माक्र्स टु महादेव यात्रा !

माक्र्स टु महादेव यात्रा !

मोदनाथ प्रश्रितलाई चिठी

सङ्गीत श्रोता १६ भाद्र, २०७२

श्री प्रश्रितजी !

तपाईंलाई ‘कमरेड प्रश्रित’ भनेर अभिवादन गर्न मन थियो । तर असजिलो–असजिलो लागेर ‘श्री’ सम्बोधन गरेको छु । चिठीको सुरुवात गर्न चाहन्छु, तपाईंको सुस्वास्थ्य र सुदीर्घ आयुको कामना गरेर । किनभने धेरै बाँच्नु सम्मानका खातिर फाइदाजनक कुरा छ । माधव घिमिरे वा सत्यमोहन जोशीजस्तो सयोन्मुख जिन्दगी बाँच्नुभयो भने किताब विमोचनमा बोलाएर क्रान्तिकारी राजनीतिज्ञहरूले तपाईंकै गीत गाउनेछन्, मिडियामा कभर स्टोरी बनाउन पत्रकारहरू तपाईंकै निवास धाउनेछन् । तपाईंका नाममा अनेक भजन लेखिनेछन्, कोरस गाइनेछन् । भजनले के अथ्र्याइरहेछ भन्ने नबुझी पछ्याउनेहरूको ठूलो समूह निर्माण भइसक्नेछ । त्यतिबेला तपाईं त्यस्तो ‘सर्वस्वीकार्य’ हुने सम्भावना छ, जस्तो अहिले गणतन्त्रको आँगनमा वृद्धतम पञ्चायत–पुत्रहरू ‘सर्वमान्य’ जस्ता छन् । तसर्थ दोहोर्याएरै म तपाईंको शतायुको कामना गर्दछु !

तर अहिले नै तपाईंलाई ‘शताब्दी पुरुष’, ‘धर्म–रक्षक’ वा ‘नेपाल–नाथ’ जस्ता उपाधिद्वारा ‘विभुषित’ नगरिसकिएको र नब्बेउत्तर उमेरमा तपाईं नपुगिसकेको हुनाले प्रश्न, आलोचना र जिज्ञासाहरू झेल्नु परिरहने नै देख्छु । प्रस्तुत चिठीमा मैले पनि तपाईंसँग केही जिज्ञासा र केही प्राश्निक अनुभूति राख्ने धृष्टता गरेको छु । म झण्डै नाति पुस्ताको ठिटोका केटौले सवाललाई खारेज नगर्नुहोला । चकचके जस्तो लाग्यो भने बरु सम्झाइबुझाइको प्रयास गर्नुभए म दंग पर्नेछु । जब म तपाईंको जिन्दगानी–यात्राको पञ्चायती चरणबारे सुन्थेँ, मेरा रौँ–रौँमा उत्साहको करेन्ट प्रवाह हुन्थ्यो । जुन अब उहिलेको कुरा भइसक्यो । जब गणतन्त्रपछिका तपाईंका धर्म–सुधार प्रवचन सुन्नुपर्छ, मेरो उत्साहको झिलीमिलीमा अचानक लोडसेडिङ हुन्छ । म विचारको नयाँ हाइड्रोपावर निर्माणमा भौँतारिन थाल्छु । यो आजभोलिको सत्य हुन आयो । हिजो माक्र्सवादी दर्शन र भौतिकवादी संस्कृतिको व्याख्या गर्ने मोदनाथ कुन धातुले बनेको थियो ? आज हिन्दू धर्म–संस्कृतिमै संसार देख्ने मोदनाथ कुन आरनले निर्माण गर्यो ? धेरै ठूल्ठूला कुरा मसँग केही छैनन्, यस्तै झिना–मसिना जिज्ञासाहरू मात्रै छन् ।

एकताका म तपाईंको पाठक कम र श्रोता बढी थिएँ । ‘मोदनाथ प्रश्रित भयंकर विद्रोही मान्छे हो !’ ‘प्रश्रितको गोलघरको सन्देश पढ्या छौ ?’ ‘प्रश्रितका किताबले पञ्चायत ढालेको हो ।’ ‘भूतप्रेतबारे मोदनाथको किताब उल्कै राम्रो छ ।’ ‘देवासुर–संग्राम नपढ्ने कम्युनिस्ट कोही छैन ।’ केटाकेटी उमेरमा तपाईंबारेका किंवदन्तीजस्ता आहानहरू माले राजनीति गर्नेहरूले खुब सुनाउँथे । म श्रोता न थिएँ, सुन्थेँ र पत्याउँथे । बहुदल आएपछि फेरि तपाईंको आलोचनामा लेखिएका वा भनिएका कुरा बढी सुनियो– ‘थाहा छ, मोदनाथ मन्त्री भएर काठमाडौंमा घर बनायो ।’ ‘मोदनाथले गौँथलीको गुँड नामको दरबार खडा गर्यो ।’ ‘मोदनाथ त पूरै विचलित भइसक्यो ।’ यसो भन्नेहरूलाई पनि नपत्याउने परिस्थितिमा म त्यतिखेर थिइनँ । अब गणतन्त्रपछिको दुनियाँमा आफ्नै आँखाले देख्नुपरेको छ– तपाईं कहिले राजा पृथ्वीनारायणको जन्मदिनमा बिदा माग्न बालुवाटार धाउनुहुन्छ, कहिले धार्मिक राज्यको माग गर्नेहरूसँग बसाउठी गर्नुहुन्छ, कहिले शैव–संस्कृतिमा विज्ञान देखेर व्याख्या गर्नुहुन्छ, अनि कहिले उत्पीडित समुदायको आन्दोलनलाई जातिवादी देख्नुहुन्छ । अब भने म तपाईंको वर्तमानीय जीवनको श्रोता कम र ऐतिहासिक यात्राको अध्येता बढी हुनुपर्छ जस्तो महसुस हुँदैछ । 

हिजोका तपार्इंका धेरै अनुयायीहरू आज आलोचक हुँदै गएको देख्छु । हिजोका निन्दक चाहिँ प्रशंसक भएका छन् । अनुयायीहरूले प्रश्रित प्रतिष्ठान खोलेर तपाईंको योगदानलाई संस्थागत गर्न थालिसकेकै छन् । नई प्रकाशनको ‘राजकीय’ बैठक र योजना निर्माणमा तपाईंलाई डाकिएकै छ । पृथ्वी विचारधाराको रक्षार्थ र राजा पृथ्वीनारायण शाहको जन्मदिनमा राष्ट्रिय उत्सव मनाउनुपर्छ भनेर सरकारलाई दबाब दिने समूहको अगुवा तपाईंलाई बनाइएकै छ । धार्मिक संस्कारको सुधार गर्ने अभियानको मुख्य हर्ताकर्ता बनेर देशका विभिन्न ठाउँमा पनि तपाईं हिंडिरहनुभएकै छ । नेपाललाई धर्मनिरपेक्ष बनाउनु हुँदैन भन्ने हिन्दू ‘सनातन’ समूहको ‘आदर्श पुरुष’हरू राजनीतिमा कमल थापा र खुमबहादुर खड्का छँदैछन्, प्राज्ञिक जगतमा सौरभ र मोदनाथ प्रश्रितकै चर्चा चुलिँदो छ । शिव संस्कृति, वैदिक परम्परा, संस्कार व्यवस्थापनजस्ता विषयतिरको तपाईंको प्रवेशलाई स्वागत गर्नेहरूको संख्या पनि देशमा सानो छैन । 

दुईथरी विचार भएको समाजमा दुईथरी मान्छे हुन्छन् नै । तर, विद्रोहको अगेनामा भुतभुतिएको एउटा मान्छेको जिन्दगी कसरी यथास्थितिको पोखरीमा पुगेर आहाल बस्छ ? भौतिकवादका खातिर ज्यान हत्केलामा उचालेर दौडेको कुनै योद्धा कसरी देउदेउतालाई आदर्श देख्न पुग्छ ? मेरा मनभरि यस्ता प्रश्निल तरंगहरू खेल्छन्, खेलिरहेका छन् । ‘प्यारा कमरेडहरू ! ...म यहाँ त्रासले निभेको अँगार होइन / आसैआसले झर्झराएको अगुल्टो जस्तो छु !’ भन्दै ‘गोलघरको सन्देश’बाट क्रान्तिको अगेनो सल्काउने ऊबेलाको मोदनाथ आज चिसो खरानीमा जोगी–दर्शनको पैरवी गरिरहेका भेटिनु भयानक त्रासदी जस्तो लाग्छ । पञ्चायतकालीन कम्युनिस्ट कार्यकर्ताका लागि पारिजात, खगेन्द्र संग्रौला, मोदनाथ प्रश्रित औंसीका टर्चलाइटजस्ता थिए । मोदनाथ भन्नु जुनकीरिको अर्को नामजस्तो थियो । तर आजका युवाहरूका लागि तपाईं त्यस्तो हजुरबा हुनुभयो, जो अलौकिक कथा सुनाएर नातिनातीनालाई लठ्ठ मात्रै पार्छ तर परिवर्तनको अनिवार्य तृष्णा बुझ्दैन । नेपाल भाषाका प्रख्यात कवि पूर्ण वैद्यको एउटा कविता मलाई बेलाबेला सम्झना हुन्छ । त्यसमा उनी भन्न्, ‘बिहान पर्खनेहरू नै जब रात भइदिन्छन्, मेरो क्षितिजको के लाग्छ !’ हिजोको राजाविरोधी विद्रोहीलाई आज राजतन्त्रीय संस्कृतिका छौँडाछौँडीहरूले खेलाइरहेका छन् । हिजोको क्रान्तिकारी वक्ताको स्वर आज आयुर्वेदीय औषधी र आध्यात्मिक चेतना बेच्ने गाडीको माइकमा बजेको सुनिन्छ । 

प्रश्रितज्यू, तपाईंको अध्ययनको अनुशासनलाई अहिले पनि म सलाम गर्छु । तपाईंको अध्ययनको ‘होरिजेन्टल लाइन’ लोभलाग्दो छ । हिमालयका शिवदेखि अरबका मोहम्मदसम्म, नेपालको किराँत क्षेत्रदेखि आर्यथलो इरानसम्म त्यो फैलिजान्छ । लेखनीको ‘भर्टिकल लाइन’ले पनि इतिहासका अँधेरा गौँडाहरूमा केही उजेला डोबहरू छाडेकै हो । म त्यसको सदा प्रशंसकै छु । इतिहासका चारपाना पनि आफ्नै बुताले नपढ्ने तर नेताका प्रशिक्षण घोकेर फेसबुकमा साम्यवादको पैरवी गर्ने अहिलेका कम्युनिस्ट कार्यकर्तासँग तपाईंको अध्ययन–फलक तुलना हुन सक्दैन । इतिहासदेखि समाजशास्त्रसम्म, आयुर्वेददेखि संस्कृत काव्यशास्त्रसम्म । दर्शनदेखि साहित्यसम्म, राजनीतिशास्त्रदेखि धर्मशास्त्रसम्म । तपाईंको विस्तारित विषय–ज्ञानबाट प्रभावित नहुने कुरै भएन । तर, ‘फिलोसोफिकल लाइन’मा जब तपाईंको विश्वास पशुपतिको ढोकामा पुगेको देख्छु, मलाई छिटोछिटो तर्किजाऊँ जस्तो हुन्छ । अघिल्लो वर्ष साथी विमल आरोहीले मलाई ‘बुढेसकालमा तँ पनि मोदनाथजस्तै होलास्’ भन्ने आशयको सोधनी गरेको थियो । म झसंग हुँदै भनेको थिएँ– ‘त्यस्तो बुढेसकाल नआओस् ।’ त्यस्तो बुढेसकाल कसरी भोग्नु, जसले मन्दिरलाई मात्रै पर्यटन देख्छ, अनि जसले धार्मिक अन्धताभित्रै विज्ञान खोज्छ ? त्यस्तो वरिष्ठ नागरिक कसरी हुनु, जसले वैज्ञानिकहरूलाई बिर्सिजान्छ र महादेवलाई नै महान् आविष्कारक ठान्छ ?

तपाईंका दुई खुला निर्णय साँच्चिकै खुला र विचारणीय लाग्छन् । पहिलो– घर बनाउँदाको हिसाबकिताब दुनियाँलाई देखाउनु ! एकताका तपाईंले राजधानीमा ‘घर’ बनाएको विषय निकै चर्चित र आलोचित थियो । जो–जससँग सहयोग र चन्दा मागेर घर बनाएको तपाईंको दाबी थियो, त्यसको पूरै हिसाबकिताब तपाईंले अखबारमै छाप्नुभएको थियो । त्यो त्यसरी नै बनाइएको थियो या त्यस्तो देखाइएको मात्रै थियो ? त्यो तपाईं नै जान्नुस् । तर, तपाईंले त्यस्तो हाकाहाकी नै गर्नुभयो । बहुदलकालमै त्यसपछि कति नेताहरूले कसरी घर बनाए ? कसरी पद–प्रतिष्ठालाई व्यापार बनाए ? कसरी सेयर बजारमा टाउको घुसारे ? कसरी पार्टीतन्त्र चलाइरहे ? त्यसको कुनै चर्चा, आलोचना वा खोजखन्तर भएन । अझ गणतन्त्र आएपछि गणतन्त्रकै लागि लडेका कति नेताहरूको ‘घरबार’ कसरी निर्माण भयो र कसरी उनीहरूको ‘भव्य’ जीवनशैली चलिरहेछ ? कसरी चर्चित भनिएका नेताहरूले नै डनगिरी गरिरहेछन् ? यो विषय अहिले सामान्य भएको छ । तर, तपाईंले जे गर्नुभयो, हाकाहाकी गर्नुभयो, दुनियाँलाई नढाँटी गर्नुभयो । त्यो सायद तपाईंको साहस थियो । दोस्रो– पार्टीबाट सचेततापूर्वक बिदाइ ! साठी नाघेपछि उमेरजन्य कारणले पनि सक्रिय हुन नसक्ने भएकाले युवाहरू राजनीतिमा आउन् भनेर सक्रिय राजनीति त्याग्ने तपाईंको निर्णय उदाहरणीय हो । तर, यस्तो निर्णय दोहोर्याउन आँट गर्ने अर्को कुनै सक्रिय नेता अहिलेसम्म निस्केन । (पार्टी छाडेपछिको तपाईंको सामाजिक र सिर्जनशील भूमिका कस्तो रह्यो, त्यो अर्को पाटो भयो ।) बुढेसकालमा पार्टीका महत्वपूर्ण जिम्मा ओगटेर युवाहरूलाई बाटो छेक्ने राजनीतिविरुद्ध तपाईं एक्लै भएपनि उभिनुभयो । मृत्यु शैय्यासम्म पनि कुर्चीमै बस्न चाहने नेताहरूले तपाईंलाई औपचारिक बिदाइ गर्ने साहससम्म गरेनन् । यो तपाईंको जीत थियो ।

तपाईं जे गर्नुहुन्छ, हाकाहाकी नै गर्नुहुन्छ । कुनैबेला गान्धीवादी र मानवतावादी हुनुहुन्थ्यो, हाकाकाही ‘जय मानवता’ भन्दै हिंड्नुहुन्थ्यो । ‘जँड्याहा गुरु’को प्रेरणाले माक्र्सवादी हुनुभयो, हाकाहाकी राजतन्त्र र धर्मतन्त्रको विरोधमा उभिनुभयो । संगठित हुनुभयो, लड्नुभयो, जेलनेल खानुभयो । देशमा निरंकुश हिन्दूराजा हुँदा पनि तपाईं हाकाहाकी भौतिकवादी हुनुभयो, अनि अनेक भौतिकवादी साहित्य लेख्नुभयो । ठूलो कष्टसहित आज देश गणतन्त्र भइसकेको छ, तर तपाईं सजिलै पृथ्वीभक्तमा फेरिनुुभयो । माक्र्सवादी हुँदाहुँदै आज धर्मवादी रूप धारण गरिसक्नुभएको छ, त्यो पनि हाकाहाकी ! धर्मशास्त्रविरोधीलाई तपाईं ‘पापशास्त्र’ पक्षधर देख्ने हुनुभयो । माक्र्सको जन्मदिन वा स्मृति दिवस कहिले पर्छ ? लेनिन जयन्ती वा अक्टोबर क्रान्ति तिथि कहिले हो ? मजदूर दिवस किन सुरु भयो ? सायद यी तिथिमिति तपाईंले बिर्सिसक्नुभयो । तर, राजा पृथ्वीनारायणको जन्मदिनमा बिदा माग्न तपाईं पूर्वपञ्चहरूसँग हाकाहाकी प्रधानमन्त्री कार्यालय पुग्नुभयो । कमलबहादुर–खुमबहादुर राजनीतिले हतियार बनाइरहेको ‘धर्मरक्षा’मा बौद्धिक साँध हाकाहाकी लगाइरहनुभएकै छ ।

‘जब चल्छ हुरी’ भन्दै किसान–मजदुरका पक्षमा गीत लेख्ने तपाईं अहिले शिव–संस्कृतिको महत्व बुझाउने धार्मिक प्रवचन दिइरहेको भेटिनुहुन्छ । केही महिनाअघि काजक्रिया र कर्मकाण्डलाई छरितो बनाउने उद्देश्यले सुरु गरिएको धार्मिक सुधारवादी अभियानका मुख्य प्रवचक तपाईं नै हुनुहुन्थ्यो । तपार्इं जनसडक छाडेर धर्मपथतिर हिंडेकोमा आलोचना भौतिकवादी धाराबाट मात्रै भएको छैन, धर्मका कट्टर पक्षधरले पनि असन्तुष्टि जनाएका छन् । कम्युनिस्ट आदर्श बोकेर हिँडेको मान्छे धर्मसुधार अभियानमा लाग्दा शंका हुने नै भयो । उनीहरूलाई लागेको हुन सक्छ– ‘यो कम्युनिस्ट हाम्रो धर्म बिटुल्याउन आएको त होइन ?’ नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष पण्डित रामचन्द्र पोखरेलले तपाईंको सुधार अभियानप्रति सार्वजनिक रूपमै असहमति व्यक्त गरेका थिए । तर, तपाई धर्मलाई युगअनुसारको बनाउनुपर्ने तर्क गरिरहनुभएकै छ । 

मलाई थाहा छ, तपाईं मात्रै नेपाली समाजको अपवाद होइन । यहाँ तपाईंभन्दा ठूला नेता वा तपाईंकै प्रशिक्षण प्राप्त नयाँ पिंढी पनि तपाईंकै धारामा हेलिइसकेको मैले देखेको छु । धर्मनिरपेक्षतालाई शब्दको तुइनमा झुण्डाएर धार्मिक राज्यतिर तार्दै गर्नेहरूमा क्रान्तिकारीहरू नै छन् । पूजापाठ, बिहेबटुल, कर्मकाण्डमा कुनै प्रश्न झेल्नै नपरी कम्युनिस्ट नेताहरू नै अघिअघि बढिरहेका दृश्य मिडियामयी भइरहेकै छन् । यस्तो हुन्छ चाहिँ किन ? विमल आरोहीले भनेजस्तो मान्छे बूढो हुँदै गएपछि धार्मिक हुँदै जाने हो कि ? समाजका अन्य कुनै संरचना वा अवयवले काम गर्छन् कि ? अब यस्ता प्रश्नको जवाफ मैले आफ्नै बुताले पनि खोज्नुपर्ने बेला आएको छ ।

प्रश्रितजी ! पूर्ण वैद्यको कविताकै भावमा संगीतकर्मी आभासले एउटा गीत बनाएका छन्, ‘गोधुलीमा हिंड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ !’ नेपाली प्रगतिशील सांस्कृतिक यात्राको ठूलो विडम्बना छ, सुरुवातीकालमा रातोपिरो भंगिमासहित अभियानमा ओर्लेकाहरू समयक्रमसँगै ओइलाएका, पहेँलिएका र कुहेका देखिएका छन् । हिजोका महादेवपन्थीहरू आज पनि महादेवपन्थी नै छन् । खुकुलिएका पनि छैनन्, बरु थप कट्टरिएका छन् । हिजोका माक्र्स निन्दक आज पनि माक्र्स निन्दक नै छन् । उल्टो कुरा त के भएको छ भने हिजो जो माक्र्सपन्थी थिए, ती आज महादेवपूजकमा फेरिए । तपाईं पनि हिजो लेनिन जयन्तीमा गान्धीवाद छाडेर माक्र्सवादतिर प्रवेश गर्नुभएको थियो । आज राजामहाराजाको जन्मजयन्ती मनाउन हत्ते हालिरहनुभएको छ । हिजो कार्ल माक्र्सलाई महान् दार्शनिक भन्नुहुन्थ्यो, आज ‘भगवान् महादेव’लाई महान् वैज्ञानिक भन्ने ठाउँमा पुग्नुभएको छ । तपाईंजस्तै ‘भूतपूर्व कमरेड’लाई सम्झेर हो कि, जर्मन कवि हान्स माग्नुस आइजेनवर्गरले माक्र्सका नाममा एउटा कविता लेखेका रहेछन्, जसमा भनिएको छ– 

‘प्रिय माक्र्स ! 

तिमीलाई तिम्रा अनुयायीले नै धोका दिए,

तिम्रा दुश्मन त पहिले जस्ता थिए

अहिले पनि त्यस्तै छन् !’ 

०००

पुनः सुस्वास्थ्य र सुदीर्घ आयुको कामनासहित

सङ्गीत श्रोता

बाजुङ–२, पर्वत

हाल: कीर्तिपुर–४, गुत्पौ ।

कभर फोटोमा मोदनाथ प्रश्रित / साहित्य संगालो ब्लग 

निरन्तर रेकर्ड