मधेस, संविधान र सेल्फी

मधेस, संविधान र सेल्फी

मधेसमा उत्सव र उल्लासका सेल्फीको सट्टा भयानक र दर्दनाक चित्र र आर्तनादहरु छन्

एसपी लुइटेल १ असोज, २०७२

जमाना सेल्फीकै रहेछ, देखियो । नेपालमा तीज लागिरहेथ्यो, महिलाहरु रक्तिम बस्त्राभुषणमा त्यसैत्यसै प्रतियोगिता चलेझैँ चोकचोकमा नाच्थे । र, ट्वाक्क एक पीस् सेल्फी हान्थे । नाच्नु, रमाउनु उत्तम कुरा हो । समता र समावेशिताको चेतले चाडपर्व मनाउनु र नाच्नु झन उत्तम हो । महिलाहरु नै अगुवा बनेर महिलाकै हकहितको खोजीमा एकजुट हुनु त सुनमा सुगन्धै हो । म चोकचोकका तीजका ती रङ्गीन र लालीमा जडित नृत्य हेर्थेँ र यस्तै कल्पन्थेँ ।

यता महिना दिनदेखि नेपाली महिलाबीच तीजका उमङ्गमय लालनृत्यहरु चोकचोकमा चलिरहेछन् । लाग्छ, त्यसमा नेपाल राज्यको वर्तमान राजनीतिक परिवर्तनको केही पदचाप छ, सुगन्ध छ । यही मुलुकमा, उता मधेसीबीच महिनौँदेखि द्वन्द्व, अशान्ति, आन्दोलन र कोलाहलले राज गरिरहेछ । आफ्ना हक अधिकारबाट बर्षौँदेखि वञ्चित ती मधेसी महिला र पुरुष राज्यबाटै उपेक्षित र अवहेलित छन् । नेपाली भनिएका यता नाचिरहेका महिला र त्यसै दृश्यावलोकनमा निमग्न पुरुषमा राजनीतिको सुगन्ध छ । उताकामा एउटै मुलुकको उही राजनीतिको दुर्गन्ध छ । एउटै राज्यका यी फरक दुई दृश्यले भनिरहेछ, ‘मधेस नसमेटी यस राज्यको राष्ट्रियता तय गरिएको थियो, आखिर त्यही कायम रह्यो । के नेपालले मधेसलाई धान्न नसक्ने भईसकेको हो र ?’

मलाई लाग्छ, नेपाली राजनीतिको सनातनी व्यवहारमा मधेस कहिल्यै रमाएको छैन । यसले नेपालमा निजत्वको अनुभूति गर्न मौका कहिल्यै पाएन । जहिल्यै विभेदका पर्खालभित्र घेरिएर बस्नुपरेको तितो यथार्थ छ । आजको यस गणतान्त्रिक घडीमा आइपुग्दा समेत मधेस अलग्ग अछुत बसेको छ । तब त, नेपालमा एकातिर तीज छ, रमझम छ, नृत्य छ, खुसी छ, उमङ्ग छ, उल्लास छ, सबै छ । यो ‘सबै’को अधिकारभित्र ट्वाक्क ट्वाक्क सेल्फी पनि छ । तर, मधेसमा हक अधिकार, समता, स्वतन्त्रता र समावेशिताको खोजमा उत्पादित कलह छ, हिंसा छ, आन्दोलन छ, पीडा छ, त्रास छ र बर्बरता छ । त्यहाँ तीज छैन । छन् त केवल उत्सव र उल्लासका सेल्फीको सट्टा भयानक र दर्दनाक चित्र र आर्तनादहरु । मधेसी महिलाका कान्तिहीन अनुहारमा तीजको लालिमाको साटो उही अलगावले सिर्जना गरेको ताण्डवी त्रासका रङ्गहरु छन् ।

मलाई तिक्तताबोध हुन्छ, ‘मधेस हाम्रो हो, जानकी मन्दिर हाम्रो हो तर मधेसी हाम्रा होइनन्’ भन्ने चुत्थो निख्खुर वर्चस्ववादी भावनाले । यो छुत अछुतको सनातनी लहरो मासिनुको साटो झन झ्यागिँदै र बढ्दै, तन्किँदै र फैलिँदै जान थालेको हेर्न हल्लाबाजले कब्जा गरेको सामाजिक सञ्जाल खोले पुग्छ । 

नेपालको सीमारेखाभित्रको यो भुभागमा तिनलाई अपनत्व महसुस भइसकेको भए आज त्यहाँ किन चैन छैन ? चाडबाडमा उल्लास र खुसी साटासाट किन छैन ? र, यदि त्यो भुभागमा तिनको आफ्नो कुनै निजत्व छैन भने त्यहाँका जनतालाई किन अनस्तित्वको अन्धकार घेराभित्र थुनेर राख्ने ?

महिनौँ दिन लगाएर नेपाली भनिएकाहरुको तीज सकियो । खुसी साटियो, शुभकामना दिइयो र मनपसन्द सेल्फी पनि हानियो । मधेसमा रमझम फर्कने कहिले हो ? सकिनै लागेको संविधानसभाको आयुभित्रै मधेसको आवाज गुन्जिएन भने, के मधेसले लालिमा र नाचगानयुक्त सेल्फी छिटै खिच्न पाउला ?

जमाना सेल्फीकै रहेछ । संविधानका सबै धाराहरु पूर्ण पास भएपछि हाम्रा नेताजनले पनि सेल्फी हान्ने मनको मुराद पूरा गरे । औँला देखाउँदै फोटो खिचे । र, विश्व जगतलाई नेपाल र नेपाली हुनाको ठूलो आयाम र अहम पेस गरे । तर, नेपाली परिचयभित्र मधेस र मधेसी जनता परेनन् । नभए, विजय गच्छदारले ‘तराई मधेसमा भएका आन्दोलनलाई सम्बोधन गर्दै’ भन्ने वाक्यांश राखेर सम्झौता गर्दा, सम्झौता किन तुहाइदिए कृष्ण सिटौला र केपी ओलीले ? तिनले ‘नेपाल र नेपाली हुन पाउँ, समतामुलक अस्तित्वमा रम्न पाउँ, समावेशिताको हक बोकेर सगर्व म नेपाली हुँ भन्न पाउँ’ भनी आन्दोलन गर्नु अपराध हो भने नेपाली भन्ने परिचयमा समाहित हुन उनीहरुलाई कर हुन्छ र ? 

मधेसले आफ्नो हक र अधिकार खोज्न कता जाओस् ? जहाँ खोज्नु पर्ने हो त्यहीँ खोज्दै छ । र नै त आन्दोलनरत छ । त्यत्तिका ठूला तीन दल, तीनदलका त्यत्रा ठूला नेताले यो मधेस मामलो कुन थान्कामा राख्ने निधो गरेका छन्, त्यो म भन्न सक्तिनँ । तर, यति भन्न सक्छु, मधेसबाट पनि मत लिएर ठालु भएकाहरुले यो आन्दोलनलाई मर्माहत गर्नु नेपालमा त्यही सनातनी शासकको बिँडो थाम्नु हो । गणतन्त्र र संघीयताको पूर्ण आभाष हुन नदिने षड्यन्त्र गर्नु हो । राजारजौटाले गरेको थिचोमिचोको नै पुनरावृत्ति गर्नु हो । तिनको आन्दोलनको अर्थलाई बुझपचाएर जारी गरिने संविधानलाई मधेसी जनताले आफ्नो ठानेनन् भने, के समग्र मधेस र मधेसीलाई अपराधी करार गर्ने हो ? 

समस्याग्रस्त त्यो ठूलो फाँटको छिनोफनो नहुनुले जमाना सेल्फीकै भए पनि ट्वाक्क सेल्फी खिचीहाल्न मन छैन । दिपावली गर्ने कुरै भएन ।    

 

निरन्तर रेकर्ड