लेनिन घाँडो भए, रोजालाई बुझेनन्

लेनिन घाँडो भए, रोजालाई बुझेनन्

रोजा र लेनिनलाई दाँज्नेहरुको मुख्य प्रस्थापना के हो भने लेनिनवाद भनेको माक्र्सवादको निरन्तरता होइन, बरु मार्क्सवादबाट क्रमभंगता हो

विभुषित विष्ट २८ कार्तिक, २०७१
अहिले लेनिनवादीहरुलाई लेनिन भन्ने नाम र उनको विचार नै घाँडो भएको छ । पार्टीको नामको पुछारबाट लेनिनको नाम हटाउने देखि लिएर लेनिनकै पालामा सुरुवात भएको हँसिया हथौडा अंकित लालझण्डा फेर्ने सम्मका तर्क सुन्नमा आएको छ । हुन त पार्टीको झण्डा फेर्दैमा वा नफेर्दैमा कोही ‘सच्चा’ मार्क्सवादी हुने होइन । पार्टीको नाम वा झण्डा फेर्ने कुराले कुन अर्थमा महत्व राख्छ भने नामसंगै नेपाली वामपन्थीहरुको एक तप्का मार्क्सवाद भित्रकै एउटा प्रभावशाली सिद्धान्त ‘लेनिनवाद’लाई नै थन्क्याउन चाहन्छन् । तर विडम्बना, लेनिन र उनको विचारधारालाई गलत देखाउने प्रयासमा उनीहरु माक्र्सवादलाई नै तोडमरोड गरेर प्रस्तुत गर्छन् । त्यसमा आफुलाई मद्दत पुगोस भन्ने हेतु पोलिश–जर्मन मार्क्सवादी रोजा लक्जम्बर्गलाई पनि प्रयोग गर्छन । ‘लेनिनवादी अधिनायकवाद’ को खाल्डोबाट वामपन्थलाई निकाल्ने प्रयासमा उनीहरु आफैं भने कति गहिरो दलदलमा फसिरहेका छन, त्यसको हेक्का उनीहरुलाई कति छ, थाहा छैन । यस लेखको उद्देश्य त्यही दलदलमा रोजा लक्जम्बर्गलाई पनि तान्न खोजिरहेकाहरुको दुष्प्रयासलाई उदांगो पार्नु हो ।
 
जहाँ लेनिन तथा लेनिनवादबारे बोल्ने वा लेख्ने गरिन्छ, त्यहाँ रोजा लक्जम्बर्गलाई प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा मात्र होइन, विदेशी वामवत्तका छलफलमा पनि यस्तै प्रवृत्ति भेटिन्छ । रोजा र लेनिनलाई दाँज्नेहरुको मुख्य प्रस्थापना के हो भने लेनिनवाद भनेको माक्र्सवादको निरन्तरता होइन, बरु मार्क्सवादबाट क्रमभंगता हो । रुसमा लेनिनको नेतृत्वमा सन् १९१७ मा भएको सत्तापलट सामाजिक क्रान्तिको प्रतिफल नभएर सत्तामा पुग्न आतुर एउटा सानो षड्यन्त्रकारी झुण्डले गरेको ‘कु’ मात्र हो । त्यही आतुरीले गर्दा बोल्सेभिकहरुले पुँजीवादी लोकतान्त्रिक क्रान्तिका लागि मात्र तयार भएको रुसमा तात्कालिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको फाइदा उठाउँदै समाजवादी क्रान्तिको नाटक मंचन गरे । त्यसवखत बोल्सेभिकहरुले लिएका केही कार्यनीतिको आलोचना गर्दै रोजा लक्जम्बर्गले लेखेका शब्दहरुलाई आफ्नो आवश्यकता अनुसार उधारो लिएर लेनिनमाथि प्रहार गर्ने गरिन्छ । रोजा र लेनिनलाई दुई विपरित ध्रुवमा विभाजित गरिन्छ र भनिन्छ, ‘यी हुन् माक्र्सवादी रोजा, ऊ ती लेनिनवादी लेनिन । रोजा निकै लोकतन्त्रवादी, ती लेनिन कठोर अधिनायकवादी । लेनिनलाई छोड, रोजाको विचारलाई समात ।’ यही कुरा माक्र्सका रचनाहरुमाथि पनि लागु हुन्छन् । झन् मार्क्सलाई त कहिले बुद्ध, त कहिले एक स्वैर कल्पनावादी युटोपियनका रूपमा प्रस्तुत गरिन्छ । यी सबै प्रसंग र त्यसका साथै बीसौं शताब्दीका दुई होनहार मार्क्सवादीहरु– रोजा लक्जम्बर्ग र लेनिनले एकअर्कालाई कुन नजरले हेर्ने गर्थे र धेरै गैर लेनिनवादी माक्र्सवादीहरुको अपव्याख्याका विपरित कसरी यी दुई एकअकर्काका धेरै नजिक थिए भन्ने तथ्यलाई यहाँ ऐतिहासिक सन्दर्भ सहित खुलाउने प्रयत्न गरिएको छ । यस क्रममा लेनिन र रोजाका विभिन्न किताब र निबन्धबाट प्रशस्त उद्धरण पनि गरिएको छ । 
 
भ्लादिमिर इल्यीच उलिआनोभ ‘लेनिन’ र रोजा लक्जम्बर्गको पहिलो भेट सन् १९०१ मा भएपनि एकअर्कालाई चिन्ने मौका भने १९०५–१९०६ को रुस तथा युरोपभरी चलेका विभिन्न मजदुर संघर्षहरुका बेलामात्र पाएका थिए । आपसी सौहार्दतामा आधारित यी दुईको मित्रता त्यसैबेला सुरु भएपनि उनीहरुबीचको सम्बन्ध सधैँ उतारचढावपूर्ण नै रह्यो । तर विभिन्न विषयमा मतान्तरका कारण यी दुईबीच चलेको बौद्धिक संघर्षका बाबजूद पनि आपसी सम्मान सधैँ नै रही रह्यो । युरोपेली माक्र्सवादी मंचमा केही प्रश्नहरुमा मतविभाजन रहे पनि यी दुवैलाई क्रान्तिकारी माक्र्सवादले सधैँ नै जोडीरह्यो । 
 
पार्टी संगठनबारे प्रश्न
लेनिनको पार्टी संगठनबारेको धारणालाई लिएर रोजा लक्जम्बर्गको मत सधैँ एउटै रहेन । बदलिएको परिस्थितिअनुसार कहिले उनले त्यसको विरोध गरिन् त कहिले मेन्सेभिकहरुका विरुद्ध त्यसको बचाउ गरिन् । रोजा आबद्ध रहेको जर्मन सामाजिक जनवादी पार्टी, मजदुर आन्दोलनभित्र रहेका विभिन्न विचारसमूह र संगठनहरुका साझा पार्टीको रूपमा विकसित भएको थियो । यस पार्टीभित्र मजदुर आन्दोलनभित्रको दक्षिणपन्थी विचारको प्रतिनिधित्व गर्ने सुधारवादका पिता भनेर चिनिने एडुअर्ड बर्नस्टिन पनि थिए, क्रान्तिकारी वामविचारको प्रतिनिधित्व गर्ने रोजा पनि थिइन् भने कुनैबेला ‘माक्र्सवादका पोप’ भनेर चिनिने र लेनिन र लक्जम्बर्ग दुवैको कुनैबेलाका गुरु, मध्यपन्थी कार्ल कउत्स्की पनि थिए । स्वयं माकर््स र एंगेल्सले यस्तो प्रकारको ‘मास’ पार्टीको अवधारणाबारे लेखेका थिए । माकर््स आफैंले यो अवधारणाले मूर्त रुप लिएको देख्न त पाएनन् तर एंगेल्सले भने आफ्नो जीवनकालमै जर्मन मजदुर पार्टीको जन्म देख्न पाए र केही हदसम्म त्यसलाई हुर्काए पनि । तर के सत्य हो भने उनको उद्देश्य पार्टीलाई विभिन्न विचार बोक्ने समूहहरुको क्लबमात्र बनाउने थिएन । उनको (र मार्क्सको पनि) प्रमुख जोड सर्वहारा वर्गको पार्टीको अन्य बुर्जुवा पार्टीबाट पूर्ण राजनीतिक स्वतन्त्रता कायम गर्नु थियो र पार्टीभित्रकै विभिन्न अवसरवादी, सुधारवादी तथा उग्रवामपन्थी भड्कावहरुका विरुद्ध निरन्तर संघर्ष चलाउनु पनि थियो । चाहे त्यो संघर्षले पार्टी फुट किन ननिम्त्याओस् ।
 
जर्मन मजदुर आन्दोलन त्यसबेला यूरोपकै सबैभन्दा विशाल आन्दोलन थियो । जर्मन सामाजिक जनवादी पार्टी र विभिन्न ट्रेड युनियनहरुमा लाखौं मजदुरहरु संगठित थिए भने जर्मन संसदमा पनि पार्टीको गतिलो उपस्थिति थियो । उनीहरु दिनप्रतिदिन प्रभावशाली बन्दै थिए । फलस्वरूप, अन्तराष्ट्रिय र मुख्यतः युरोपेली मार्क्सवादी आन्दोलनभित्र उनीहरुको ठूलो प्रभाव रह्यो । रुसका मार्क्सवादीहरु पनि जर्मन सामाजिक जनवादी पार्टी र तिनको संगठात्मक सिद्धान्तलाई आफ्नो आदर्श मान्दथे । तर जर्मनी र रुसका राजनीतिक परिस्थिति ज्यादै फरक थियो । जर्मनीमा खुला रूपमा राजनीतिक प्रतिष्पर्धा गर्न त्यहाँका मार्क्सवादीहरुलाई खासै रोकटोक थिएन । तर रुसमा जारशाहीतन्त्र थियो । त्यहाँ मार्क्सवादी लगायत अन्य उदारवादी पार्टीहरुलाई खुला रूपमा काम गर्ने अवस्था थिएन । सन् १९०५ को क्रान्तिपश्चात् गठन गरिएको प्रतिनिधि सभा ‘दुमा’मा उपस्थितिको लागि राखिएका शर्तहरुले लोकतान्त्रिक प्रतिनिधित्वको ढोकामार्फत प्रवेश गर्न पार्टीहरुलाई त्यति सजिलो थिएन र त्यहाँ ट्रेड युनियनहरुमाथि पनि बन्देज लगाइएको थियो । जारशाही सेन्सर तथा खुफिया पुलिसहरुलाई छलेर केवल भूमिगत रूपमा मात्र राजनीतिक गतिविधि संचालन गर्ने अवस्था थियो । त्यही अवस्थामा लेनिनले सन् १९०२ मा आफ्नो कृति ‘अब के गर्ने ?’ (ह्वाट इज टु बी डन) मार्फत सर्वहारावर्गको भ्यानगार्ड, पेशेवर क्रान्तिकारीहरुको नेतृत्वमा आधारित पार्टी ढाँचा तथा रुसी सामाजिक जनवादी मजदुर पार्टीभित्र बोल्सेभिक र मेन्सेभिकहरुका गुटगत विभाजनबारे आफ्ना मत राखे । रोजाले त्यसको तिखो आलोचना गरिन् ।
 
रोजाका अनुसार लेनिनको अवधारणाले ‘उग्र केन्द्रीयता र अधिनायकवादी’ नेतृत्वको जन्म दिने थियो र क्रान्तिकारी शुद्धताको नाममा त्यसले बोल्सेभिक गुटलाई एउटा सानो काम नलाग्ने समूहमा सीमित गर्ने थियो । आमहड्ताल, पहिलो रुसी क्रान्ति, साम्राज्यवाद, विश्वयुद्ध, सुधारवादविरुद्धको संघर्ष लगायत प्रश्नमा लेनिन र रोजाको मत एकै थियो । राजनीतिक र सैद्धान्तिक रूपमा अवसरवाद विरुद्धको संघर्षमा पनि यी दुवैको विचार मिल्थ्यो । दुईबीच मतान्तर कहाँ थियो भने अवसरवाद विरुद्धको संघर्षलाई पार्टीभित्रै बौद्धिक संघर्षको रूपमा संचालन गर्ने कि संगठनात्मक स्तरमा त्यसको समाधान खोजिने ? रोजा पछिल्लो मतको विरुद्धमा थिइन् । किनकि उनका लागि बोल्सेभिकहरुले भनेजस्तो मजदुर आन्दोलनमा पार्टी संगठनको केन्द्रीय भूमिका अतिरन्जित थियो । उनका अनुसार मजदुर आन्दोलनको उठानको निम्ति सबैभन्दा केन्द्रीय प्रश्न मजदुरहरुको स्वस्फूर्तता थियो, जुन उनका अनुसार मजदुरहरुको लामो संघर्षको दौरान जागृत हुने थियो । यही ‘अग्र्यानिक’ रूपमा विकसित चेतनाले पार्टीभित्रको अवसरवादी प्रवृत्तिहरुलाई पाखा लगाई पार्टीलाई क्रान्तिकारी दिशा प्रदान गर्ने थियो । लेनिनको विचारमा अवसरवाद एउटा आम प्रवृत्ति थियो जसले मजदुर आन्दोलन पथभ्रष्ट बनाउँदै क्रान्तिमा नै ब्रेक लगाउने काम गर्दछ र त्यसैकारण संगठात्मक रूपमा नै यस अवसरवादी प्रवृत्तिविरुद्ध संघर्ष चलाउनुपर्छ, चाहे त्यो पार्टी फुटको माध्यममार्फत नै किन नहोस् । यसै मतलाई लिएर रोजाले सन् १९१२ मा बोल्सेभिकहरुको तिखो आलोचना गरिन, जब उनीहरुले मेन्सेभिकहरुसंग छुट्टिएर एउटा अलग पार्टीको स्थापना गरे ।
 
संगठनको सवालमा यी दुईबीचको मतभेद यही विषयमा थियो । यस विषयलाई धेरै अपव्याख्या गरि के भन्छन् भने बोल्सेभिकहरुको संगठन आम मजदुरवर्गमा आधारित नभएर एउटा सानो षड्यन्त्रकारी झुण्ड थियो जसको नेतृत्व गोप्यता, अतिकेन्द्रीकरण र तानाशाहीमा चल्थ्यो र सन् १९१७ को अक्टोबर क्रान्ति पनि एउटा सामाजिक क्रान्ति नभएर सत्तामा जान आतुर केही सानो संख्यामा रहेका षड्यन्त्रकारीहरुले गरेको ‘कु’ थियो । जहाँसम्म बोल्सेभिकहरु अतिकेन्द्रिकृत षड्यन्त्रकारी झुण्ड थिए भन्ने आरोप छ, त्यस्ता आरोपहरुबाट भने स्वयं रोजा लग्जेम्बर्गले नै बोल्सेभिकहरुको बचाउ गरेकी थिइन । जब सन् १९०६ मा मेन्सेभिक नेता प्लेखनोभबाट बोल्सेभिकहरुमाथि यही आरोप लागाइयो, तब रोजाले उनीहरुको बचाउ गर्दै ‘ब्लांकिवाद र सामाजिक जनवाद’ नामक लेख लेखिन् । प्लेखनोभले ब्लांकीवादबारे एंगेल्सले भनेका केही कुराहरु उधृत गर्दै बोल्सेभिकहरुलाई ब्लांकीवादमा आधारित संगठन निर्माण गरेको आरोप लगाएका थिए । फ्रान्सेली क्रान्तिकारी लुई अगस्ट ब्लांकीले आम मजदुर आन्दोलनमा आधारित नभएर केवल एउटा सानो षड्यन्त्रकारी समूहको माध्यमबाट सत्तापलट गर्दै मजदुरसत्ता स्थापना गर्ने नीति लिएका थिए । निर्णायक शक्ति आम सर्वहारावर्ग र तिनको चेतनशील सामूहिक संघर्षलाई मान्ने माक्र्सवादीले यस्तो विचारको विरोध गरेका थिए । यद्यपी पेरिस कम्युनका मुख्य नेताका रूपमा रहेका उनलाई त्यसबखत स्वयं मार्क्स र एंगेल्सले समर्थन र बचाउ गरेका थिए ।
 
जब लेनिनको संगठात्मक सिद्धान्तलाई प्लेखनोभले ब्लांकीवादमा आधारित रहेको भनी आलोचना गरे, तब रोजा लक्जम्बर्गले लेनिनको बचाउ गर्दै लेखिन, ‘के रुसको अहिलेको परिस्थिति अनुसार त्यहाँ ब्लांकीवाद सम्भव छ ? सन् १८४८ को फ्रान्स र अहिले (सन् १९०६) रुसको बीचको फरक त्यहाँनिर छ, जहाँ सर्वहारा पार्टी र आमजनताबीचको सम्बन्धको प्रश्न छ । सन् १८४८ मा क्रान्तिकारीहरु जति समाजवादी भए पनि उनीहरु व्यग्रताका साथ जनताकाबीच समाजवादी विचारहरु ल्याउन चाहन्थे ताकी उनीहरुलाई बुर्जुवा उदारवादको खोक्रो विचारहरुबाट टाढा राख्न सकियोस् । त्यो समाजवाद पुरै युटोपियन र निम्न पुँजीवादी थियो । आजको रुसमा स्थिति अलि भिन्न छ । यहाँ न त कुनै राजावादी, न त कुनै ‘प्रगतिशील’ बुर्जुवा पार्टीले जनताको मन जित्न सकेको छ । यहाँ त ती जनता आफैं समाजवादको झण्डामुनी आइपुगेका छन ्। आज उनीहरु मजदुरवर्गको रूपमा संगठित छन् जो जारशाहीविरुद्ध संघर्ष गर्दै छन । ती मानिसहरु जो आफ्नो जीवनकै कारण समाजवादी भएका छन । ती मानिसहरु, जो रहिआएको व्यवस्थालाई घृणा गर्दै हुर्किएका छन् । ती मानिसहरु, जो आवश्यकताले गर्दा मार्क्सवादी कोणबाट सोच्न थालेका छन् । न त उनीहरुले विकास गर्ने नेता न त विचारहरु, बरु उनीहरुको सामाजिक र आर्थिक अवस्था नै त्यो कारण हो जसले (जारशाहीविरुद्ध) सर्वहारावर्ग र बुर्जुवावर्गको साझा संघर्षलाई नकारीदिएको छ ।’
 
‘जनता फरक छन, सर्वहारावर्ग फरक छ । आज कसैले पनि षड्यन्त्रकारी, ब्लांकीवादी रणनीतिको कुरा गर्ने अवस्था छैन । ब्लांकीवादीहरुले जनतालाई आफ्नो पछाडी तान्न खोजेका थिए तर हामी सामाजिक जनावादीहरुलाई भने जनताले नै अगाडी धकेल्छन । यो निकै ठूलो फरक हो । त्यसैले कमरेड प्लेखनोभले ‘जनताको क्रान्तिकारी स्वायत्तता’ बारे चिन्ता गर्नु पर्दैन । त्यस्तो स्वायत्तता अहिले पनि छ र यसलाई कसैले पनि बाँध्न सक्दैन । कमरेड प्लेखनोभले अहिलेको बहुमत (अर्थात् बोल्सेभिक) माथि (१९०५ को) क्रान्तिमा ब्लांकीवादी गल्तिहरु गरेको भन्ने आरोपको हामी खण्डन गर्दछौं । यो हुन सक्छ कि यसको केही अंश कमरेड लेनिनले सन् १९०२ मा कोरेको संगठनात्मक ड्राफ्टमा देखिएको थियो, तर यो कुरा अब इतिहास भइसक्यो । टाढाको इतिहास किनकि आज जीवन धेरै तीव्रताको साथ चलिरहेको छ । ती गल्तिहरुलाई समयले नै सच्याइदिएको छ र ती गल्तीहरु दोहोरिने अब कुनै सम्भावना छैन । र हामीहरु ब्लांकीवादको भूतदेखि तर्सनुपर्ने कुनै आवश्यकता छैन किनभने त्यो भूतलाई अहिले ब्युँझाउनै सकिदैन ।’
 
मजदुरवर्गको स्वस्फूर्त जागरणमार्फत नै पार्टीभित्रबाटै अवसरवादी प्रवृत्तिलाई पराजित गर्ने रोजाको विचार सन् १९१८ को जर्मन क्रान्तिसम्म रहीरह्यो । पहिलो विश्वयुद्धमा जब सामाजिक जनवादी पार्टीहरुले आ–आफ्नो सरकारलाई असहयोग गरि साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल्ने आफ्नो नीति आफैले त्यागी आ आफ्नो सरकारलाई समर्थन गर्न पुगे, र जर्मन सामाजिक जनवादी पार्टीले क्रान्तिमा ब्रेक लगाई बुर्जुवा गणतन्त्रमा सीमित गर्न खोजे, तब रोजाले पनि सामाजिक जनवादी पार्टीसंग निर्णायक रूपमा सम्बन्धविच्छेद गरि जर्मन कम्युनिस्ट पार्टी खोलिन । जुन करिब करिब बोल्सेभिक पार्टीकै अवधारणामा आधारित थियो । तर यो काम गर्नमा उनले धेरै नै ढिलो गरिन, जसको कारण उनको पार्टीले निर्णायक नेतृत्व दिन पाएन र स्वयं उनकै पूर्व पार्टीको हातबाट उनको र उनका सहकर्मी कार्ल लिब्नेख्तको हत्या भयो । हत्या हुनुभन्दा केही दिन अघि मात्र उनले आफ्नो नयाँ पार्टीको पत्रिका ‘लाल ध्वज’मा लेखेकी थिइन, ‘नेतृत्वको कमी हुनु र बर्लिनको सर्वहारावर्गलाई संगठित गर्न कुनै केन्द्र अस्तित्वमा नहुनु, यस्तो अवस्थालाई लम्ब्याउन सकिदैंन । यदि क्रान्तिलाई अगाडी बढाउने हो भने, सर्वहारावर्ग र समाजवादको विजयलाई सपनामा मात्र सीमित नराख्ने हो भने, क्रान्तिकारी मजदुरहरुले नेतृत्वदायी संगठनहरुको निर्माण गर्नुपर्छ जसले उनीहरुलाई दिशानिर्देश गर्न र जनताको लडाकु शक्तिको उपयोग गर्न सकोस् ।’  
 
लेनिनले रोजा लक्जम्बर्गको पार्टी संगठनबारेको धारणालाई ‘प्रक्रियाको रूपमा संगठनको विकास’ भनेर विरोध गरे । तर पछि बोल्सेभिकवादको विकासबारे सन् १९०७ र पछि सन् १९२० मा उनले आफै गरेको विश्लेषणमा चाहि उनी क्रान्तिकारी पार्टीको विकास एउटा लामो प्रक्रिया नै हो भन्ने कुरामा सहमत देखिन्छन् । साथै, धेरैले रोजा लक्जम्बर्ग र लेनिनलाई क्रमशः स्वस्फुर्तता र केन्द्रिकरणमा आधारित पार्टी संरचनामा विभाजित गरेर दुई ध्रुवमा उभ्याएको पनि पाइन्छ । तर दुवैका लेखहरु नजिकबाट नियाल्यौं भने दुवै क्रान्तिकारीहरुले आम संघर्ष र संगठनको गतिशील अन्तरसम्बन्धमा आधारित सिद्धान्त तथा कार्यक्रमहरु कोरेका थिए भन्ने बुझिन्छ । ‘आम हड्ताल, ट्रेड युनियन र राजनीतिक पार्टी’ भन्ने लेखमा रोजा लेख्छिन, ‘सामाजिक जनवादीहरु सर्वहारावर्गको सबैभन्दा शिक्षित, वर्गीय चेतना भएका भ्यानगार्ड हुन । उनीहरु भाग्यवादीहरु जस्तो हात बाँधेर ‘क्रान्तिकारी अवस्था’ लाई पर्खेर बस्दैनन् । एउटा स्वस्फूर्त जन आन्दोलन आकाशबाट खस्छ भन्ने भ्रममा रमाएर बस्दैनन् । त्यसको विपरित उनीहरुले परिस्थितिको विकास र घटनाहरुलाई गति दिनतिर लाग्छन् ।’ 
अर्कोतिर, ‘ह्वाट इज टु बी डन’मा लेनिन लेख्छन, ‘जनताको स्वस्फूर्त विकासले हामी सामाजिक जनवादीहरुसंग अझ उच्च तहको चेतनाको माग गर्दछ । जनताको जति धेरै स्वस्फूर्तताको वृद्धि तथा आन्दोलनको फैलावट हुन्छ त्यति नै तीव्र सामाजिक जनवादको सैद्धान्तिक, राजनीतिक र सांगठनिक कार्यमा उच्च चेतनाको माग हुन्छ ।’
 
राष्ट्रहरुको आत्मनिर्णयको अधिकार सम्बन्धी प्रश्न
उत्पीडित राष्ट्रहरुको आत्मनिर्णयको अधिकार र स्वतन्त्रताको विषयमा सबैभन्दा पहिले मार्क्स र एंगेल्सले नै लेखेका थिए । आफ्नो समयमा उनीहरु दुवै बेलायति साम्राज्यबाट आयरल्याण्ड र रुसी जारशाही साम्राज्यबाट पोल्याण्डको स्वतन्त्रताको पक्षमा उभिएका थिए । मार्क्सका अनुसार रुसको जारशाही र जर्मनीको हेप्स्बर्ग सत्ता सामाजिक विकासको प्रक्रियामा तगारो बनेका थिए । उनका अनुसार पोल्याण्डको राष्ट्रिय स्वतन्त्रताको आन्दोलनले जारशाहीलाई कमजोर बनाउने थियो र क्रान्तिकारी लोकतान्त्रिक आन्दोलनमा उर्जा थप्ने थियो । त्यसैकारण मार्क्सले पोल्याण्ड र हंगेरीको राष्ट्रिय स्वतन्त्रताको आन्दोलनलाई समर्थन गरेका थिए । तर मार्क्सले सबै राष्ट्रिय आन्दोलनहरुको समर्थन गरेनन् । उनले क्रोएसियन, सर्ब र चेक राष्ट्रवादको विरोध गरेका थिए किनकि उनका अनुसार दक्षिणी कबिख र अन्य राष्ट्रहरुबीचको शत्रुतापूर्ण सम्बन्धले गर्दा यी आन्दोलनहरुले जारशाहीलाई नै मद्दत पुग्ने थियो । मार्क्सले राष्ट्रिय आन्दोलनहरुलाई समर्थन गर्नु वा नगर्नुको प्रमुख शर्त ती आन्दोलनले यूरोपका बुर्जुवा लोकतान्त्रिक आन्दोलनमा गर्ने असर हो जस्तो देखिन आउँछ । राष्ट्रिय स्वतन्त्रता वा आत्मनिर्णयको अधिकार सम्बन्धी प्रश्न मार्क्सवादी आन्दोलनमा मार्क्सकै पालादेखि उठेको हो र मार्क्सले समाज विकासको तत्कालिन अवस्थाहरुमा आधारित भएर राष्ट्रिय आन्दोलनहरुको समर्थन वा विरोध गरेका थिए । तर अहिले यो विषयलाई कसरि प्रस्तुत गरिन्छ भने लेनिनले अवसरवादी ढंगले रणनीतिक रूपमा मात्र राष्ट्रिय आत्मनिर्णयको अधिकारको कुरा उठाएका थिए । यसरी लेनिनलाई ‘जातीयता’ को अवसरवादी राजनीति गर्ने मान्छेको रूपमा चित्रण गरिन्छ । फेरी अर्काेतिर रोजा लक्जम्बर्गलाई उभ्याएर भनिन्छ, ‘सच्चा मार्क्सवादी यी हुन जसले जातीय होइन वर्गीय राजनीति गरेकी थिइन् ।’
 
पोल्याण्डको स्वतन्त्रताको सम्बन्धमा रोजा लक्जमबर्गले मार्क्सभन्दा फरक विचार राखिन् । उनका अनुसार पोल्याण्ड रुसी राष्ट्रिय राज्य र त्यसको अर्थतन्त्रसंग यसरि गांसिइसकेको थियो कि पुँजीवादी राज्यव्यवस्थाकै अन्तर्गत पोल्याण्डको राष्ट्रिय स्वतन्त्रता कुनै अर्थमा पनि प्रगतिशील हुन सक्दैन । उनले यहि विचार रुसी साम्राज्यभित्रका उत्पीडित राष्ट्रहरुको हकमा पनि लागु गरिन, जब लेनिनले ती राष्ट्रहरुको आत्मनिर्णयको अधिकारको कुरा निकाले । रोजाका अनुसार जब समाजवादले राष्ट्र राष्ट्रबीचको विभाजन हटाउँछ भने त्यस्तो अवस्थामा राष्ट्रिय रूपमा छुट्टिन पाउने अधिकारले कुनै अर्थ राख्दैन । बरु यसले समाजवादी क्रान्तिलाई नै उल्टो बाटोमा हिडाउंछ । त्यस्तै, यस्ता राष्ट्रिय आन्दोलनले ती राष्ट्रहरुका बुर्जुवावर्गलाई मात्र फाइदा पुग्छ, जसले समाजवादी क्रान्तिमा संगै हिड्नुको साटो बरु क्रान्तिकै घाँटी रेट्न तम्तयार हुनेछन् ।
 
तर लेनिनको विचारमा भने उत्पीडक राष्ट्र र उत्पीडित राष्ट्रको राष्ट्रवादमा भिन्नता छ । उनका अनुसार उत्पीडक राष्ट्रहरुको राष्ट्रवादको विरोध गरिनुपर्छ भने उत्पीडित राष्ट्रहरुको राष्ट्रवादको भने समर्थन गर्न जरुरी हुन्छ । जब उत्पीडित राष्ट्रहरुलाई छुट्टिन पाउनेसम्मको अधिकार हुन्छ, तब ती राष्ट्रका सर्वहारावर्ग आफैं नै स्वस्फुर्त रुपमा रुसी सर्वहारावर्गसंग मिल्न आइपुग्छन् । रोजाको अनुसार वर्ग संघर्षको अगाडी राष्ट्रहरुको आत्मनिर्णयको अधिकारले कुनै महत्व राख्दैन र यसले सर्वहारावर्गको अन्तराष्ट्रवादमा खलल पुर्याउँछ । लेनिन स्वयम् सर्वहारा अन्तराष्ट्रवादलाई नकार्दैनन् । उनका लागि राष्ट्रिय प्रश्न महत्वपूर्ण हो तर साथसाथै वर्गीय प्रश्न प्रधान हो । उनका अनुसार राष्ट्रिय आन्दोलनको मुख्य स्रोत त्यहाँका उत्पीडित वर्ग समुदाय हुन् र सर्वहारा पार्टीले ती आन्दोलनको नेतृत्व लिनुपर्छ । रोजा राष्ट्रिय प्रश्नलाई पूर्णत अस्वीकार गर्दै अन्तराष्ट्रवादको पक्षमा उभिन्छिन् भने लेनिन उत्पीडित राष्ट्रहरुको राष्ट्रिय संघर्षमार्फत अन्तराष्ट्रवाद मजबूत बनाउन चाहन्छन् । एकातर्फ उनी उत्पीडित राष्ट्रहरुको आत्मनिर्णयको अधिकारको पक्षमा छन् भने अर्कोतिर उनी उग्र रुसी राष्ट्रवादका साथै अन्य सबैखाले राष्ट्रवादको विपक्षमा छन् । रोजा लक्जम्बर्ग लगायत अन्य पोलिश मार्क्सवादीहरुले आत्मनिर्णयको अधिकारको विपक्षमा प्रकट गरेको मतहरुबारे लेनिन लेख्छन, ‘हाम्रा पोलिश सामाजिक जनवादी कमरेडहरुको सद्गुण भनेको उनीहरुले अन्तराष्ट्रवादको नारालाई अगाडी बढाएका छन । उनीहरुले भनेका छन् कि अरु कुनै कुराभन्दा बढी उनीहरु सबै देशका सर्वहारावर्गको भाइचाराको सम्बन्धलाई जोगाएर राख्न चाहन्छन् र उनीहरु कहिल्यै पनि पोल्याण्डको स्वतन्त्रताको निम्ति लडाईमा जाने छैनन् । तर हामी रुसीहरु, जसले अरु कोहीभन्दा धेरै राष्ट्रहरुमाथि उत्पीडन गरिरहेका छौं, हामीहरु किन पोल्याण्ड, युक्रेन, फिनल्याण्ड आदीको स्वतन्त्रताको पक्ष नलिने ? पोलिश सामाजिक जनवादीहरु भन्छन् उनीहरु रुसी सर्वहारावर्गसंगको सम्बन्धलाई फाइदाजनक ठान्छन र त्यसैकारण उनीहरु पोल्याण्डको छुट्टिन पाउने अधिकारको विपक्षमा छन् । उनीहरुलाई यस्तो सोच्ने पूरा अधिकार छ । तर उनीहरु यो कुरा बुझ्दैनन् कि यसो गर्न त्यो एउटै कुरा दोहोर्याईरहनु पर्दैन । हामीले रुसमा उत्पीडित राष्ट्रहरुको छुट्टिन पाउने अधिकारको पक्षमा जोड दिनुपर्छ भने पोल्याण्डमा हामीले त्यस्ता राष्ट्रहरुको एकिकरणको पक्षमा जोड दिनुपर्छ । एकिकरणको अधिकारले नै छुट्टिन पाउने अधिकारलाई इंगित गर्छ । हामी रुसीहरुले छुट्टिन पाउने अधिकारको पक्ष लिनुपर्छ भने पोलहरुले एकीकृत हुन् पाउने अधिकारको लागि काम गर्नुपर्छ ।’
 
एकातर्फ लेनिन उत्पीडित राष्ट्रहरुको आत्मनिर्णयको अधिकारको पक्षमा थिए भने अर्कोतर्फ उनी बुर्जुवा राष्ट्रवादको विपक्षमा जसले ‘राष्ट्रिय स्वायत्तता’, ‘राष्ट्रिय संस्कृति’ जस्ता अवधारणा अघि सार्दै मजदुर आन्दोलनलाई नै विभाजित गरिदिन्थ्यो । उनी लेख्छन्, ‘राष्ट्रिय प्रश्नमा मार्क्सवादी र बुर्जुवा कार्यक्रमबीचको आधारभूत भिन्नता यहाँ छ – राष्ट्रहरु र तिनका भाषाहरुका बराबर अधिकारको कुरा मार्क्सवादीहरुको निम्ति निकै महत्वपुर्ण छ । वर्गसंघर्षमा सर्वहारा सौहार्दता र एकताको लागि सबै राष्ट्रहरुको पूर्ण समानता आवश्यक पर्दछ जसले आपसी अविश्वास, शंका र शत्रुतालाई हटाउन मद्दत गर्दछ । र पूर्ण समानताले कुनै एक भाषाको विशेष अधिकारको विरोध र सबै राष्ट्रहरुको आत्मनिर्णयको अधिकारलाई स्वीकार गर्दछ । बुर्जुवाहरुको राष्ट्रिय समानताको मागले व्यावहारिक रूपमा भने राष्ट्रिय एकांगीपना र अन्धराष्ट्रवादको वकालत गर्दछ र र त्यसमा उनीहरुले राष्ट्रहरुको विभाजनको वकालतलाई पनि ल्याएर जोडीदिन्छन् । यो कुरा सर्वहारा अन्तरराष्ट्रवादसंग मेल खाँदैन । कारण, सर्वहारा अन्तरराष्ट्रवादले राष्ट्रहरुबीचको नजिकको सम्बन्ध मात्र होइन एउटा राज्यको सबै राष्ट्रियताका मजदुरहरुलाई एउटै एकीकृत सर्वहारा संगठनमा ल्याएर जोड्ने कुराको वकालत गर्दछ । त्यसैकारण मार्क्सवादीहरु कथित ‘एकात्मक राष्ट्रिय संस्कृति’को विपक्षमा छन, जसले सबै राष्ट्रिय राज्यहरुमा एउटै संस्था, एउटै शिक्षा नीति, एउटै शैक्षिक बोर्डको वकालत गर्छ ।’ 
 
लेनिनका अनुसार मार्क्सवादीहरुले समाजवाद बारे ठूल्ठूला बौद्धिक गफ मात्र गर्ने होइन, बरु मजदुर आन्दोलन तथा अन्य उत्पीडित वर्ग समुदायको आर्थिक तथा सामाजिक समानताको आन्दोलनहरुमा सरिक भएर त्यसलाई नेतृत्व दिने प्रयास गर्दै सामाजिक क्रान्तिको दिशामा अघि बढ्ने हो । यसै मेसेमा, लेनिनले आत्मनिर्णयको अधिकारको लोकतान्त्रिक मागलाई लगेर समाजवादी क्रान्तिसंग जोडेका थिए । एकातिर उनले आत्मनिर्णयको अधिकारको पक्ष लिएका थिए भने अर्कोतर्फ बुर्जुवावर्गले उठाउने ‘राष्ट्रिय सांस्कृतिक स्वायत्तता’को विरोध गरेका थिए जसले मजदुरवर्गलाई विभाजित मात्र बनाउँछ ।
 
राष्ट्रिय प्रश्नमा लेनिन सही रहेको देखिन्छ । तर यसबारे गहन छलफल गर्न रोजाका धेरै मतहरुमाथि पनि गहिरिएर अध्ययन गर्न आवश्यक छ । अहिले नेपालको सन्दर्भमा पनि यो प्रश्नले धेरै महत्व राख्ने कारणले हामीले पनि यसमा ध्यान दिन जरुरी छ । तर, लेनिन वा रोजाले यसो भनेका थिए, त्यही भएर नेपालमा पनि त्यसै हुनुपर्छ भन्ने कोणबाट होइन, नेपालको ऐतिहासिक, सामाजिक अवस्था, नेपाल राष्ट्रिय राज्यको ऐतिहासिक विकासक्रम, समाज विकासको चरण, उत्पादन सम्बन्ध र यी सबैबीचको अन्तरसम्बन्ध आदिलाई आधार बनाइ राष्ट्रिय, भाषिक, सांस्कृतिक समानता र आत्मनिर्णयको अधिकार सम्बन्धि विचार तथा कार्यक्रमको विकास गरिनुपर्दछ ।
 
साम्राज्यवाद र पहिलो विश्वयुद्ध
रोजा लक्जम्बर्ग र लेनिन दुवैको विश्लेषणमा पुँजीवादलाई भित्री रूपमै हिंसात्मक र साम्राज्यवादी देखाइएको छ । तर दुवैबीच यस विषयमा केही मतभिन्नता भने थिए । रोजाले सन् १९१३ मा ‘एकुमुलेसन अफ क्यापिटल’ नामक कृति मार्फत साम्राज्यवाद सम्बन्धि आफ्नो विश्लेषण प्रस्तुत गरेकी थिइन् । उनका अनुसार साम्राज्यवाद पुँजीवादको सुरुवातदेखि नै त्यसको अभिन्न अंग रहँदै आएको छ । पुँजीको संचीतीको निम्ति थप बजारको आवश्यकता हुँदा गैरपुँजीवादी बजारहरुमा पनि यसको विस्तार अपरिहार्य हुन जान्छ । यसरी साम्राज्यवाद पुँजीवादको ऐतिहासिक आवश्यकता बन्न जान्छ र यो पुँजीको संचीतीको आवश्यकताबाट निर्देशित हुन्छ । जो पुँजीवादलाई साम्राज्यवादी र सैन्यवादी विस्तारको आवश्यकता पर्दैन भन्ने मान्छन्, उनीहरु सुधारवादी निष्कर्षतर्फ पुग्दछन् । रणनैतिक रूपमा उनीहरु साम्राज्यवादलाई संवेदनशील बनाउन बुर्जुवा वर्गको एउटा फराकिलो हिस्सासँग सर्वहारावर्गको गठबन्धनको कुरा गर्छन् । पुँजी र सर्वहारावर्गबीचको अन्तिम संघर्षलाई बदलेर त्यसको ठाउँमा पुँजीवादी देशहरुको साम्राज्यवादी अन्तरविरोधलाई कम गर्न ऐतिहासिक सम्झौतालाई अघि बढाउँछन् । उनको यो अन्तिम बुँदा चाहिं कार्ल कउत्स्कीप्रति लक्षित थियो ।
 
लेनिनको विश्लेषण अनुसार साम्राज्यवाद भनेको पूँजीवादको उच्चतम अवस्था हो जुन उन्नाइसौं शताब्दीमा वित्तीय पुँजीको प्रभावमा बहुराष्ट्रिय निगमहरुको शक्तिशाली प्रभुत्वको कारण उदय भएको हो । उनका अनुसार यसका विशेषताहरु भनेको औद्योगिक पुँजीमाथि वित्तीय पुँजीको प्रभुत्व, त्यो वित्तीय पुँजीको अन्य राष्ट्रहरुमा निर्यात तथा विश्वलाई साम्राज्यवादी राष्ट्रहरुबीच उपनिवेशको रूपमा विभाजन । लेनिन पुँजीको विस्तारमा बहुआयाम, तरलता र लचकता देख्छन् भने रोजा त्यसमा एउटा सीमा देख्छिन । एउटा त्यस्तो अपरिहार्यता जसअनुसार पुँजी गैरपुँजीवादी राष्ट्रहरुमा विस्तार हुन्छ, जुन अन्त्यमा गएर उपयोग भइ सकिन्छ र त्यसले आर्थिक संकट र पतनलाई निम्त्याउँछ ।
 
लेनिन र अर्का बोल्सेभिक नेता निकोलाई बुखारिनले रोजाको त्यस विश्लेषणको चर्को आलोचना गरे । लेनिनका अनुसार त रोजाले मार्क्सको विचारलाई नै बंग्याइन् । उनले त अझ त्यसमाथि टिप्पणी गर्दा ‘वाहियात’ र ‘हाँसोलाग्दो’ जस्ता शब्द प्रयोग गरेका छन् । उता बुखारिनले भने रोजाको आलोचनाको साथसाथै के पनि भनेका छन् भने उक्त कृति रोजाको एक सहासिलो सैद्धान्तिक प्रयास हो र यो काम एउटा प्रतिभाशाली सैद्धान्तिक ज्ञानको उपज हो । लेनिनको तिखो शब्दवाणको प्रयोगका कारण के हो भने यो कृति सन् १९१३ मा प्रकाशित भएको थियो, जब यी दुईबीच संगठनको सवाल र मेन्सेभिकहरुसंग छुट्टिएर बोल्सेभिकहरुले नयाँ पार्टी गठन गरेको कुरालाई लिएर गहिरो मतभेद सिर्जना भएको थियो, जसबारे माथि नै चर्चा गरिसकिएको छ ।
 
रोजा र लेनिनबीचको साम्राज्यवादको विश्लेषणमा केही मतभिन्नता भएपनि पहिलो विश्वयुद्ध बारे कुनै वैचारिक अन्तर थिएन । दुवैको विचारमा उक्त युद्ध साम्राज्यवादी राष्ट्रहरुबीच विश्वको कुन भाग कसले नियन्त्रण गर्ने भन्ने प्रश्नमा आधारित एउटा साम्राज्यवादी युद्ध थियो । सन् १९१४ अघि नै युरोपमाथि जम्मा हुँदै गरेको युद्धको बादलले दोस्रो इन्टरनेशनल र जर्मन सामाजिक जनवादी पार्टीमा साम्राज्यवाद र सैन्यवादको विषयले प्राथमिकता पायो । दोस्रो इन्टरनेशनलको सन् १९०७ मा स्तुत्गार्टमा भएको महाधिवेशनमा रोजा लक्जमबर्ग र लेनिन दुवैले युद्धविरोधी संकल्पमा एउटा सर्त राखे, ‘युद्ध हुन गएको खण्डमा सर्वहारावर्ग र तिनका संसदीय प्रतिनिधिहरुको कर्तव्य हुनेछ कि उनीहरु चाँडोभन्दा चाँडो युद्धको समाप्तिको लागि हस्तक्षेप गर्नेछन् र यस युद्धले लिएर आएको हिंस्रक आर्थिक तथा राजनीतिक संकटलाई प्रयोग गरि सर्वहारावर्गले आफ्नो सम्पूर्ण बल लगाई जनतालाई जगाउनेछन् र पुँजीवादी सत्ताको चाडै अन्त्य गर्नतिर लाग्नेछन् ।’ यो शर्तलाई दोस्रो इन्टरनेशनलले पारित गरेको थियो । तर जब युद्ध सुरु भयो, दोस्रो इन्टरनेशनलमा आबद्ध प्राय सबै पार्टीहरु र मुख्यतः जर्मन सामाजिक जनवादी पार्टीले आफैंले पारित गरेको संकल्पको विपरित आ आफ्ना साम्राज्यवादी सरकारलाई समर्थन गर्न पुगे । युद्धको विरोध गर्नेमा रोजा र पार्टीभित्रको वामपन्थी तप्का, बोल्सेभिक पार्टी लगायत केही मात्र थिए । त्यसपछि रोजा पार्टीभित्र एक्लिइन् । कार्ल लिब्नेख्त लगायत केही सदस्यहरु मात्र युद्धविरोधी मोर्चाको पक्षमा उभिए । दोस्रो इन्टरनेशनलको पतन र आफ्नो पार्टीको साम्राज्यवादी बुर्जुवावर्गको पक्षधरता रोजाको लागि ठूलो झट्का थियो । तर त्यो भन्दा ठूलो झट्का त जर्मन सामाजिक जनवादी पार्टीको पतनको अन्तिम अवस्था नजिकैबाट नभोगेका लेनिन र अन्यका लागि थियो ।
 
युद्धविरोधी प्रचारका क्रममा पक्राउ परेको अवस्थामा रोजाले ‘जुनिअस प्याम्फ्लेट’ लेखिन जुन अन्तराष्ट्रवादी र युद्धविरोधीहरुको उत्कृष्ट अभिव्यक्ति थियो । उक्त पर्चामा उनले अवसरवादी र सामाजिक अन्धराष्ट्रवादीहरुले युद्धलाई समर्थन गरेको कार्यलाई न्यायसंगत देखाउन गरेको कथनहरुको विरोध गरेकी छन र तिनलाई पर सार्दै उनले केन्द्रीय प्रश्नलाई अगाडी ल्याएकी छन् ः समाजवाद वा बर्बरता ? मानवजातिको लागि केवल यी दुई विकल्प छन् । कि त सर्वहारावर्गले यस युद्धको अन्त्य गरि समाजवादमार्फत राष्ट्रहरुबीचकै युद्धको सम्भावनालाई समाप्त पारिदिन्छन, कि त साम्राज्यवादको विस्तार संगै यसले युद्ध, हिंसा र सैन्यवादलाई विश्वव्यापीकरण गर्दै सारा समाजलाई नै बर्बर बनाउँछ । अहिलेको विश्वलाई राम्ररी नियाल्यो भने रोजाको भविष्यवाणी सत्यको एकदमै नजिक देखिन्छ ।
 
अक्टोबर क्रान्ति र बोल्सेभिक कार्यनीतिहरु सम्बन्धि प्रश्न
सन् १९१७ को अक्टोबर क्रान्ति बीसौं शताब्दीको मात्र होइन, आधुनिक मानव इतिहासकै सबैभन्दा महत्वपूर्ण घटनाहरुमध्येको एक थियो । उक्त क्रान्तिकै नायकमध्येका एक लियन ट्रट्स्कीले ‘रुसी क्रान्तिको इतिहास’मा लेखेका छन, ‘सन् १९१७ को पहिलो दुई महिनासम्म रुस रोमानोभ वंशीय राजतन्त्रात्मक मुलुक थियो । आठ महिनापश्चात् बोल्सेभिकहरु देशका चालक बने । वर्षको सुरुमा निकै कम मानिसहरु मात्र उनीहरुबारे परिचित थिए र सत्तामा पुग्नेबेलासम्म तिनका नेताहरुको टाउकामाथि राज्यद्रोहको मुद्दा थियो । तपाईहरुले इतिहासमा कहिँ पनि यस्तो गम्भिर मोड पाउनुहुन्न । खासगरी १५० मिलियन जनसंख्या भएको देशको हकमा ईतिहासको यस्तो मोड गम्भिरतम बन्न पुग्छ । यसबाट प्रष्ट छ कि १९१७ का घटनाहरुले गम्भिर अध्ययनको खाँचो औँल्याउँछ, चाहे अहिले त्यसबारे तपाइको जस्तोसुकै धारणा बनेको होस् ।’
 
अक्टोबर क्रान्तिबारे धेरै अध्ययनहरु भएका छन् र ती अध्ययनबाट मानिसले मुख्यतः दुई निष्कर्षहरु निकालेका छन । पहिलो– यो क्रान्ति इतिहासकै महत्वपूर्ण घटना हो र रुसमा लेनिन र बोल्सेभिकहरुले मार्क्सवादको सिर्जनात्मक प्रयोग गरी मानवजातिको मुक्तिको निम्ति एउटा कोसेढुंगा स्थापित गरे । दोस्रो – अक्टोबर क्रान्ति मार्क्सवादको भ्रष्टीकरणमार्फत एउटा सानो झुण्डले षड्यन्त्रपूर्ण तरिकाले गरेको सत्ताकब्जा बाहेक अरु केही होइन, र पुँजीवादको लागि मात्र तयार भएको रुसमा बोल्सेभिकहरुले समाजवादी क्रान्ति गरि ठूलो गल्ति गरे । यो दोस्रो निष्कर्ष निकाल्नेहरुमध्ये धेरैजसोले अक्टोबर क्रान्तिको आलोचना गर्दा रोजा लक्जम्बर्गलाई उद्धृत गर्ने गरेका छन् । अक्टोबर क्रान्तिबारे रोजाले सन् १९१८ मा लेखेको निबन्ध ‘रुसी क्रान्ति’ का धेरै शब्दहरु उनीहरुले सापटी लिने गरेका छन् । तर अक्टोबर क्रान्तिबारेको रोजाको पूरा विचारलाई भने उनीहरु लुकाउँछन् किनकी रोजाका विचार र अडानहरु अक्टोबर क्रान्तिबारे उनीहरुको विश्लेषण मात्र होइन, मार्क्सवाद र सामाजिक क्रान्तिसम्बन्धि उनीहरुको बुझाइमाथि नै गतिलो प्रहार बन्न जान्छ ।
 
रोजा लक्जम्बर्गले अक्टोबर क्रान्तिपश्चात बोल्सेभिकहरुका केही कार्यहरु, जस्तै संविधानसभालाई भंग गर्ने काम, भूमिसुधार सम्बन्धि निर्णय, लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता आदि विषयमा आफ्नो त्यहि निबन्धमार्फत आलोचना गरेकी थिइन् । तर यससंग सम्बन्धित अन्य धेरै तथ्यहरु पनि छन् जो अक्टोबर क्रान्ति र लेनिनवादका आलोचकहरु बाहिर ल्याउन रुचाउँदैनन् । पहिलो, रोजाले यो निबन्ध अवश्यै लेखिन् तर उनले त्यसलाई कहिल्यै प्रकाशित गरिनन किनभने अक्टोबर क्रान्तिको समर्थन र बचाउ गर्नेहरुमध्ये उनी अग्रपंक्तिमा थिइन् र उनलाई थाहा थियो निबन्ध प्रकाशित भएको खण्डमा बोल्सेभिक विरोधीहरुले त्यसको दुरुपयोग गर्न सक्थे । जसरी अहिले त्यसको दुरुपयोग हुनेगरेको छ । रोजाको मृत्युपश्चात् उनकै मित्र पल लेभीले सन् १९२२ मा बोल्सेभिक कार्यनीति र संगठनमाथि प्रश्न उठाउनलाई मात्र त्यसलाई प्रकाशनमा ल्याएका थिए । दोस्रो, रोजाले बोल्सेभिकहरुका केही कार्यनीतिहरुको विरोध गरे पनि उनले अक्टोबर क्रान्तिलाई खुल्ला समर्थन गरेकी थिइन् । उक्त निबन्धको पहिलो अध्यायको शिर्षक नै छ, ‘रुसी क्रान्तिको आधारभूत महत्व’ । यो पहिलो अध्यायमा उनले बोल्सेभिकहरु र ‘उनीहरुको दूरदर्शिता र अन्तर्राष्ट्रिय समाजवाद र सर्वहारावर्गप्रतिको उनीहरुको अडान र योगदान’ को खुलेरै प्रशंसा गरेकी छन् । त्यसका साथै उनले ‘रुस समाजवादी क्रान्तिको निम्ति तयार भइसकेको छैन, अहिले केवल पुँजीवाद मात्र सम्भव छ’ भन्ने मेन्सेभिकहरु र पतित भैसकेको जर्मन सामाजिक जनवादी पार्टी तथा त्यसका एक नेता कार्ल कउत्स्कीको जोडदार विरोध गरेकी छन् । यस विषयबारे अलि विस्तृत रूपमा चर्चा गर्न जरूरी छ ।
 
मार्क्सले समाजवादी क्रान्ति सबैभन्दा पहिले विकसित औद्योगिक पुँजीवादी देशहरुमा हुनेछ भनी विश्लेषण गरेका थिए । तर लेनिनले भने एउटा पिछडिएको र पुँजीवादको अल्पविकसित अवस्थामा नै रहेको देश रुसमा समाजवादी क्रान्तिको कार्यक्रमको विकास गर्दै त्यसलाई लागु गर्ने चेष्टा गरे । यसैको आधारमा लेनिनलाई एकथरिले मार्क्सवादलाई नै भ्रष्टीकरण गरेको भन्दै अक्टोबर क्रान्तिको औचित्यमाथि नै प्रश्न उठाउँछन् । उनीहरुका अनुसार मार्क्सवादले पुँजीवाद ‘पूर्ण रूपले विकसित’ भइसकेपछि मात्र समाजवादी क्रान्ति इतिहासको रंगमंचमा देखापर्छ भनेर सिकाउँछ । उनीहरु भन्छन् त्यसअनुसार जसरी युरोपमा सामन्तवादको अन्त्यसंगै पुँजीवादको लामो चरण सुरु भयो, त्यसरी नै एसिया, अफ्रिकालगायत सारा संसारभरिका देशहरुले यहि चरणबाट गुज्रिनुपर्छ । तर जब ‘समाजवादको लागि पाकिसकेको’ अमेरिका र युरोपेली पुँजीवादको कुरा आउँछ, उनीहरु पुँजीवाद आफै कुहिएर झर्छ, हामीले त कतिबेला त्यो हाम्रो हातमा खस्छ, पर्खेर बस्ने मात्रै हो भन्छन् । अझ कति त केसम्म भन्छन् भने मार्क्सले पुँजीवाद अझै १००० वर्षसम्म रहिरहन्छ भनेका छन, त्यसैकारण हामीले अहिले समाजवादको कुरा गर्नु नै बेकार हो । यसरी उनीहरुले मार्क्सवाद होइन, सुधारवादको प्रतिनिधित्व गर्ने आफ्नो चरित्र उदांगो पारिदिन्छन् ।
 
मार्क्सको ऐतिहासिक भौतिकवादले एउटा निश्चित कालखण्डमा समाजलाई केलाउने र त्यसबाट निस्केको निष्कर्षको आधारमा उक्त समाजलाई बदल्न कार्यक्रम, रणनीति, सिद्धान्त आदिको विकास गर्न र तिनलाई लागु गर्न सिकाउँछ । तर धेरैले र मुख्य रूपमा गैर लेनिनवादीहरुले यसरी व्याख्या गर्छन मानौं ऐतिहासिक भौतिकवाद एउटा यस्तो फर्मुला हो जसलाई टपक्क टिपेर जहाँकहिं पनि प्रयोग गर्न सकिन्छ र यो फर्मुलाले भन्छ, युरोपको इतिहास जसरी विकसित भयो, त्यसरी नै अन्य सबै समाजहरु पनि विकास हुनुपर्दछ । त्यसकारण, पुँजीवादले राम्रोसंग जरा पनि नगाढेका देशहरुले समाजवादी क्रान्तिको कुरा गर्नु भनेको मार्क्सवादकै खिल्ली उडाउनु हो ।
 
मार्क्स वा एंगेल्सले कहिल्यै पनि यस्तो निर्धारणवाद सिकाएनन् । उनीहरुले समाजलाई गतिशील रूपमा बुझेर र साथै कुनै पनि समाजको विश्व पुँजीवादसंगको अन्तरसम्बध र उक्त समाजका विशिष्टताहरुलाई अधार बनाएर कसरी समाजलाई अघि बढाउने भन्ने कुरालाई आफ्नो शिक्षाको आधारभूत विषय बनाए । यसै सम्बन्धमा मार्क्सले रुसी मार्क्सवादी वेरा जासुलीचलाई लेखेका केही पत्रहरु स्मरणयोग्य छन । मार्क्सले ति पत्रहरुमा कसरी त्यसबखतको रुसको सहकारी, अथवा कम्युनजस्तो ग्रामिण कृषि व्यवस्थाको कारण  युरोपजस्तै लामो कालखण्डसम्म पुँजीवादबाट गुज्रिनुको साटो एकैपटक समाजवादी क्रान्तितर्फ अघि बढ्दा उपयुक्त हुन्छ भन्ने व्याख्या गरेका छन् । यसले प्रस्ट्याउँछ कि मार्क्सका लागि पुँजीवाद समाजवादको निम्ति पूर्वशर्त थिएन ।
 
एउटा निश्चित कालसम्म पुँजीवादको एउटा चरण वा अवस्थाको अनिवार्यतालाई आत्मसाथ गर्नेहरुको एउटा अर्को पाटो हो, आर्थिक निर्धारणवाद । अर्थात इतिहासलाई चलायमान राख्ने सबैभन्दा महत्वपूर्ण तत्व केवल आर्थिक पक्ष हो, र अन्य तत्व अथवा कारकहरुको भूमिका न्युन हुन्छ । यो सोच पनि मार्क्सवादभन्दा धेरै टाढा छ । यस सन्दर्भमा एंगेल्सले सन् १८९० मा जे ब्लोचलाई लेखेको एक पत्रको केही अंश निकै महत्वपूर्ण छ । उक्त पत्रमा एंगेल्स लेख्छन, ‘इतिहासको भौतिकवादी व्याख्याअनुसार इतिहासको अन्तिम र निर्णायक तत्व भनेको वास्तविक जीवनको उत्पादन र पुनरुत्पादन हो । योभन्दा बाहेक न त मार्क्स न त म स्वयंले अरु केही भनेका छौं । त्यसकारण कसैले यसलाई बंग्याएर आर्थिक तत्व एकमात्र निर्णायक कारक हो भन्छ भने, उसले यो विषयवस्तुलाई नै अर्थहीन, अमूर्त र महत्वहीन वाक्यांश बनाइदिन्छ । आर्थिक अवस्था अधार हो, तर उपरिसंरचनाका विभिन्न तत्वहरु – वर्गसंघर्षको राजनीतिक रुप र त्यसका नतिजा, एउटा सफल संघर्षपश्चात विजयी वर्गले निर्माण गरेको विधान, न्यायिक विधी र यी सबै वास्तविक संघर्षहरुको सहभागीहरुको दिमागमा परेको प्रतिबिम्ब, राजनीतिक, न्यायिक, दार्शनिक सिद्धान्तहरु, धार्मिक विचारहरु र ती सबैको विचारधाराको रूपमा विकास – यी सबैले ऐतिहासिक संघर्षहरुको पथ निर्माण गर्ने क्रममा प्रभाव पार्छन् र धेरै अवस्थमा तिनको रूप निर्धारण गर्ने निर्णायक तत्वको रूपमा काम गर्दछन् ।’ छोटकरीमा भन्दा इतिहास निर्माणको निर्णायक आधार वस्तुगत भएपनि धेरै अवस्थामा आत्मगत आधारले निर्णायक भूमिका खेल्न सक्छ ।
 
त्यसैगरी, हामीले पुँजीवादलाई पनि गतिशील रूपमा बुझ्ने हो, जड रूपमा होइन । द्वन्दवादको प्रमुख प्रस्थापना यहि नै हो । पुँजीवादलाई आम रूपमा पुँजीवाद मात्र होइन, एउटा निश्चित कालखण्डको निश्चित विकासक्रमको अवस्थामा रहेको पुँजीवादको रूपमा बुझ्नुपर्छ । साथै, पुँजीवाद भनेको विश्वव्यापी व्यवस्था हो । त्यसकारण, कुनै पनि देशको पुँजीवादी विकासलाई विश्व पुँजीवादी व्यवस्थाबाट एक्लाएर हेर्ने होइन, त्यस विश्व व्यवस्थाको एक अंगको रूपमा हेर्ने र त्यसको विश्लेषण गर्ने हो । रोजा लक्जम्बर्ग, लेनिन लगायत अन्य मार्क्सवादीहरुले रुसलाई पनि यसैगरि विश्लेषण गरेका थिए । उता मेन्सेभिकहरु भन्थे कि रुस पुँजीवादका लागि मात्र तयार भएको छ, त्यसकारण क्रान्तिपश्चात् सत्ता बुर्जुवा वर्गको हातमा सुम्पिनुपर्छ र सर्वहारावर्गले बुर्जुवावर्गमाथि बुर्जुवा लोकतान्त्रिक कार्यभारहरु पूरा गर्न दवाव मात्र दिनुपर्छ । बोल्सेभिकहरुको मतरुसी बुर्जुवावर्गको घाँटी त्यहाँको सामन्तहरुसंग जोडिएको हुँदा उनीहरुले क्रान्तिको नेतृत्व गर्न सक्दैनन् भन्ने थियो । त्यसकारण केवल सर्वहारावर्गले मात्रै आगामी क्रान्तिको नेतृत्व गर्दै क्रान्तिका कार्यभारहरु पूरा गर्न सक्छन् । रोजा लक्जम्बर्ग पनि बोल्सेभिकहरुको यो धारणा प्रति सहमत थिइन् । मेन्सेभिकहरुको राजनीतिक अडान चाहिं माथि उल्लेख भए जस्तै ऐतिहासिक भौतिकवादको यान्त्रिक व्याख्या तथा आर्थिक निर्धारणवादको आधारमा विकसित थियो ।
 
क्रान्तिकारी मार्क्सवादीहरुका लागि रुसी क्रान्तिको प्रश्न राष्ट्रिय नभएर अन्तराष्ट्रिय थियो र यसमा जति जिम्मेवारी रुसी सर्वहारावर्गको थियो, त्यति नै अन्तराष्ट्रिय, र मुख्यतः जर्मन सर्वहारावर्गको पनि थियो । यसै क्रममा कउत्स्की र मेन्सेभिकहरुको आलोचना गर्दै रोजाले आफ्नो निबन्ध ‘रुसी क्रान्ति’मा लेखेकी छन्, ‘रुसमा विकसित घटनाक्रमहरुले कउत्स्की र जर्मन सत्ताधारी समाजवादीहरुको सिद्धान्त र विचारलाई खण्डन गरिदिएको छ, जसअनुसार आर्थिक रूपमा पिछडिएको र मुख्यत कृषिप्रधान रुसमा सामाजिक क्रान्ति र सर्वहारा अधिनायकवादको निम्ति पाकिसकेको थिएन । यो सिद्धान्त, जसले रुसमा एक बुर्जुवा क्रान्तिलाई मात्रै व्यवहारिक देख्छ, रुसी मजदुर आन्दोलनको अवसरवादी प्रवृत्ति मेन्सेभिकहरुको पनि हो, र त्यसको फलस्वरूप उनीहरुले बुर्जुवा उदारवादीहरुसंग गठबन्धन गर्ने कार्यनीति तय गरेका छन् । उनीहरुका अनुसार रुसी क्रान्ति जारशाहीलाई सत्ताच्युत गरेपछि रोकिनु पथ्र्यो र क्रान्ति त्यसभन्दा अघि बढेर सर्वहारा अधिनायकत्वसम्म पुग्नुको कारण बोल्सेभिकहरुको गल्ति मात्र हो । र क्रान्तिले आफ्नो विकासक्रममा सामना गर्नुपरेका सबै समस्याहरुलाई उनीहरुले त्यहि गल्तिको नतिजाको रूपमा प्रस्तुत गरेका छन् । ‘व्यवहारिक रूपमा यो विचारले रुसी क्रान्तिको विकासक्रममा अन्तराष्ट्रिय र मुख्यत जर्मन सर्वहारावर्गलाई आफ्नो जिम्मेवारीबाट मुक्त गर्ने प्रयास गर्छ र यस क्रान्तिको अन्तराष्ट्रिय सम्बन्धलाई नकार्ने प्रयत्न गर्छ । विश्वयुद्ध र रुसी क्रान्तिका घटनाक्रमले यो प्रमाणित गर्दैन कि रुस समाजवादी क्रान्तिको निम्ति काँचो छ, बरु यो प्रमाणित गर्छ कि जर्मन सर्वहारावर्ग आफ्नो ऐतिहासिक कार्यलाई पूर्णता दिनको निम्ति काँचो छ ।’
 
बोल्सेभिकहरुले ‘जनताको बहुमत जित्ने’ प्रख्यात समस्याको निराकरण गरे, जुन समस्या जर्मन सामाजिक जनवादमाथि डरलाग्दो सपना जस्तै झुण्डीरहेको छ । संसदवादका प्रखर भक्तहरु जस्तै यी जर्मन सामाजिक जनवादीहरुले हरेक क्रान्तिमा संसदवादी नर्सरीको आफ्नो घरमा निर्मित विवेक प्रयोग गर्दछन, ‘केही गर्नुभन्दा पहिले तिमीहरुको बहुमत हुनुपर्दछ । क्रान्तिमा पनि यहि लागु हुन्छ भन्छन्, पहिले बहुमत बनाऊ अनि क्रान्ति गर । क्रान्तिको सही द्वन्द्ववादले भने यी संसदवादीहरुको विवेकलाई उनीहरुको टाउकामा उभ्याईदिन्छ । बहुमत मार्फत होइन, क्रान्तिकारी रणनीतिमार्फत बहुमत । यसरी बाटो अघि बढ्छ ।’
 
रोजाका अनुसार अन्तराष्ट्रिय तथा जर्मन सर्वहारावर्ग र तिनका नेतृत्वकर्ताको धोकाको कारण रुसी क्रान्तिले समस्या खेप्नुपर्यो । बोल्सेभिकहरुले बाध्यात्मक अवस्थामा मात्र संविधानसभा विघटन जस्ता केही विवादास्पद निर्णयहरु गरेका थिए । उनी भन्छिन्, ‘यसमा कुनै शंका छैन कि रुसी क्रान्तिका चालकहरु, लेनिन र ट्रट्स्कीले हरेक प्रकारका पासो र काँडाले भरिएको आफ्नो बाटोमा धेरै निर्णायक पाइलाहरु भित्री रूपमा ठूलो आनाकानी र अन्तरआत्माको हिंसात्मक विरोधकाबीच चालेका थिए ।’
 
रुसी क्रान्ति युरोपेली क्रान्तिको सुरुवात हुनुपथ्र्यो र रुसी क्रान्तिको समापन युरोपेली क्रान्ति, र मुख्यतः जर्मन क्रान्तिका साथ मात्र हुन सम्भव थियो । अन्यथा, रुसी क्रान्ति अनेकौं समस्यामा पर्ने निश्चित थियो । यहि विचार लेनिन, ट्रट्स्की, रोजा लगायतको थियो । रोजाका लागि बोल्सेभिकहरुको केही कार्यनीति अस्वीकार्य थिए तर ति सबै सहायक विषय थिए । प्रमुख विषय थियो, रुसी क्रान्तिको बचाउ र कसरी यसको एकांगीपना लाई तोड्ने ताकी बोल्सेभिकहरुका बाध्यात्मक गल्तिलाई चाँडो सच्याउन सकियोस् । त्यसैकारण पनि आफ्नो निबन्धमा उनले बोल्सेभिकहरुको तारिफ गर्न कुनै कन्जुस्याई गरेकी छैनन् ।
 
‘एउटा ऐतिहासिक समयमा एउटा पार्टीले जति बहादुरी, क्रान्तिकारी दूरदर्शिता र एकरुपता  प्रदर्शन गर्नुपर्ने हो, लेनिन, ट्रट्सकी र अन्य सबै कमरेडहरुले राम्रोसंग देखाएका छन् । पश्चिमा सामाजिक जनवादमा नभएका सबै क्रान्तिकारीका इज्जत र शक्तिको प्रतिनिधित्व बोल्सेभिकहरुले गरेका थिए। उनीहरुको अक्टोबर विद्रोह रुसी क्रान्तिको वास्तविक मुक्ति मात्र नभएर अन्तरराष्ट्रिय समाजवादको इज्जत पनि थियो ।’ 
 
रोजाले आफ्नो उक्त निबन्ध जर्मनीको एउटा जेलमा छँदा लेखेकी थिइन । त्यसबेला रुसभित्रबाट सही खबर पाउन निकै कठिन थियो । त्यसकारण उनले किसानहरुलाई जमीन पुनर्वितरण गर्ने बोल्सेभिक नीतिको आलोचना गरेकी थिइन् । उनी यसबारे बेखबर थिइन् कि सोभियत सत्ता मजदुरहरुको नेतृत्वमा थियो र उक्त सत्तालाई किसानहरुको सहयोग प्राप्त थियो । त्यस्तै, संविधानसभा विघटनबारे पनि उनीसंग त्यति प्रष्ट खबर थिएन । किनकि रुसी संविधानसभाको बसेको एकमात्र बैठकले भूमिसुधार, युद्धको अन्त्य र सोभियतहरुमा सत्ता हस्तान्तरणसम्बन्धि क्रान्तिको म्यान्डेटलाई पूर्णत अस्वीकार गरेको थियो र संविधानसभालाई निरन्तरता दिनुको मतलब रुसी क्रान्तिको अन्त्यको सुरुवात थियो । धेरै नैतिकतावादीहरुको निम्ति यो विरोधाभासपूर्ण निर्णय थियो र छ, किनकि जुन पार्टीले स्वतन्त्रता र व्यापक लोकतन्त्रको निम्ति लड्यो, त्यहि पार्टीले नै उक्त संविधानसभालाई भंग गर्यो । ती नैतिकतावादीहरुका लागि क्रान्ति भनेको रोमान्स मात्र हो । कठोर सत्य के हो भने क्रान्ति भनेको कालो र सेतो हुँदैन । क्रान्ति भनेको एक सामाजिक वर्ग र अर्को सामाजिक वर्गबीचको संघर्ष हो र यो तिनले सोचेजस्तो सुन्दर हुँदैन । रोजाले यी कुरा बुझेकी थिइन् । त्यहि भएर जब १९१८ मा जर्मन क्रान्ति सुरु भयो, उनले संविधानसभाको मागलाई पूर्णतया अस्वीकार गरिन् र सोभियतहरुजस्तै मजदुर काउन्सिलहरुको निर्माणका लागि अपिल गरिन ।
 
रोजाले आफ्नो उक्त निबन्धको अन्त्यमा लेखेकी छन्, ‘रुसमा जेजति हुँदैछ, ती सबलाई हामीले बुझ्न सकिन्छ र ति घटनाले टार्न नसकिने कारण र परिणामको सांग्लोलाई प्रतिबिम्बित गर्दछ । जसको सुरुवाती र अन्तिम बिन्दु हुन्छ जर्मन सर्वहारावर्गको असफलता र जर्मन साम्राज्यवादद्वारा रुसको कब्जा । हामीले लेनिन र अन्य कमरेडहरुसंग केही अलौकिक कुरा मागेको हुनेछ यदी हामीले उनीहरुबाट यस्तो अवस्थामा सर्वोत्तम लोकतन्त्र, सबैभन्दा उदाहरणयोग्य सर्वहारा अधिनायकत्व र प्रगतिशील समाजवादी अर्थतन्त्रको स्थापनाको आश राख्दछौं । आफ्नो दृढ क्रान्तिकारी अडान, उदाहरणयोग्य कार्यबल र अन्तराष्ट्रिय समाजवादप्रतिको अटुट निष्ठामार्फत उनीहरुले ती सबै कुराको योगदान दिएका छन् जुन त्यस्तो कठिन परिस्थितिमा दिन सकियोस् ।... उनीहरुले चमत्कार गरेर देखाउने होइन । त्यस्तो विश्वयुद्धले गर्दा थाकेको, साम्राज्यवादद्वारा घाँटी निमोठीएको र अन्तराष्ट्रिय सर्वहारावर्गबाट विश्वासघात भएको र एक्लिएको भूमिमा आदर्श र गल्तिविहिन सर्वहारा क्रान्ति एउटा चमत्कार नै हुनेछ ।’
 
यसरी हामीले सजिलै थाहा पाउन सक्छौं कि लेनिन र रोजा लक्जम्बर्गबीच धेरै कुरामा समानता थिए र केही कुरामा बिमति । जति आलोचना उनले बोल्सेभिकहरुको गरेकी थिइन, त्योभन्दा धेरै उनले मेन्सेभिक र कउत्स्की र मध्यपन्थिको गरेकी थिइन । प्राय सबै राजनीतिक तथा सैद्धान्तिक प्रश्नमा उनी लेनिनकै नजिक थिइन् । उनले जर्मन मार्क्सवादी आन्दोलनभित्र सबैभन्दा पहिले एडुवार्ड बर्नस्टिनको सुधारवादको जोडदार विरोध गरेकी थिइन् आफ्नो विश्वविख्यात कृति ‘सुधार वा क्रान्ति ?’ मार्फत । साथै, कउत्स्की र मेन्सेभिकहरुले प्रतिनिधित्व गर्ने अवसरवादी प्रवृत्तिको पनि उनले खुलेरै विरोध गरिन् । तर आज रोजालाई लेनिनको विरुद्धमा प्रयोग गर्नेहरु प्राय जसो त्यहि कउत्स्कीवादी र मेन्सेभिकवादीहरु छन् ।
 
लेनिन र रोजा दुवै भगवान थिएनन्, मान्छे थिए । उनीहरु दुवै आफ्ना सबै मतमा सही थिएनन् । उनीहरुले एकले अर्कालाई त्यो दिए, जुन उनीहरु आफूसंग थिएन । लेनिनले रोजा लक्जम्बर्गको सम्झनामा एउटा पुरानो रुसी भनाइ राखेका थिए, ‘हो, चील कहिलेकाहीं कम उचाईबाट उड्छ । तर कुखुराले कहिल्यै पनि चीलजतिको उचाई लिन सक्दैन ।’ लेनिनका निम्ति रोजा चील थिइन् । यी दुवैका बारे विश्लेषण गर्दा उनीहरु दुवैलाई राम्रोसँग बुझेर, उनीहरुका वौद्धिक विमर्श पढेर मात्र विश्लेषण गर्न जरुरी हुन्छ ।  

निरन्तर रेकर्ड