तर, म बोल्न सक्छु

तर, म बोल्न सक्छु

सरकार सुने पनि नसुने झैं गर्छ / तेरो भाषा बुझ्दै बुझिन भन्छ / त म के गरुँ ?

स्वप्निल स्मृति २९ भाद्र, २०७२
 
हो, म बोल्न सक्दिन !
 
मेरो कानले अहिलेसम्म कुनै विष्फोट सुनेको छैन
लोकतन्त्र, न्याय, सरकार वा क्रान्ति
यी शब्दको अर्थ मलाई विल्कुल थाहा छैन ।
 
म हुँ जङ्गलवासी
जङ्गलमा छु
सहर / सरकार / राज्यभन्दा धेरै टाढा
जङ्गलमा छु मेरै सभ्यताको भ्याकुर खोस्रिरहेछु ।
 
पुर्खालाई चढाउन फूल चुँडिरहँदा होस्
या आठ तले सिमलको रुखमाथि
धनुको ताँदोमा अन्तिम काँड तन्काइरहँदा
चुपचाप हुन्छु म
खोलामा माछा मार्न दुवाली थापिरहँदा या
बूढीबोजूको आत्मा पुज्न पाहालाई ढुकिरहँदा ।
 
म त जङ्गली मान्छे
मसँग सभ्य भाषा छैन
जङ्गलमा खासै बोलिरहनु पनि पर्दैन
नाचे मात्र पनि हुन्छ, नाचिदिन्छु खोलाका लहरसँग
गाए मात्र पनि हुन्छ, गाइदिन्छु बयेली बताससँग
दौडिनु पर्छ नै, दौडिबस्छु चितुवाका बच्चाहरुसँग 
जङ्गलमा त पात खस्यो भने पनि हल्ला हुन्छ !
जङ्गलको भाषा कि चुपचाप हुन्छ
कि आँधी हुन्छ ।
 
म जङ्गलवासी
सरकार मलाई जङ्गलबाट थुतेर 
सय तले ‘सिभिल होम्स्’मा राख्न चाहन्छ
जङ्गल मेरो ईश्वर हो
सरकार जङ्गलमुनिको निलो पत्थर उत्खनन् गर्न चाहन्छ
जब कि मेरो पुर्खाहरु छन् त्यहाँ त !
 
सरकार मलाई लिन पटक–पटक हेलिकप्टर लिएर आउँछ
बोल भन्छ / फकाउँछ / झक्झक्याउँछ
सरकार पनि त जङ्गलकै सन्तान हो
लखेट्यो कि जङ्गलतिरै भाग्छ !
तर, सरकार मलाई मात्र जङ्गली भन्छ
गाली गर्छ / बन्दुक हल्लाउँछ
बोल कि बोल भन्छ
कसरी बोल्ने हो ?
कि मेरो जिब्रोलाई सरकार शब्दको स्वाद थाहा छैन
जस्तो कि सरकारको जिब्रोलाई 
मेरो जङ्गलको टिमुरको स्वाद थाहा छ
मेरो खोलाको तितेमाछाको स्वाद थाहा छ
अहँ, म बोल्न सक्दिन !
कति ठूलो आवाजमा बोल्ने हो ?
जस्तो कि बाघको गर्जनमा या बिरालोको म्याउँमा
अहँ म बोल्न सक्दिन !
 
तर, म बोल्न सक्छु 
जब जङ्गलमा आगो लाउँछ सरकार
र सहरमा ढाड सेकाउँछ
जब सरकार तिर्खाउँछ र खोला सहरतिर फर्काउँछ
म बोल्छु / कराउँछु / गाली गर्छु / उफ्रिन्छु
सरकार सुने पनि नसुने झैं गर्छ
तेरो भाषा बुझ्दै बुझिन भन्छ
त म के गरुँ ?
शायद सरकार बन्दुकको भाषामात्र बुझ्छ
तब मैले पनि बन्दुकको भाषा सिक्नुपर्ने हुन्छ !
 
कभर फोटो: इंगमार जाहोर्स्कि / फ्लीकर

निरन्तर रेकर्ड