तिम्रो कविता

तिम्रो कविता

‘बेपत्ता परिवार’को सास र लासको आशा / तिम्रो कविता बन्दैन भने / कति पनि अप्ठ्यारो नमानी / नयाँ नेपालको कल्पना / कसरी गर्न सकेको तिमीले कवितामा ?

दामोदर ढुङ्गेल ६ आषाढ, २०७३

छाउपडीमा बन्धक बनाइएकी

नवयुवतीको पीडा 

र खोसिएको स्वतन्त्रता

तिम्रो कविता बन्दैन भने, 

नवयुवतीका 'लाजका गहना'

कविता हुन सक्दैन ।

 

पुसको रातमा

लुगा लाउन र ओढ्न नपाएको

मधेसीको चित्कार

तिम्रो कविता बनेको छैन भने,

कुनै संकोच नमानी लेखिएको झन्डाको गीत 

कसरी भयो तिम्रो कविता ? 

 

एउटा दलित

मन्दिर पस्न नपाएर

जीवनदेखि अपहेलित भएको कुरा

तिम्रो कविता बन्दैन भने,

मानवताको आत्मगान 

कसरी सुहाउँछ तिम्रो कविता संग्रहमा ?  

 

सुदूर पश्चिमका पहाडहरूमा

अन्न अभावमा परेकाहरुको भोक 

तिम्रो कविता बन्दैन भने 

सर्वे भवन्तु सुखिनः 

यो श्लोक कति निरर्थक बन्यो तिम्रो काव्यमा ?

 

डोकामा हालेर

सुत्केरी गराउन हस्पिटल लैजाँदै गरिएकी

आमाको प्रसव वेदना

र आँखामा छचल्केको पानी

तिम्रो कविता बन्दैन भने 

सुहागरातको वर्णन 

कति ओसिलो र बोझिल बन्यो तिम्रो एकालापमा !

 

माओवादी र शाही सेनाको

क्रस फायरबाट निर्मित नयाँ नाम

‘बेपत्ता परिवार’ को 

सास र लासको आशा

तिम्रो कविता बन्दैन भने 

कति पनि अप्ठ्यारो नमानी 

नयाँ नेपालको कल्पना 

कसरी गर्न सकेको तिमीले कवितामा ? 

 

 

कभर फोटोमा: रुकुमेली महिला

फोटो: चिरन मानन्धर

 

निरन्तर रेकर्ड