गर्भवती लडाकुको बकपत्र

गर्भवती लडाकुको बकपत्र

परिवार र बच्चा माथिको ‘ऐतिहासिक र प्राकृतिक जिम्मेवारी’को दुहाई दिंदै महिलालाई राजनीति त्याग्न विवश बनाइन्छ

रेनु चन्द २२ मंसिर, २०७१

मैले बच्चा जन्माउने योजना जनयुद्धको अत्यन्त जटिल परिस्थितिमा बनाएको थिएँ । त्यसबेला साथीहरु भन्ने गर्थे, ‘हामीले अहिले नै बच्चा जन्माउने योजना त बनाएका थिएनौ, तर जन्मियो ।’ साथीहरुको यो अनुभवले म बच्चा जन्माउने कुरामा अत्यन्त सजग रहें । अरु साथीहरुको जस्तै मेरो बच्चा पनि बिना योजना हठात जन्मियोस भन्ने मैले कहिल्यै चाहिँन । बच्चा आफ्नो सहजतामा जन्माउनु पर्छ भन्ने लाग्थ्यो । बच्चा जन्माउन मानसिक एवं शारीरिक रुपमा तयार हुनुपर्छ भन्ने मैले बुझेको थिएँ । तर, जनयुद्धमा सामेल भएका बेला विवाह गरेका जोडीले बच्चा जन्माउन हतार गर्थे । दुईजना मध्ये एकजना कति बेला मरिन्छ, थाहा हुँदैन । त्यसैले बच्चा नासो हुन्छ भन्ने मानसिकता थियो । 

घटना २०६१ सालको हो । मेरो र विक्रमको विवाह भएको दुई बर्ष बितिसेकेको थियो । दुवै जनामा पार्टीमा सक्रिय थियौं । म त्यसबेला डोटी जिल्लाको इन्चार्ज थिएँ । तर, हामी दुईको सम्बन्ध टुट्ने संघारमा पुग्न लागेको थियो । हामी दुईबीचमा वैवाहिक सम्बन्धलाई बुझ्ने तरिकामा भिन्नता देखियो । उहाँ जस्तो सामाजिक परिवेशमा हुर्कनु भयो, त्यसले उहाँलाई ममाथि हाबी हुन प्रेरित गर्यो भन्ने लाग्छ । श्रीमतिमाथि हाबी हुनुपर्छ भनेर होइन बरु एकअर्कालाई सहयोग गर्नुुपर्छ भनेर हामी बैवाहिक सम्बन्धमा बाँधिएका थियौं । हाम्रो परिवेशले विवाह गर्नुको यो उदात्त उद्देश्य स्वीकार गर्नै सक्दैनथ्यो । तर, बच्चा भयो भने हामीबीचको सम्बन्ध बच्चाले नै मजबुत बनाउन सक्छ भन्ने लाग्यो । हामीले बच्चा पाउने निर्णय गर्यौं । 

सेती महाकाली क्षेत्रीय ब्यूरोमा भृकुटी दिदी, रुपासोसी चौधरी र म सहित तीन जना महिलाले बच्चा जन्माउने पालो तय गरेका थियौं । पहिले बच्चा भृकुटीले जन्माउने, दोस्रोमा रुपाले किन भने भृकुटी दिदी पछि रुपाको विवाह भएको हो । तेस्रोमा बच्चा जन्माउने पालो मेरो थियो । अछामको तुर्माखादमा भएको बैठकमा यो छलफल भएको थियो । तर मैले रुपासँग तपाईभन्दा पहिले म बच्चा जन्माउन चाहन्छु भनेर अनुरोध गरें । त्यसलाई उहाँले स्वीकार्नु भयो । तीनओटी महिलाले लगभग एउटै समयमा बच्चा जन्माउँदा महिला नेतृत्वको निरन्तरतामा बाधा हुने भएकाले हामीले आपसी सहमतिमा त्यो विधि सुझाएका थियौं । 

गर्भवती भएपछि महिलालाई चक्कर लाग्छ, बान्ता हुन्छ भन्ने सुनेकी थिएँ । तर मलाई त्यस्तो केही हुँदैन थियो । महिनावारी रोकिएको छ । म मनमनै प्रश्न गर्थें, गर्भवती हुँदा महिलामा जे लक्षण दखिन्छ, त्यो ममा किन देखिएको छैन ? तर मेरो कौतुहलताको हल गरिदिने त्यहाँ कुनै डाक्टर थिएन । त्यही बेला म अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सेती महाकालीकोे संयोजक भएर कैलाली जानु पर्ने भयो । नयाँ भूगोल भएकोले पहाडबाट तराईमा झरेर काम गर्नु ज्यादै कठिन थियो । ज्यान जोगाउनै गाह्रो । निश्चित सेल्टरहरु हुन्थे । नयाँ हुँदा त्यसको राम्रो जानकारी हुँदैन थियो । फेरि हाम्रो आधार क्षेत्र थारुहरुको बस्ती थियो । मेरो अनुहार, बोलीचाली थारुसँग नमिल्ने । न त उनीहरुको खानपान नै मिल्ने । गर्भमा रहेको बच्चा कसरी बाँच्ला भन्ने चिन्ताले ग्रसित पार्न थाल्यो । 

गर्भवती भएको तेस्रो महिनामा मेरो वजन ३५ केजीे थियो । मलाई एकचोटी राम्रोसँग डाक्टरबाट चेकअप गराउन मन लाग्यो । तर त्यो संभावना कम थियो । म दिनदिनै शारीरिक रूपमा कमजोर हुँदै गइरहेकी थिएँ । मेरो नर्मल डेलिभरी हुन सक्दैन होला भन्ने लाग्थ्यो । तर, त्यो भन्दा बढी बच्चा बाँच्छ कि बाच्दैन भन्ने चिन्ताले नै हरदम सताउँथ्यो । गर्भवती महिलाले आयोडिनयुक्त नुन नखाए उसबाट जन्मने बच्चा मन्दबुद्धिको हुन्छ भन्ने मैले सुनेकी थिएँ । मैले महिनौदेखि आयोडिन युक्त नुन खानै पाएको थिइन । गाउँमा ढिक्का नुन खान्थ्यौं । बेलामा पोषणयुक्त खाना पाउने कुरै थिएन । मेरो बच्चा मन्दबुद्धिको होला भनेर डर लाग्थ्यो । 

बल्लबल्ल विक्रमजी र म समय मिलाएर धनगढी नजिक भारतको पलिया भन्ने ठाउँमा जँचाउन गयौँ । क्लिनिकमा एकजना महिला डाक्टर थिइन् । मैले डाक्टरलाई भने, ‘आइ थिंक आइ एम प्रेगनेन्ट ।’ उनलाई म उमेर नपुगेको बच्ची जस्तो लागेछ, ट्व्वाल परिन् । एकछिन पछि तपाईको पिसाब चेक गर्नुपर्छ भनिन् । मैले हिन्दीमा भने, ‘मुझे पता है कि मै माँ बन्नेवाली हुँ, आप मेरे चेकप किजिए ।’ ती डाक्टर नै पहिलो मान्छे थिइन जसलाई मैले आफू आमा हुन लागेको हाँकका साथ बताएको थिएँ । त्यो ‘माँ’ भन्ने शब्द आफैंलाई एकदमै राम्रो लाग्यो । त्यो शब्द उच्चारण गर्दा ज्यादै खुशी लाग्यो । त्यसपछि उनले सोनोग्राफी गराउन लगाइन । रिपोर्ट राम्रो आयो । बच्चा ठीक अवस्थामा रहेको थाहा पाएँ ।  

त्यतिबेला मेरो वजन ३० केजी पुगेको थियो । डाक्टरले टनिक र औषधी खान रेफर गरिन् । त्यहाँबाट फर्केर विक्रम र म आ–आफ्ना कार्यक्षेत्र लाग्यौं । डाक्टरले रेफर गरे अनुसार किनेको औषधी विक्रमको झोलामा पर्यो । औषधी, टनिक केही खान पाइएन । डाक्टरले खानु पर्ने कुराको चार्ट नै दिएकी थिइन् । तर त्यसमा भनेको एउटा कुरा पनि खान पाइन । खान पाइने एउटै चीज थियो, चाउचाउ । पानी र चाउचाउ खायो, हिंड्यो । गाउँका महिलाहरुले गर्भवती भएको बेलामा भोको बस्न हुँदैन भनेर कहिलेकाहीँ रोटी अलि बढी दिन्थे । त्यही रोटी अर्को पटकलाई खान राख्यो र कतै चिया पाइयो भने चीयामा भीजायो, खायो । आफूलाई भने इड्ली खान मन लाग्ने, कहाँबाट पाइयोस् त्यहाँ इड्ली ! कसैले मिठो पकाएर खान दिए हुने भन्ने लाग्ने तर आफूले सोचे जस्तो नहुने । ६ महिनाको गर्भवती हुँदा मात्रै टनिक खान पाएँ । 

पलियाबाट फर्केपछि धेरैले मलाई सोधे, ‘छोरा कि छोरी, के छ ?’ मैले यो प्रश्नको अपेक्षा गरेकै थिइन । मलाई यो प्रश्नले गम्भिर बनायो । आखिर, यो प्रश्न नै किन गरियो ? केही साथीहरुले गर्भमा रहेको बच्चाको लिङ्ग पनि परिक्षण गराएछन् । एक जना साथीले त पहिलो बच्चा छोरा नै हुनुपर्छ भनेर उनकी श्रीमतीलाई दबाब दिएछन् । उनकी श्रीमती मसँग आएर रोइन् । मैले उनलाई  तपाईचाहिँ के चाहनुहुन्छ भनेर सोधें । उनले छोरा वा छोरी जे भए पनि हुन्छ भनिन् । जनयुद्धले महिलामा धेरै परिवर्तन ल्यायो जस्तो लाग्छ तर, त्यही मात्राको परिवर्तन पुरुषमा ल्याउन सकेन भन्ने महसुस भयो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सेती महाकालीे ब्यूरोको संयोजक बनेपछि ९ ओटा जिल्लाको जिम्मेवारी बहन गर्नुपथ्र्यो । म ७ जिल्ला पैदल हिडेरै पुगें । आफू गर्भवती छु भन्ने मनमा राखें तर काम गरीरहें । सम्हालिएर हिड्नुपर्छ, लड्नु हुदैन, कम हिड्नुपर्छ भनेर सोच्थें । समयमा खाना खान नपाउँदा कसैले थाहा नपाउने गरी रुन्थें । आज मेरो बच्चाले खान पाएन भन्ने लाग्थ्यो । गर्भवती भएका बेला महिलाहरु बढी नै भावुक हुने रहेछन !

यसैबीच एक दिन हामी कैलालीबाट कन्चनपुरतर्फ मोटरसाइकलमा जाँदै थियौं । सेनासँग जम्काभेट भयो । मोटरसाइकल चलाउने साथीले जंगलको बाटो मोटरसाइकल अन्धाधुन्ध दौडाए । जंगलमा गएर मोटरसाइकल दुर्घटना भयो । एउटै मोटरसाइकलमा हामी तीन जना थियौ । सेनाले भेट्ला भन्ने भयले यताउति हेरें । मैले सोचें, अब मेरो बच्चा गयो ! अब खतम भयो ! यति जोडले लडेपछि बच्चा कसरी बाँच्छ ? मुस्किलले उठेर फेरि मोटरसाइकलमा बस्यौं र कन्चनपुर पुग्यौं । 

१२ बुँदे सहमति हुनु अगाडि पार्टीभित्र चरम अन्र्तसंघर्ष थियो । त्यसबेला केही मान्छेबाट छुद्र व्यवहारको सामना गर्नु प¥यो । नेताहरुलाई रिपोर्टिङ्गका लागि फोन गर्न कैलालीको पहलमानपुर मोटरसाइकलमा जाँदै थियौ । मोटरसाइकल चलाउने साथीले जानीजानी मोटरसाइकल खाल्डाखुल्टीमा हाल्न थाले । त्यसै पनि पहिले मोटरसाइकल दुर्घटनामा परेकोले मोटरसाइकल चढ्न डर लाग्ने । फेरि भएन, यस पटक पनि मोटरसाइकलमा हामी तीन जना नै थियौं । मेरो पेट बढ्दै गएको थियो । मलाई मोटरसाइकलमा अडिन नै गाह्रो भयो । मेरो पछाडि नेता शरदसिंह भण्डारी हुनुहुन्थ्यो । शरद दाईले म लड्छु भनेर च्याप्प समाउनु भएको छ । मोटरसाईकल चलाउने साथी जुन नेताको स्टाफ हुनुहुन्थ्यो, उहाँसँगनै मेरो वैचारिक अन्तरसंघर्ष चलिरहेकाले, उनले रिसाएर मोटरसाइकल अप्ठ्यारो बाटोबाट चलाएको म बुझ्न सकथें । तर, ती साथीमा सैद्धान्तिक अन्तरसंघर्षबारे ज्ञान नै थिएन । उनीसँग विवाद गर्नुको पनि तुक थिएन । 

अन्र्तसंघर्षकै कारण प्रतिशोध साँध्ने काम फेरि पनि भयो । मलाई कम्पनीको कमान्ड बनाएर मोर्चामा पठाउने निर्णय गरियो । धेरै कमजोर थिएँ, खान नपाएर । कम्ब्याट ड्रेस, जुत्ता मोजा लगाएको थिएँ । अरु दिन १३/१४ घण्टा हिंड्ने हामी, त्यसदिन सात आठ घण्टा मात्र हिडियो होला । एक ठाउँमा थकाई मार्न टुकरुक्क बसेर चाउचाउ खाँदै थियौ । मेरो रक्तस्राब भएछ, मैले पत्तो पाइन । पींडुलाबाट रगत बग्दै कुर्कुचामा आएर टाटा बसेको रहेछ । रोशन (लक्ष्मण थारु) जीले मेरो रगत देखाउनु भयो । मलाई के भएको हो भन्ने नै थाहा थिएन । जुका लागेको होला भन्ठानें । रोशनजीले जुका त तराईमा लाग्दैन भन्नु भयो । जुत्ता खोलेर हेर्छु, जुत्ताभरी रगत छ । कम्ब्याट माथि सारेर हेर्छु त रगतै रगत, अनि मात्रै मैले कुरा बुझें । 

म गर्भवती छु भन्ने त्यो कमान्डमा कसैलाई थाहा थिएन । एक छेऊमा तानेर रोशनजीले फेरि सोध्नुभो । मैले गर्भवती भएको बताएँ । ‘प्रेग्नेन्ट भएर यो मोर्चामा आउनु भनेर कसले भन्यो ?’ जोडले हर्पानु भयो, ‘अब चारजना मान्छे तपाईलाई हेर्न चाहिन्छ ।’ मैले भनें, ‘नेतृत्वले खटाएपछि आउने त हो ।’ उहाँले रिसाउदै  खुब गाली गरिरहनुभयो । त्यसपछि उहाँले नै मलाई थारुको घरमा लगेर राख्नु भयो । थारुको गुरुवा बोलाएर देखाउनु भयो । गुरुवाले राम्रो स्याहार गरे । जडिबुटी खान दिए । त्यति बेला पनि मलाई बच्चा गयो भन्ने भयो । एक रात हामी त्यहीं बास बस्यौं । तर अर्को दिन योजना एक्सपोज भयो । त्यसैले त्यो टिम फक्र्यो । साथीहरुले मेरो नाम पनि फलानो ठाउँसम्म पुगेर आई भनेर रिपोर्टिङमा राखे । उनीहरुले सहयोग गरे । एउटाले पेल्न खोज्यो, अर्कोले संरक्षण गर्यो ।

१२ बुँदे समझदारी पछि ०६२/०६३ को जनआन्दोलन वरिपरि हामी तराईको सहर आसपासमा केन्द्रित भएका थियौं । मेरो पेट बढ्ने क्रम जारी थियो । एक दिन मसुरियाको कपडा सिलाउने पसलमा कुर्ता सिलाउन गएँ । कपडा पसलेले नाप लिन थाल्यो । मैले अझ ठूलो अझ ठूलो भन्दै गएँ । उसले कति ठूलो बनाउने हो भनेर सोध्यो । मैले भर्खर ४ महिना चल्दैछ भनें । मेरो पेट ९ महिनासम्म कति ठूलो हुन्छ, त्यही अनुसार सिलाउनुस् । पसले मरीमरी हाँस्यो । त्यस्तो पनि कहाँ हुन्छ ? कसैको पेट अलि ठूलो हुन्छ कसैको सानो । त्यसरी कहाँ सिलाउन सकिन्छ ? उसले भन्यो । प्रत्येक महिना पेट बढ्दै जाँदा कपडा कसिलो भयो भने मसँग नयाँ नयाँ कपाडा सिलाउन सक्ने अवस्था थिएन । तपाईंले नै बिचार गरेर ९ महिनासम्म पुग्नेगरी सिलाउनुस् भनें । उसले एक छिन बिचार गरेर ठूलो कुर्ता सिलाउने निधो गर्यो । 

२०६३ को जनआन्दोलनपछि हामी खुल्ला भयौं । धनगढीमा एउटा कोठामा महिलाको कार्यालय खोलिएको थियो । दिउँसो त्यो कोठामा कार्यालय संचालन गथ्र्यौ । राती केही महिलाहरु त्यहीं सुत्थ्यौं । धनगडीको प्रचण्ड गर्मी । सबका जुम्रा एक अर्कामा सरे । अनि एक दिन एकजना थारु बहिनीले ३ घण्टा लगाएर मेरा जुम्रा निकालिन् । तर, टाउकोमा जुम्रा अझै बाँकि नै थिए । साथीहरुले औषधि प्रयोग गर्न सल्लाह दिए । बच्चालाई समस्या होला भनेर मैले टाउकोमा औषधी लगाउन मानिन । औषधी त छुन पनि डर लाग्थ्यो । सब कुरा उही बच्चामा गएर जोडिन्थ्यो । 

मेरो बच्चा पाउने समय नजिकिंदै थियो । मानसिक रुपमा आफूलाई तयार गर्दै थिएँ । इच्छा त थियो, मुम्बाई गएर बच्चा पाउँ । तर त्यो असंभव थियो । वातावरण सहज हुँदै गएको थियो । म बच्चा पाउने छु भन्ने थाहा भएका साथीहरुले भेट्न आउँदा खाने कुरा, फलफूल लिएर आउँथे । हामी जनताकै घरमा बाँढेर खाना खान्थ्यौं । मेरो वजन ३८ केजी पुगेको थियो । साथीहरु अझ वजन बढाउनुस, ५० केजी पुग्नुपर्छ भनेर सल्लाह दिन्थे ।  त्यति बेला अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्मेलन काठमाडौँमा गर्ने तयारी चल्दै थियो । काम गरेर फुर्सद नै नमिल्ने । 

शिरिश भन्ने साथी धनगढीमा दुईओटा कोठा लिएर बसेका थिए । बच्चा पाउने डेट नजिकिंदै गर्दा उनले मलाई एउटा कोठा छोडिदिएका थिए । डाक्टरले दिएको डेट नाघेको दुई-तीन दिन भैसकेको थियो । ब्यथा लागेपछि अरु महिलालाई जे हुन्छ भनेर सुनेको थिएँ, त्यस्तो केही भएन । एक दिन राती अलि अलि कम्मर दुख्यो । मैले त्यही घरमा पसल गरेर बस्ने एकजना दिदीलाई कम्मर दुखेको बताएँ । ती दिदीले मर्ने गरी दुखेपछि मात्र बच्चा जन्मन्छ भनिन् । मर्नेगरी त दुख्या छैन या फेरि मलाई जसरी दुखीरहेको छ, त्यही पो हो की मर्ने गरी दुखेको ! थाहा भएन । म असमन्जसमा परें । 

कम्मर दुख्न कम भएन । पटपटक ट्वाइलेट गएँ । बच्चा जन्मने बेला देखिने लक्षणहरु मलाई सिकाइएको थियो । त्यस्तो केही लक्षण नै छैन । अर्को दिन बिहान शिरिशले अप्ठ्यारो छ कि भनेर सोधे । मैले तिनै दिदीले भनेका कुरा सुनाइदिएँ । कति खेर मर्नेगरी दुख्छ र डाक्टरकहाँ लैजाउँला भनेर उनी पर्खि बसेका थिए । 

उनलाई कोठामा छोडेर म महिला कार्यालय पुगें र त्यहाँबाट रिक्सामा बसेर सेती अन्चल अस्पताल गएँ । त्यहाँ कसलाई भट्ने, केही थाहा थिएन । म सोध्दै प्रसूती वार्डमा पुगें । मैले आफ्नो अवस्थाको बारेमा जानकारी गराएँ । एउटी नर्सले झर्कंदै डेट कहिले छ भनेर सोधिन् । मैले डेट त दुई तीन दिन आगाडि नै थियो भनेर बताएँ । भित्र महिलाहरु रोइकराइ गरेको आवाज आइरहेको थियो । कोही प्रसव बेदनाले हेन्डलमा समाएर कराएको, कोही रोएको देखें । यी सब बच्चा पाउन लागेका हुन् ? मैले ती नर्सलाई सोधे । उनले मुन्टो हल्लाइन् । 

डाक्टर आएर मलाई जाँचे । एकजना नर्सलाई अह्राउँदै भने, ‘यसलाई अपरेसन थिएटरको कपडा लगाइदेउ ।’ डाक्टरले मेरा आफन्तबारे सोधे । अपरेसनको पेपरमा हस्ताक्षर गर्नुपर्ने रहेछ । मैले म आँफै गर्छु भनें । जसको अपरेसन, उसैले हस्ताक्षर गर्न मिल्दैन भने । मेरो निधारबाट चिटचिट पसिना आउन लाग्यो । मेरा शरीर काम्न थाल्यो । मैले डाक्टरलाई प्रश्न गरें, ‘अपरेसन किन गर्ने ?’

बच्चाको मुटुको ढुकढुकी एकदमै लो भैसकेको जवाफ दिए डाक्टरले । अपरेसन नगर्दा मलाई र बच्चा दुवैलाई खतरा हुने बताए । मैले डाक्टरलाई आवेशमा आएर हकारें । मलाई लाग्यो, केही गडबडी थियो भने मलाई अप्ठ्यारो हुन्थ्यो । डाक्टरले मलाई खुरुक्क कपडा लगाएर अपरेसनका लागि तयार हुन भने । नर्सहरुले मलाई कपडा लगाइदिए, सलाइन चढाए । मलाई धेरै डर लाग्यो । डरले नै होला, मलाई ट्वाइलेट जान मन लाग्यो । एउटी नर्सले डरको कारण त्यस्तो भएको हो भनिन् । तर, मैले उल्टै प्रश्न गरें ‘ट्वाइलेट तपाईलाई लागेको छ कि मलाई ?’ ती पनि चर्को स्वरमा बोलिन्, ‘जा जा ।’ कमोडमाथि बसेर मैले सयौं पटक एउटै वाक्य दोहोर्याएँ, ‘बी प्रीपेयर्ड फर अपरेसन ।’

अपरेसन गर्न तयार हुँदै गर्दा झट्ट मनमा एउटा कुरा आयो । मलाई केही भयो भने मेरो बच्चालाई सम्हाल्ने त कोही पनि छैन । एकै चोटि के गरौँ, के गरौँ जस्तो भयो । चिच्याउन मन लाग्यो, रुन मन लाग्यो । अपरेशन छिटो गर्नु छ भन्ने पनि लाग्यो । डाक्टर त अपरेशन छिटो गर्नुपर्छ भनेर तयारी गर्दै थिए । तर संजोगले मैले त्यहाँ अग्नि दाइलाई देखें । मैले उहाँलाई अपरेसन हुन लागेको आतिएर बताएँ । उहाँ पनि आतिनुभो । 

अग्नि दाईले पेपरमा सहि गर्नुभो । त्यसबेला मलाई विक्रमको धेरै सम्झना आयो । यो मान्छे कहाँ गयो ? रिस पनि धेरै उठ्यो । कसैले भनेको नसुनि म अस्पतालको कम्पाउड बाहिर आएँ र त्यहाँको गेटसँगै जोडिएको पसलबाट अखण्ड सरलाई फोन गरें । सलाइनको बोटल रगतले आधी भरी सकेकोे थियो । मैले एकै सासमा सम्पूर्ण कुरा बताएँ ।  

त्यहाँ डाक्टरहरु तयार थिए । एसी चलेको छ तर मलाई धेरै गर्मी महसुस भैरह्यो ।  एक जना नर्सले मलाई धेरै माया गरिन् । केही हुदैन नानु नआतिऊ भनेर ढाडस दिइन् । एउटा इन्जेक्सन लगाए । मेरो कम्मर धेरै जोडले दुख्यो । ती माया गर्ने नर्सलाई दिदी मेरो कम्मर जोडले दुखदैछ भनें । तिमीलाई ब्यथा लागेको छ भनीन् । मलाई अच्चम लाग्यो, यस्तो पो हुने रहेछ व्यथा ! यो त मलाई दुई दिनदेखि भैरहेको थियो । 

मैले थाहा पाउँदा पाउँदै, अपरेसन भयो । तन्द्रा जस्तोमा बच्चा रोएको सुनें । ठूलो धोतीमा बच्चालाई गुटमुट पारेर राखेको देखें । बच्चा त एकदम गुलाबी रंगको देखें । आखा बन्द गरेर चुपचाप सुतेको छ । म आनन्दित बनें । आमा बनें भन्ने वोध भयो । खुशी लाग्यो । 

सुत्केरी भएपछि धेरै रक्तस्राब हुन्छ र त्यसबेला लगाउन चाहिन्छ भनेर दुईओटा धोती किनेको थिए । तर त्यसबेला त धेरै चिजहरु चाहिने रहेछ । बच्चालाई टालो चाहिने रहेछ । त्योसम्म पनि मसँग थिएन । 

बच्चा जन्मेपछि पनि मलाई पेट दुख्थ्यो । राती असह्य भएर दुख्ने यो दुखाई सहनुभन्दा कोही आएर मलाई मारिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो इन्जेक्सनको असर हो भन्थे । बच्चा जन्मेको दिनदेखि केही खाएको छैन । टाँका लगाएको ठाउँमा दुख्छ भनेर खान नदिने । पानी मागे पनि कपास भिजाएर ओठमा दलिदिन्छन् । चौथो दिन मलाई कालो चिया पिउन दिए । त्यसपछि विस्तारै खाना खान दिए । मेरो खाना बनाएर ल्याइदिने कोही छैन । महिलाको सम्मेलनको तयारी थियो । पार्टीको मान्छे आ–आफ्नो काममा व्यस्त थिए । अहिले जस्तो मोबाइल फोन हामीसँग थिएन । मेरो बेडसँगै एक जना महिलाले पनि छोरी पाउनु भएको थियो । उहाँको सासूले मलाई पनि आफ्ना बुहारीलाई ल्याएका खाना खानु दिनुभयो । 

बच्चा जन्मिएपछि उसलाई स्याहार सुसार गर्ने र हुर्काउने बढाउने जिम्मेवारी म एक्लैले निभाउनु पर्छ भन्ने मानसिकता मैले बनाएको थिइन । यो श्रीमान श्रीमतिको समान दायित्व हो भन्ने मैले बुझेको थिएँ । तर अचानक सबै बच्चाको पालनपोषणको जिम्मेवारी मेरो काँधमा आयो । बच्चाको सम्पूर्ण खर्चवर्च म एक्लैले जुटाउनु पर्ने अवस्था आयो । तर, आफ्नो कुनै आयस्रोत छैन । शरद दाईले दिएको पैसा केही दिनमा नै खर्च भयो । पैसाको अभावमा सस्तो आलु किनेर नुनसँग नानीलाई खुवाएको तीतो अनुभव छ । अरुसँग सापटी माग्दै बच्चालाई दूध किनेर खुवाएको थिएँ ।

आर्थिक संकट उस्तै थियो । काठमाडौँमा महिला सम्मेलन सुरु भयो । म १० दिनको बच्चा बोकेर सम्मेलनमा आएँ । मेरो बच्चाको निहुँ देखाएर स्थानीय नेतृत्वले मलाई महिला संगठनबाट हटाए । पार्टीमा कुनै जिम्मेवारी दिइएको थिएन । जिम्मेवारीबाट हटाइएपछि म चरम निराशामा डुबें । त्यसमाथि राम्रोसँग खानसम्म नपाएकी बच्चीलाई निमोनिया भयो । श्रीमानले साथ दिएको छैन, स्थानीय पार्टीको नेतृत्वले पेलेर लगेको छ, बच्चा बिमारी भएकी छ । त्यो मेरो व्यक्तिगत र राजनीतिक जीवनको कठिनतम समय थियो । 

विक्रमजीको बुझाइमा दुईजना मध्य एकजनाले मात्र राजनीतिमा निरन्तरता दिनुपर्छ भन्ने बनिसकेको थियो । त्यो एक मात्र भनेको स्वभाविक रुपमा लोग्ने अर्थात उहाँ नै हो । बच्चाको पालनपोषणको जिम्मेवारीबारे छलफल हुँदा उहाँले महिलाको ऐतिहासिक र प्राकृतिक जिम्मेवारी म खोस्न चाहन्न भन्ने गर्नुहुन्थ्यो । त्यो मजाकले मलाई धेरै इरिटेट गथ्र्यो । त्यसैले अब हाम्रो सम्बन्ध अगाडी जान सक्दैन भन्ने मनस्थिति बनाएँ । पार्टीका विभिन्न जिम्मेवारी वहन गर्दै र जनयुद्धका बेला रणनीतिक महत्व रहेको डोटी जिल्लाको इन्चार्ज समेत सम्हालेको मान्छेको राजनीतिक अवसान यसरी हुन सक्छ ? के यो मेरो राजनीतिक यात्राको अन्त्य हो ? मुम्बाईमा हुर्कदै गरेकी म जनयुद्ध लड्न नेपाल आएकी यसरी नै विचलित भएर बस्न हो ? मैले धेरै सोचबिचार गरेर एउटा निर्णय लिएँ र बच्चा पुर्याउन मुम्बाई गएँ जहाँ मेरी आमा हुनुहुन्थ्यो ।

श्रीमान श्रीमतिको हैंषियत बराबर हुने हो भने, महिलाको राजनीतिक जीवनमा बच्चा बाधक हुँदैन । वाधक त बरु पीतृसत्तात्मक सोच नै हुन्छ । मैले वाधा पन्छाएँ, राजनीति जारी राखें । हाम्रो समाजमा महिलाले राजनीति गर्नु आँफैमा चुनौतीपूर्ण काम हो । जब राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ र जब विरोधीहरुसँग महिलाका बिरुद्ध प्रहार गर्ने कुनै राजनीतिक हतियार बाँकी रहदैन, त्यसबेला दुइओटा हतियार प्रयोग गरिन्छ । पहिलो, अनेक लाञ्छना लगाएर उसको चरित्रहत्या गरिन्छ । दोस्रो, परिवार र बच्चा माथिको ‘ऐतिहासिक र प्राकृतिक जिम्मेवारी’को दुहाई दिंदै महिलालाई राजनीति त्याग्न विवश बनाइन्छ । राजनीति गर्नु भनेको समाजप्रतिको दायित्व पुरा गर्नु हो । दायित्व पुरा गर्ने बाटोमा गलत परम्परा तगारा बन्छन् भने, त्यस्ता तगारा भत्काउने जिम्मा पनि हाम्रै हो ।

*कभर फोटो: केभीन बुब्रीस्किको 'माओवादी' नामक फोटो किताबबाट साभार गरिएको हो ।

निरन्तर रेकर्ड