राष्ट्रियताको वहसः केही घर्षणहरु

राष्ट्रियताको वहसः केही घर्षणहरु

खासखास विशेषता भएको उत्पीडित जातिविशेषको पहिचानको सम्मानार्थ जातिको नामबाट प्रदेशको नाम राखिनुको तात्पर्य जातीय सङ्घीयतामा जानु किमार्थ होइन

खगेन्द्र संग्रौला १९ भाद्र, २०७२

‘म त नेपाली’ / ‘हामी मधेसी’

विषयलाई दुईवटा दृष्टान्तको ऐनामा हेरौँ । कुनै एउटा नेपाली टिभी च्यानलको विज्ञापनमा प्रशान्त तामाङ भन्छन्— ‘गर्व लाग्छ मलाई नेपाली हुनुमा ।’ त्यसपछि श्री तामाङ उच्चाटलाग्दो लेग्रे स्वरमा ‘म त नेपाली’ भन्दै हावामा बाँकटे हान्छन् । यहाँ ‘नेपाली’को अभिप्राय विविधतायुक्त नेपालका बहुविध पहिचानहरुको उपेक्षाद्वारा निर्मित एकात्मक र असहिष्णु चरित्रको सनातनी ‘राष्ट्रियता’ हो । सङ्घीयताको दावी गर्दै उठेको मधेस आन्दोलनकालमा मधेसदेखि काठमाडौँसम्मका भित्ताहरुमा एउटा नारा देखापरेको थियो— ‘गर्व से कहो, हम मधेसी छी ।’ पहाड र मधेसका यी दुई आग्रह आपसमा ठाडै बाझ्छन् । पहिलोमा वर्चस्वशाली एकांकी राष्ट्रियता माथिबाट तल थोपर्ने जिद्दी छ, र दोस्रोमा राष्ट्रियताको परिभाषालाई विनिर्माण गरी रैथाने जगबाटै माथि उठाउने आकाङ्क्षा छ । पहिलोले जातीय एवं क्षेत्रीय समुदाय विशेषको रैथाने  पहिचानलाई निषेध गर्छ र दोस्रोले रैथाने पहिचानसहितको नेपालीत्वको दाबी गर्छ । प्रायोजित एवं सुगठित अभियानद्वारा निर्मित प्रशान्त तामाङरुपी ‘आदर्श’ बिम्बमा बाँकी सबैका पहिचानलाई आफ्नै पहिचानको सङ्कुचित वृत्तभित्र विलय गर्ने आत्मकेन्द्रित हठ निहित छ । यो हठ अभिव्यक्तिको न्यूनाधिक पृथक् स्वरुपमा कथित मूलधारका मिडियाभरि नै व्याप्त छ । ‘हम मधेसी छी’को दाबी यो हठको अस्वीकृतिमा उठेको वागी आवाज हो । मधेसी, किराँती, लिम्बू, तमु, तामाङ, मगर, थारु, मुसलमान, इसाई आदि इत्यादि समुदाय आ–आफ्नो आदि पहिचानसहित नेपाली पहिचानमा विस्तारित हुन चाहन्छन् । तर, प्रशान्त प्रवृत्तिले यो चाहनामा तुषारापात गर्छ । बस्, यो द्वन्द्वको चुरो कुरो यही हो । राष्ट्रियताको बहसभरि नै यी दुई आग्रहमाझ भीषण झडप चलिरह्यो ।

उत्पीडनको तृष्णा / उन्मुक्तिको चाहना

सङ्घीयताको आकाङक्षालाई उपेक्षा गर्दै सार्वजनिक गरिएको अन्तरिम संविधान च्यातेर उठेको मधेस आन्दोलन उत्कर्षतिर पुग्न लाग्दा नागरिक आन्दोलनको टोली मधेस दौडाहामा निस्क्यो । टोलीको पहिलो बास नवलपुरमा भयो । आन्दोलनको प्रकृति र प्रवृत्तिबारे चर्चा चल्दा एक बृद्ध ब्राह्मणले बडो खिन्न स्वरमा भनेथे— ‘हैकम चलाउन भनेर पहाडबाट झरिया थ्यो, यी: यस्तो गति भो !’ अर्कोतिर, राष्ट्रियताको बहसमा आफूमाथि भएको उत्पीडनको प्रसङ्गमा मधेसी सहभागीहरुले यत्रतत्र इतिहासको एउटा कटु अनुभवको स्मरण गरेको म सम्झन्छु । श्री ३ को हैकमभरि मधेस–तराईका बासिन्दाले शिवरात्रिको मेला भर्न काठमाडौँ आउँदा फिमफेदीमा राहदानी लिनुपथ्र्यो । मेला सकिएपछि राजधानीलाई बिटुल्याउलान् भनेर प्रहरीले तिनलाई खोजीखोजी पक्रेर उपत्यकाबाट बाहिर लखेट्थ्यो । ऊबेला उर्बर मधेस–तराई त नेपालै थियो तर त्यो माटोका बासिन्दा भने अनेपाली एवं अनागरिक परचक्री थिए । अभिव्यक्तिको रुप फेरिए पनि मधेसी–तराइबासीलाई हेर्ने त्यो दृष्टिकोणमा अझै तात्विक अन्तर आएको छैन । यसबारे नवलपरासीका बाको वचनले धेरै कुरा भन्छ । उता मधेसी–तराईबासीहरु इतिहासको त्यो अपमानकारी व्यवहार सम्झँदै हुङ्कार गर्छन् । नवलपुरका बृद्ध बाको दुखेसोमा उत्पीडनको तृष्णा अझै तृप्त नभएको छनक पाइन्छ । र, मधेसी–तराईबासीको हुङ्कारमा उत्पीडनको पीडा र मुक्तिको आकाङ्क्षा गुन्जिन्छ । राष्ट्रियताको बहसमा यो तृष्णा र यो आकाङ्क्षाबीच कतै प्रस्ट र कतै प्रतीकात्मक रुपले द्वन्द्व भइरह्यो ।

दौरा–सुरुवाल राष्ट्रवादी/अन्य पोशाक के ?

खासगरी पहाडी क्षेत्र र अझ बढी चुरे भेगमा दौरा–सुरुवाल राष्ट्रिय पोशाक हुनैपर्ने आग्रह बलशाली रह्यो । दौरा–सुरुवालधारी राष्ट्रपति यादव र पूर्व प्रधानमन्त्रीद्वय नेपाल एवं खनाललाई भारी प्रशंसाका पात्र बन्ने सौभाग्य प्राप्त भयो, र पूर्व प्रधानमन्त्री प्रचण्डमाथि भत्र्सनाको ओइरो लाग्यो । चुरे भेगको पहाडीबहुल एक बस्तीमा त दौरा–सुरुवालको चर्चाले बहसको झन्डै एक दशांश समय खाइदियो । दौरा–सुरुवाल रहे विश्वमा नेपालको पहिचान रहन्छ, नरहे नेपालको पहिचान सत्यानाश हुन्छ । वक्ताहरुको उत्तेजक बाक्प्रवाहमा अन्तरनिहित तत्व करिब–करिब यस्तो थियो । एकजना विद्वान्को बिछट्टको कथन मेरा कानमा अझै गुन्जिरहेछ । मधेसी राष्ट्रपति रामवरण यादवले दौरा–सुरुवाल लगाउनु हुने, बाँकी मधेसीहरुले चाइने किन लगाउनु नहुने ?

चाखलाग्दो कुरा के भने लगभग सवा सय सहभागी भएको त्यो कार्यक्रममा एकजना दौरा–सुरुवालप्रेमीले पनि दौरा–सुरुवाल लगाउने लेठो गरेको थिएन । कुरो सुन्दा अरु–अरुले लगाइदिऊन् र दौरा–सुरुवालको राष्ट्रियता अमर रहोस् भन्ने जिरह मलाई अजीव लाग्यो । सहजकर्ता र संयोजकको आसनबाट गुरुगम्भीर मुद्रा रं विनम्र लबजमा मैले निवेदन गरेँ— बन्धु † मधेस–तराईका बासिन्दामाथि दौरा–सुरुवाल थोपेरर के तिनलाई गर्मी याममा सेकुवा बनाउन खोजिएको हो ? अनपेक्षित प्रश्न सुनेर बहसकक्ष स्तव्ध भयो । र, मौका छोपेर मैले ठट्टा गरेँ— दौरा–सुरुवालधारीमात्र राष्ट्रवादी तत्व हुने भए यहाँ भएका हामी सबै के हौँ ? सबका सब अराष्ट्रिय तत्व ?

सभाकक्षको मौनताले मलाई आड दियो र मेरो तर्कको लहरो तन्कियो— स्थानविशेषको पोशाकको प्रकृति त्यहाँको हावापानीले निर्धारण गर्छ । अति जाडो हुने हिमाली भेगका बख्खु, दोचा र भुवादार टोपी, ठिक्क जाडो हुने पहाडी भेगका हिजोका भोटो–सुरुवाल वा दौरा–सुरुवाल वा भोटो–कछाड र उखर्माउलो गर्मी हुने मधेस–तराई भेगका पातला र खुकुला धोती–कुर्ता हाम्रा सामु छन् । पोशाक मर्यादा राख्ने र जाडो–गर्मीबाट जोगिने साधन मात्र नभई पहिचानसूचक संस्कृतिको अवयव पनि हो । जसले जे लगाउँछ, उसलाई त्यही सजिलो लाग्छ र उसलाई त्यही मनपर्छ । कुनै पनि पोशाक निरपेक्षरुपले उत्तम हुँदैन । सबै पोशाक आ–आफ्ना ठाउँमा उत्तम हुन्छन् । सबै पोशाकको आ–आफ्ना ठाउँमा इज्जत र गौरव हुन्छ । तसर्थ बहुभेषयुक्त नेपालमा कुनै एउटा पोशाक अन्य पोशाकधारीहरुमाथि थोपर्नु विविधताको सम्मान गर्नु हो कि विविधताको हुर्मत लिनु हो ? यो मेलमिलापको द्योतक हो कि द्वन्द्वका लागि जोरी खोजाइ हो ?

त्यसपछि मतान्तरबाट उत्पन्न तनावलाई साम्य पार्न म मनोविनोदतिर लहसिएँ । मुस्कानमय मुद्रामा भनेँ— दौरा–सुरुवाल लाउनु नै राष्ट्रवादी हुनु हो भने लगभग तीन करोड जनसंख्या भएको समकालीन नेपालका राष्ट्रवादीहरुलाई औँलामा गन्न सकिन्छ । यी विरल मानव दुई थरीका छन् । सदाबहार राष्ट्रवादी र पदीय राष्ट्रवादी । पूर्व महापञ्च सूर्यबहादुर थापा सदारबहार राष्ट्रवादी हुन् र शेरबहादुर देउवा हुन् करिबन सदावहार राष्ट्रवादी । रामवरण यादव, माधवकुमार नेपाल र झलनाथ खनाल पदीय राष्ट्रवादी हुन् । यी मानव पद पाए दौरा–सुरुवाल धारण गर्छन्, नपाए सर्ट–प्यान्ट वा धोती–कुर्ता हल्लाउँछन् । ल भैगो, दौरा–सुरुवालमार्गी यी इनेगिनेका महामहिमहरु त राष्ट्रवादी र देशभक्त रहेछन् रे लौ, अनि हिमाल, पहाड, मधेस–तराईका बाँकी जनहरु ? के बाँकी जनहरु सबै अनेपाली हुन् ? के बाँकी जनहरु सबै अदेशभक्त हुन् ? के दौरा–सुरुवाल इतरका सबै पोशाकहरु अराष्ट्रिय हुन् ?

जातिका कुरा नगर / जातिकै करा गरिन्छ

बहसमालामा घरिघरि उठेको एक उल्लेख्य बुँदा हो यो । बिर्तामोडको बहसमा यो बुँदाले उग्र घर्षणको रुप धारण गर्‍यो । जातिभन्दा माथि, क्षेत्रभन्दा माथि, वर्गभन्दा माथि र लिङ्गभन्दामाथि उठेर राष्ट्रिय अखण्डता र राष्ट्रिय गौरवको रक्षा गर । यो अर्ती बिर्तामोडभरि छताछुल्ल हुने गरी अभिव्यक्त भयो । महामहिम राष्ट्रपति रामवरण यादवको यो अति प्रिय अर्ती हो । त्यसैले त उनी जाति, क्षेत्र, वर्ग र लिङ्गभन्दा माथि उठ्ने अर्ती दिएर कहिल्यै थाक्दैनन् । माथि उठ्नुपर्ने यो आग्रहको अभिप्राय हो, राष्ट्रियताका सन्दर्भमा जे वर्चस्वशाली छ त्यसलाई नि:सर्त स्वीकार गर, जे छैन त्यसको लागि किचलो नगर । अर्थात् चलनचल्तीको नेपाली राष्ट्रियतालाई खुरुखुरु मानेर जुवामुनि नारिएको बूढो गोरुझैँ लुरुलुरु हिँड । यो आग्रहमा साँघुरो मानिएको नेपाली राष्ट्रिय पहिचानको पेटभित्र मुलुकका बाँकी यावत् राष्ट्रिय पहिचानहरुलाई कोच्ने र नेपाली समाजलाई अन्यायपूर्ण यथास्थितिको कैदी बनाइराख्ने जिद्दी ध्वनित हुन्छ । 

उत्पीडित जाति, क्षेत्र, वर्ग र लिङ्गहरुको उपस्थिति नेपाली समाजको कठोर यथार्थ हो । र, समावेशी राज्यव्यवस्था र शासन प्रणाली  एवं फराकिलो राष्ट्रिय पहिचानको निर्माण  परिवर्तनमुखी नेपालको अभीष्ट हो । सत्य के हो भने जसरी आफ्नै हातले आफ्ना कान समातेर कोही पनि हावामा उठ्न सक्दैन त्यसैगरी जाति, क्षेत्र, वर्ग र लिङ्गको यथार्थभन्दा माथि कोही पनि उठ्न सक्दैन । उठ भन्नु बकबास हो । 

जातिका कुरा नगर, अन्यथा मुलुक जातीय कलह र विखण्डनको दलदलमा फस्छ भन्ने आशयको प्रत्युत्तरमा बिर्तामोडमा सङ्घीय लिम्बुवान राज्यपरिषद्का अगुवा सन्जुहाङ पालुङ्वाले जातीय कुरा गरेरै छाड्ने दाबी गरे । उनको तर्कको मजबुन यस्तो थियो: लगभग अढाइ सय वर्ष देशको सत्ता, शक्ति, सम्पत्ति र संस्कृतिमा एकल जातिको हालीमुहाली कायम रह्यो । र, अन्य विविध जातिहरु वहिष्करण र वञ्चनाको अन्धाधुन्ध सिकार भए । देश सङ्घीयतामा जाने मेसो भनेको सत्ता, शक्ति, सम्पत्ति र संस्कृतिमाथिको हकको बाँडफाँट गर्ने अवसर हो । जो जातिका कुरा नगर भन्छ, ऊ जान–अन्जान यो बाँडफाँटको विरोधमा छ । ऊ जातीय कलह र राष्ट्रिय विखण्डनको हाउगुजी देखाएर खाईपाई आएको भुँडेभाग खाइरहन जिद्दी गर्छ । यो बहिष्करण र वञ्चनाको सिकार भएका जातिहरुले आफ्नो हक दाबी गर्ने र तिनलाई सिकार तुल्याउनेहरुले ऐतिहासिक दृष्टिबाट कठोर आत्मसमीक्षा गरी आफ्नो भूल महसुस गर्ने बेला हो । भूलकर्ताले इमानसाथ भूल महसुस गर्नु र भूलको सिकार हुनेले उदारतासाथ क्षमादान गर्नु अनि सत्ता, शक्ति, सम्पत्ति र संस्कृतिको हक बाँडचूँड गरी लोकहितकारी सङ्घीयताको जग बसाउनुमा नै राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको कल्याण छ । यसो नभए के हुन्छ ? श्री पलुङवाले प्रश्न गरे । अनि तिनले आफैँ उत्तर दिए— यसो नगरे सङ्घीयता र राष्ट्रिय एकता सोम शर्माको सातुको कथासरह हुन्छ ।

भानुभक्तको आरोपण / विद्यापतिको प्रतिकार

जनकपुर ओरपरका बहसहरुमा भानुभक्तको सालिकको कारुणिक कथा दोहोरिइरह्यो । कथा यस्तो छ । अन्धराष्ट्रवादी शाही पञ्चायतको पछिल्लो कालमा जनकपुर नगरीको नाभिस्थलमा नेपालीभाषी कवि भानुभक्तको सालिक खडा गर्ने यत्न गरिएछ । मिथिला सभ्यताका विभूति विद्यापतिका सांस्कृतिक सन्ततिहरुले त्यसको विरोध गरेछन् । र, कफ्र्यू लगाएर सङ्गीनको बलले विरोधलाई निरस्त तुल्याउँदै भानुभक्तको सालिक खडा गरिएछ । पछि ६२–६३ को आन्दोलनकालमा कफ्र्यूकै बीचमा त्यो सालिक ढालिएछ । यसरी कफ्र्यूदेखि कफ्र्यूसम्मको वीभत्स कथामा भानुभक्तको सालिक शेष भएछ । सनातनी राष्ट्रवादको चश्मा लगाएर नेपालीभाषी कोणबाट हेर्दा भानुभक्तको सालिकको विनाश जघन्य ज्यादती हो । तर, हेर्ने कोण अर्को पनि त छ । त्यो मैथिली भाषी रैथाने कोण हो । रैथाने नागरिकहरुको सम्मतिविना शक्तिको उन्मादमा भानुभक्तको सालिक खडा गर्ने धृष्टता गर्नु रैथाने भाषा र संस्कृतिमाथि बाहिरिया अहंकारको बलात् आरोपण हो । यहाँ म छु, त्यहाँ त्यो छ, ममा संवेदना छ, त्यसमा पनि संवेदना छ भन्ने बोध, सहिष्णुता र सहअस्तित्वको चेतना भइदिएको भए भानुभक्तको सालिकको हाराहारी विद्यापतिको सालिक खडा गरिँदो हो । अझ बेस त पहाडी मूल र मधेसी मूलका यी दुबै कविको हातेमालो गरेको सालिक खडा गरिँदो हो । तर, जातीय अहंकारले त्यसो गर्न दिएन । विद्यापति र तिनका सन्ततिहरुको सांस्कृतिक अस्मितालाई तिरस्कार गर्दै तिनका शिरमाथि बलात् भानुभक्त थोपरिए, थोपराइको प्रकृति जस्तो थियो आखिर परिणति त्यस्तै भयो । अर्थात् दमनको जबाफ प्रतिकार भयो । 

यो त भयो सांस्कृतिक आरोपणको केवल एउटा दृष्टान्त । सत्ताधारी वर्चस्वशाली संस्कृतिको थोपराइबाट रैथोन संस्कृति दमित भएका यस्ता कथा इतिहासमा कति छन् कति † जनजातिहरुका संस्कृतिका प्रतीक, गाथा र विभूतिहरु अङ्कित भएका खोलानाला, पाटीपौवा र चौतारी–देउरालीका नामको संस्कृतकरण गरी तिनको सांस्कृतिक अस्तित्व नै नामेट पार्न खोजिएको कथा झनै भयावह छ । सर्वसामेली राष्ट्रियताको निर्माण यस्तो थोपराइबाट होइन, सबै जातिका भाषिक र सांस्कृतिक पहिचानको आपसी सम्मान र स्वीकृतिमा मात्र सम्भव छ । भानुभक्तको सालिकको दारुण कथा सिक्नको लागि एउटा ठूलो पाठ हो ।

सांस्कृतिक राष्ट्रियता / राजनीतिक राष्ट्रियता

सांस्कृतिक राष्ट्रियता कि राजनीतिक राष्ट्रियता ? बहसमा यो प्रश्नले निकै नै उद्वेलन पैदा गर्‍यो । सांस्कृतिक राष्ट्रियताका पक्षधरहरु अतीतमुखी मुद्रामा प्रस्तुत भए । र, तिनले अतीतको ‘गौरव’को यादमा अहा † अहा † को उछ्वास व्यक्त गरे । अहा † भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाह । अहा ! भावनात्मक एकीकरणकर्ता भानुभक्त आचार्य । अहा ! वीर बलभद्र र अमरसिंह । अहा ! बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता ल्याउने जङ्गबहादुर । अहा ! राष्ट्रियताको मैलो गाड्ने महेन्द्र । अहा ! टिस्टा–काङ्गकडा । आहा ! नालापानी—कालापानी । अहा ! नेपाली भाषा, हिन्दु धर्म, दौरा–सुरुवाल–टोपी, आदि । उता राजनीतिक राष्ट्रियताका पक्षधरहरु भने भविष्यमुखी तसर्थ परिवर्तनकामी मुद्रामा प्रस्तुत भए । तिनको भन्नु यस्तो थियो: राष्ट्रियताका अवयवरुपी झन्डा, प्रतीक, गाथा र विभूतिहरुको चयनबाट मात्र साझा तथा सामेली राष्ट्रियताले सर्वाङ्ग रुप धारण गर्दैन । यी त केवल राष्ट्रियताका बोक्रे अलङ्कारहरु हुन् । साझा राष्ट्रियताले तबमात्र सारभूत रुप धारण गर्छ जब राज्य र र सरकारप्रति आम नागरिकमा अपनत्व, ममत्व एवं समर्पण भाव जागृत हुन्छ । 

एक मधेस–एक प्रदेश र जातीय अग्राधिकार: भय–उत्पादक दुई कारक

बहसमा एक मधेस– एक प्रदेश र जातीय अग्राधिकार भयका दुई कारकको औतारमा प्रकट भए । यो भयको प्रस्तुति दुईवटा पृथक् कोणबाट दुई पृथक् आशयले हुनगयो । सङ्घीयताका घोषित विरोधीहरुले यी दुई दाबीलाई जातीय दुर्भाव पैदा गर्ने र राष्ट्रिय विखण्डनमा बल पुर्‍याउने कारकका रुपमा अथ्र्याए । तर सङ्घीयताका पक्षधरहरुको चिन्ता भने सर्वथा भिन्न थियो । तिनको चिन्तालाई यसरी बुझ्न सकिन्छ । मधेस–तराई भाषागत, जातीय र सांस्कृतिक दृष्टिले एक प्रदेश होइन, बहुप्रदेश हो । यो बहुको एकमा जबर्जस्ती कोचाइको कामना कसरी विविधतामा एकताको द्योतक हुनसक्छ ? विभेदकारी र असहिष्णु केन्द्रीकृत एवं एकात्मक राज्यको विकल्पका रुपमा सङ्घीयता रोजिएको हो । तसर्थ केन्द्रीकृत र एकात्मक राज्यको विकल्प पुन: केन्द्रीकृत र एकात्मक राज्यै कसरी हुनसक्छ ? असल मनसाय भएका मानिसहरु आशङ्का प्रकट गर्छन् : एक मधेस–एक प्रदेशको दावीमा कतै हिजो तैँले मनपरी गरिस् अब पालो मेरो भन्ने भावना जानअन्जान प्रकट भएको त होइन ? मधेसी र थारु जुधेर तथा रैथाने मधेसी र आयातीत पहाडीले एकअर्कालाई देखी नसहेर कसरी बन्छ सङ्घीयता ? अनि कसरी खडा हुन्छ सहिष्णुता, सहकार्य र सहअस्तित्वयुक्त राष्ट्रियताको न्यायपूर्ण आधार ?

बहसमा जातीय अग्राधिकारको प्रश्न त झन् विवादको मसालै बोकेर उठ्यो । विवादको सार यसरी कहन सकिन्छ । बहुजातीय समाजमा बन्ने बहुजातीय सङ्घीयतालाई जातीय सङ्घीयता भनेर व्यर्थको विवाद रचियो । यो विवादको रचनामा राजनीतिक दलका नेताहरु र जनजाति अभियन्ताहरु दुबैको यथेष्ट  योगदान छ । जनजाति अभियन्ताहरुले अग्राधिकार दावी गरे, तिनको साखुल्य बन्न नेताहरुले केटाकेटीहरुलाई मिठाई बाँडेझैँ थपक्क अग्राधिकार बाँडे । खासखास विशेषता भएको उत्पीडित जातिविशेषको पहिचानको सम्मानार्थ जातिको नामबाट प्रदेशको नाम राखिनुको तात्पर्य जातीय सङ्घीयतामा जानु किमार्थ होइन । अग्राधिकार त झन् लोकतान्त्रिक मान्यताविपरीत कुरा हो । लोकतान्त्रिक निर्वाचनको परिणामले प्रादेशिक सरकारको नेतृत्वको निरुपण गर्छ । अनि निर्वाचन र अग्राधिकारको तालमेल कसरी हुन्छ ? के ठालुमुखी मनोनयकारी व्यवस्था खडा गरेर अग्राधिकार कृपा गरिने हो ? अनि को हो त्यो हुकुमप्रमाङ्गीको अधिकारी कृपाकारी मानव ?

सङ्घीयताको काम जनजनलाई जोड्ने हो, टुटाउने होइन । तर, एक मधेस–एक प्रदेश र अग्राधिकारको हौवाले जुटलाई होइन, टुटलाई नै टेको दिएको बुझियो । 

जोड आन्तरिक राष्ट्रियतामा / न,न, जोड बाह्य राष्ट्रियतामा

राष्ट्रियताका आन्तरिक र बाह्य आयाम परस्परविरोधी अर्थ लाग्ने गरी चर्चामा आइरहे । लालको साचेपत्रमा बाह्य राष्ट्रियतालाई कम महत्व दिएको वा उपेक्षा नै गरेको गुनासो पनि घरिघरि सुनियो । यो गुनासो मूलत: माओवादी कोणबाट प्रकट भयो । र, बाह्य राष्ट्रियतालाई जमठ तुल्याउन सिमानामा लहरै फौजी राख्नुपर्ने र बयष्क नागरिकलाई अनिवार्य फौजी तालिम दिनुपर्ने आग्रह पनि अभिव्यक्त भयो । बहसको अर्को पक्षले भने आन्तरिक राष्टियताको सबलीकरणमा जोड दियो । लोककल्याणकारी राज्य र सरकार, सबल अर्थव्यवस्था, सक्षम एवं स्वाभिमानी बौद्धिक जमात र सहिष्णुतायुक्त संस्कृति आन्तरिक राष्ट्रियताका आधारस्तम्भ हुन् । उसो त सर्वसामेली राष्ट्रिय एकताका आधार पनि यिनै हुन् । जब यी आधारहरु दरिला हुन्छन्, बाह्य राष्ट्रियता पनि क्रमश: दरिलो हुँदैजान्छ । बाहुबली तुजुकले बाह्य राष्ट्रियतालाई बलियो बनाउने अभिप्राय उहिलेको कुरा हो, जो खुइलिसक्यो ।

मेरा आँखाले हेर / हेर्ने आँखा मेरा पनि छन् 

राष्ट्रियताको बहसभरि व्याप्त दुई विपरित दृष्टिकोणबीचको द्वन्द्वको सारभूत कुरो यही हो । ‘मेरा आँखाले हेर’ भन्ने आग्रहमा बाँकीहरुका पहिचानलाई मेटेर तिनलाई आफ्नै अहंको सङ्कीर्ण प्रतिरुपमा ढाल्ने सनातनी हठ छ । उता ‘हेर्ने आँखा मेरा पनि छन्’ भन्ने आग्रहमा आफ्नो पृथक् पहिचान र अस्मिताको जब्बर दाबी छ । यी दुई आग्रहबीचको द्वन्द्वको चरित्र हेर्दा लाग्छ, साझा राष्ट्रियताको निर्माण हुनुअघि नेपाली समाजले थप द्वन्द्व र रक्तपात बेहोर्न बाँकी नै छ ।

मार्टिन चौतारीले सञ्चालन गरेको राष्ट्रियता सम्बन्धि वहसमा देशका विभिन्न ठाउँमा सहभागी हुँदाका अनुभवबारे लेखिएको निबन्धको सम्पादित अंश । 'राष्ट्रियताको झोली बोकेर घुम्दा' शिर्षकको यो निबन्ध संग्रौलाको पछिल्लो पुस्तक 'इतर विचार'मा संग्रहित छ ।

कभर फोटोमा कवि विद्यापति  

निरन्तर रेकर्ड