पहाडलाई झुक्याउँदै खड्गप्रसाद

पहाडलाई झुक्याउँदै खड्गप्रसाद

समावेशी र सबल लोकतन्त्र निर्माण गर्ने राजनीतिक अभिष्टलाई पूरा हुन नदिन बाह्य शक्तिकेन्द्रका सबभन्दा ठूला मतियार बनेका पात्रले अहिले देशभक्तको ताज पहिरिन पाएका छन्

उज्ज्वल प्रसाई १९ पौष, २०७२

निर्वाचित संविधानसभाबाट लेखिने संविधानले त्यस्तो राजनीतिक संरचनाको निर्माण गरोस् जसले नेपालको सामाजिक र साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्न सकोस् । नयाँ बन्ने संरचनाले सामाजिक न्याय स्थापना गर्नेछ र लोकतन्त्र सबल हुनेछ । सपना यस्तो थियो । रक्तरंजित र निशासलाग्दो विपनामा त्यो सपनालाई दोहोर्याएर देख्न जोखिमपूर्ण हुन्छ । सुखद पक्ष यति मात्रै हो, त्यस्तो जोखिम मोल्न चाहनेहरुले हिम्मत हारेका छैनन् ।

पहिलो संविधानसभामा माओवादी र मधेसवादी बलिया थिए । खासगरी माओवादीका कारण भारत डराएको थियो । तिनताक भारतीय संस्थापन माओवादीले चाहे जस्तो संविधान बन्न सफल हुनु भनेको माओवादी अझ बलियो हुनु हो भन्ने भयबाट ग्रसित थियो । आफ्नो ‘करेसाबारी’मा माओवादी नाम झुण्डिएको विद्रोही दस्ताले निर्वाचन त जित्यो नै, संविधान पनि सहजै बनायो भने त्यसले आफ्ना घरेलु विद्रोहीहरुलाई बल पुग्नेछ भन्ने बुझाईका कारण पनि ऊ सकसपूर्ण अवस्थामा थियो । हरसम्भव माओवादीलाई साइजमा ल्याउने र भरसक उसले क्रेडिट लिन सक्ने गरी संविधान निर्माण हुन नदिने मनसाय भारतका गतिविधिहरुमा प्रष्ट देखिन्थ्यो । तिनताक भारतको सो ईच्छालाई बलियोसँग काँधमा बोक्ने नेपाली पात्र थिए अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली ।

त्यसो त अघिल्लो संविधानसभाको पहिलो पटक म्याद थप्नु पर्ने अवस्था सृजना हुँदा नै उनी म्याद नथपेर संविधानसभा तुहाउने खेलमा लागेकै हुन् । त्यसबेला सफल हुन सकेनन् ।

गिरिजा प्रसाद कोईरालाले ठूलो आलटाल गर्दै र बडो अनिच्छापूर्वक निर्वाचनबाट सबैभन्दा ठूलो बनेको पार्टी माओवादीलाई सत्ता स ञ्चालन गर्ने बाटो छोडिदिएका थिए । त्यसबेला पनि एमाले विभिन्न गुटहरुको महासंघ नै थियो । झलनाथ खनालको गुटलाई दाहिना बनाऊँदै वामदेव गौतमसँग साँठगाँठ गरेर प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाए । सरकार जसोतसो चल्दै थियो, माओवादीभित्रका चर्का साम्यवादीले कटवाल काण्ड निम्त्याउने अवस्था सृजना गरे । तत्कालिन प्रधान सेनापति रुक्मांगद कटवाल हटाउने प्रधानमन्त्री प्रचण्डको निर्णयले सबभन्दा बढी चिढ्यायो भारतलाई । भारतको यो चिडचिडाहटको काँधमा चढेर यिनै खड्गप्रसाद हुल बाँधेर राष्ट्रपति रामवरण यादवको दैलोमा पुगे ।भारतको निर्देशन र सो निर्देशनलाई सहजतासाथ कार्यान्वयन गराउने अनुकुल अवस्था निर्माण गर्न खड्गप्रसाद झुण्डका क्रियाकलापको आडमा राष्ट्रपतिले कटवालको थमौती गरिदिए । माओवादीको सशत्र विद्रोह, मधेस आन्दोलन, र जनआन्दोलनबाट भएका परिवर्तनलाई नरुचाउने कांग्रेसीहरुमा रामवरण यादव पनि पर्थे । उनी खड्गप्रसाद भन्दा धेरै फरक राजनीतिक विचारधारा बोक्ने मानिस थिएनन् त्यसबेला । भारतको इच्छालाई कार्यान्वयन गर्दै खड्गप्रसाद र रामवरणले माओवादीको तेजोबध गरे । यी सबैको गठजोडले प्रचण्ड पदच्युत हुने अवस्थामा पुगे । भारतसँग सडकबाट पौंठेजोरी खेले । परिणाम, संविधान बनाउने श्रेय लिन त पाएनन् नै दोस्रो संविधानसभाको निर्वाचनसम्म आउँदा बद्नामीको ठूलो चांग माओवादीले आफ्ना टाउकामा बोकेका थिए ।

अन्ततः खड्गप्रसाद जे चाहान्थे, त्यही भयो । धर्मनिरपेक्षताको धज्जी उड्यो, संघीयता अर्थहीन बन्यो, समावेशीताको ज्यान थुतियो, मधेसीको अग्घोर निन्दा र अपमान भयो । महेन्द्रीय राष्ट्रवाद हावी भयो । खड्गप्रसादका लागि त्यो भन्दा पनि सुखद पक्ष के भने, माओवादी समेत उनैले हाँकेको महेन्द्रीय गाडीको इमान्दार खलाँसी हुन पुग्यो । प्रचण्डले आफ्ना लागि यो भूमिका किन स्वीकारे ? राजनीति शास्त्रका विद्यार्थीले सो प्रश्नको उत्तर खोज्दै होलान् ।

समावेशी र सबल लोकतन्त्र निर्माण गर्ने राजनीतिक अभिष्टलाई पूरा हुन नदिन बाह्य शक्तिकेन्द्रका सबभन्दा ठूला मतियार बनेका पात्रले अहिले देशभक्तको ताज पहिरिन पाउनु आँफैमा बिडम्बनापूर्ण छ । अहिले आएर खड्गप्रसादलाई जबर्जस्त देशभक्त बनाउन खोजिए पनि राष्ट्रवादी त उनी पहिले देखि थिए । कारण, उनको कम्युनिष्ट स्कूलमा उनलाई माक्र्सवादभन्दा पहिले राष्ट्रवाद नै पढाईएको थियो । माक्र्सवाद पढ्न जति अप्ठ्यारो हुन्छ, राष्ट्रवाद पढ्न त्यति नै सजिलो । नेपाली भाषालाई मैथिलि वा वान्तवा भन्दा श्रेष्ठ ठान्नु, दौरा सुरुवाललाई हाकु पटासीभन्दा बढी नेपाली ठान्नु राष्ट्रवाद हो । सरकारी पोषाक कुनै हुन्छ भने त्यो वर्चस्वमा भएको समुदायले मनपराउने पोषाक नै हुन्छ भनेर मान्नु राष्ट्रवाद हो । अधिकार दिने र खोस्ने अधिकारी पनि वर्चस्वशाली जाती समुदायकै मानिस हुनुपर्छ भनेर मान्नु पनि उतिकै सक्कली राष्ट्रवाद हो । त्यसैले माक्र्सवादी बन्नु अघि नै राष्ट्रवादी बनेका ओलीले माक्र्स भन्दा पहिले महेन्द्रलाई आफ्नो नेता मानेका हुन् । अहिले आएर माक्र्सको ख्याल गर्ने जिम्मा उनले घनश्याम भुसाललाई सुम्पेका छन् भने महेन्द्रको पोषण उनी आँफै डटेर गरिरहेका छन्। उनलाई साथ दिनेहरु धुरन्धर माक्र्सवादी प्रदिप ज्ञवाली र योगेश भट्टराईहरु छँदैछन् ।

खड्गप्रसादले पहिरिएको देशभक्तिको ताज नक्कली हो । उनले लगाएको राष्ट्रवादी जामा सक्कली हो । कारण, महेन्द्रमार्का नश्लवादी राष्ट्रवादलाई नै यहाँ सक्कली भन्ने चलन छ । यो नक्कली र सक्कलीको खेल खेलिरहँदा, खड्गप्रसादले सबभन्दा बढी मुर्ख ठानेको नेपाली समुदाय पहाडे समुदाय नै हो । मधेसले यो नक्कली र सक्कलीको भेद छुट्याइसकेको छ । मधेसी जनताले जति राम्रोसँग खड्ग प्रसादलाई कसैले चिनेको छैन भन्नेमा स्वयं खड्गप्रसाद ढुक्क छन् । यो तथ्यलाई उनले नजरअन्दाज गर्न खोजेका पनि छैनन् । खड्गप्रसादले बडो मजाले कसैलाई थाङ्नामा सुताउने प्रयास गरिरहेका छन् भने त्यो पहाडे मूलका र खासगरी बहुसंख्यामा भएका बाहुन क्षेत्रीलाई नै हो । त्यसैले ती समुदायलाई मधेसप्रति सक्दो नकारात्मक बनाउने र मधेसी जनताप्रति बढी भन्दा बढी शंकालु बनाएर उनी आफ्नो लोकप्रियता बढाउन चाहान्छन् । भारतको दाह्रा नंग्राबाट नेपाललाई जोगाएको झुठो कथ्य रचेर बेच्न उनी अहिलेलाई सफल भएका छन् । त्यही कथ्यबाट प्रभावित भएर अहिलेसम्म हामीले उनलाई यी सारा बेथितिका दोषी हुनबाट मुक्त राखेका छौं । सरकारमा बसेर बेसुरा गफ गर्ने र सिन्को नभाँच्ने छुट दिएका छौं । भुकम्प पीडितलाई जीवन बाँच्न कुनै सहयोग नगरेर बित्थाको स्मारक बनाउने प्रचार गर्न छुट दिएका छौं । भुकम्पमा बँचेका ज्यान उनकै लापर्वाहीले मर्दै गर्दा, सधैं रेला गर्ने अराजकता यसै सहेका छौं । परिणाम, पहाडे मूलका नागरिकलाई मधेसी विरुद्ध भड्काउन खुला छोडेका छौं । तिनलाई विखण्डनकारी भन्न, माखो भनेर अपमान गर्न, र जनावर भनेर दुत्कार्न हौसला दिएका छौं ।

खड्गप्रसादको अर्थहीन गफले मधेसी त भुलिंदैनन् । तर, पहाड लठ्ठ छ । नाका अवरोध गर्न भारतको साथ लिएका मधेसीलाई ‘भारतीयको प्यादा’ का रुपमा अझ मजाले प्रोजेक्ट गर्न पाउने यो मौकालाई उनले सक्दो पुँजिकृत गर्न खोज्दैछन् । त्यसमा उनी एक हदसम्म सफल पनि भएका छन् । कारण, उनकै कथ्य हरेक दिन नांग्ले अखबारका सम्पादकीयले प्रचार गरेका छन् । भारतले गरेको भनिएको ‘नाकाबन्दी’ खोल्ने जिम्मा पनि खड्गप्रसादकै हो । तर, प्रश्नको हल हामी सुष्मा स्वराजबाट खोज्छौं । स्वराज हाम्रो समस्या हल गरिदिन बाध्य छैनन् । हामीले भोट उनलाई हालेका होइनौं । तर, त्यसो गरेर हामीलाई नै सधैं झुक्याउँदै आएको खड्गप्रसादलाई प्रश्न र दायित्वबाट मुक्त गरेका छौं । अहिले कसैले मधेस र पहाडबीचमा कहिल्यै नमेटिने दरार चाहेको छ भने, ति खड्गप्रसाद नै हुन् । कारण, उनलाई महेन्द्रको असली क्लोन बन्नु छ ।

भारतको नरेन्द्र दामोदर दास मोदीतिर फर्केर धारे हात लगाउनु अघि मोदी र खड्गप्रसादको घरेलु राजनीति ठ्याक्कै उस्तै हो र उनीहरुको ‘सक्कली’वाला राष्ट्रवादमा पनि कुनै फरक छैन भनेर पहाडे समुदायले महसूस गर्न ढिलो भइसकेको छ ।

यो समुदायका अघिल्तिर उभिएको सबभन्दा पेचिलो प्रश्न हो – कहिलेसम्म खड्गप्रसादलाई पहाडलाई झुक्याउने छुट दिने ? कहिलेसम्म उनलाई आफ्ना दायित्वबाट उम्केर हाम्रा दुखलाई मजाक बनाउने अधिकार दिने ? मधेस आन्दोलनलाई इमान्दारीपूर्वक सम्बोधन नगरेर बिनोद चौधरी र मठाधिस रविशंकर मार्फत नरेन्द्र मोदीको फन्को मारिरहने छुट कहिलेसम्म दिने ?

निरन्तर रेकर्ड