कार स्वर्ग नर्कको अवधारणासँग र धार्मिक शुद्धतासँग सम्बन्धित छन् । मेरो विचारमा हाम्रो आन्दोलनमा प्रगतिशील व्यक्तित्वहरूले धेरै नै जोखिम मोलेर जुन परम्परालाई स्थापित गरेका छन्, त्यसैलाई अभ्यास गर्नु ठीक हुन्छ । त्यो भनेको धार्मिक क्रियाकलाप केही पनि नगरी लासलाई जलाउने र निश्चित कुनै दिन आवश्यक ठानिएका आफन्त र साथीहरूबीच श्रद्धाञ्जलि कार्यक्रम गरी मृत्युसंस्कार सम्पन्न गर्ने । गाड्ने परम्परा भएका हिन्दुले पनि धार्मिक विधि नगरी गाड्ने । आयस्तर राम्रो भएकाले मृतकको नामबाट केही सामाजिक काम गर्ने । 

प्रगतिशील ती दृढ व्यक्तिहरूले धार्मिक विधिहरू छोड्दा निकै नै समस्या झेल्नु परेको थियो त्यो सत्य हो तर यो पनि सत्य हो कि कोही पनि समाजबाट सदाका लागि बहिष्कृत भएर हिँड्नुपरेको छैन । यहाँ कुरा राष्ट्रिय स्तरका व्यक्तित्वको गरिएको होइन, स्थानीय स्तरका त्यस्ता व्यक्तित्वहरू पनि दर्जनौँ छन्, जसलाई केही समय गाह्रो त भयो तर बहिष्कृत नै हुनुपरेको चाहिँ छैन । सदाका लागि बहिस्कृत हुन नपर्नुको एउटा कारण जात व्यवस्थालाई राज्यले औपचारिक रूपले मानेको छैन र बहिस्करणको प्रथालाई पनि राज्यले इन्कार गरेको छ । यसबाट के निष्कर्ष पनि निस्कन्छ भने नेपाली समाजका हिन्दु समुदायभित्र व्यापक स्तरमा अभियान लाने हो भने मृत्युसंस्कारलाई वैज्ञानिक बनाउने प्रक्रिया तीव्र पार्न सम्भव छ र पार्नै पर्दछ ।

संस्कारमा सुधार

प्रगतिशील हिस्साले परिवर्तनमै जोड दिँदै र व्यवहार गर्दै आम समाजमा जो तत्कालै परिवर्तनमा जान चाहँदैनन्, उनीहरूका निम्ति हिन्दु संस्कारमा सुधारको पक्ष महत्वपूर्ण हुन्छ । तर यत्तिचाहिँ प्रष्ट हुनै पर्दछ कि सुधारको लक्ष्य ती संस्कारको दीर्घजीवन होइन बरु त्यसलाई अन्ततः अन्त्य गरी नयाँ निर्माण हुनुपर्छ । सुधार समग्र विषयमा बढीभन्दा बढी गर्नतिर प्रेरित गर्नुपर्छ र सुधारको केन्द्रीय नाभी धार्मिक पक्षमा केन्द्रित गर्नुपर्दछ । सुधार निम्न पाँच विषयको वरपर हुनुपर्छ भन्ने लाग्दछ ः एक, सकेसम्म धार्मिक रीतिलाई कम र छोटो पार्दै लैजाने । दुई, संस्कारको अवधिलाई छरितो र छोटो गर्दै लैजाने । तीन, कम खर्चिलो बनाउँदै जाने । चार, स्वास्थ्यलाई हानि पु¥याउने खालका विषयलाई परिमार्जन गरी स्वास्थ्यमैत्री बनाउने र पाँच, महिला, दलित, जनजाति आदिलाई सिधै तल्लो देखाउने संस्कारहरूलाई पुनर्परिभाषित गर्ने, परिमार्जन गर्ने र हटाउँदै लैजाने । यी सुधारको पक्षहरू कति, कहाँ, कसरी भन्ने कुराचाहिँ समाजसापेक्ष हुने कुरा स्वतः सिद्ध छ । राप्तीदेखि मेचीसम्मको चुरेभन्दा माथि सजिलो छ, चुरेभन्दा मुनिको मधेसी हिन्दु समाज र राप्तीपारि महाकालीसम्मको हिन्दु समाजमा अलि बढी गाह्रो छ किनकि सामन्तवाद अझै जबर्जस्त संस्कृतिको क्षेत्रमा त्यहीँ छ ।

*माथिको आलेख ‘संस्कार’ नामको किताबकालागि लेखिएको समिक्षात्मक परिचयबाट लिइएको संपादित अंश हो ।

कभर फोटोः मुण्डन संस्कार / चैतन्य भारत 

निरन्तर रेकर्ड