तरुल बन्न छोड

तरुल बन्न छोड

जुन देशले आफ्नो आर्थिक, मौद्रिक वा श्रम नीति आफैँले नियन्त्रण नगरी यस्ता अति महत्वपूर्ण साधनहरू छिमेकी मुलुकको जिम्मामा छोड्छ, त्यो देश स्वतन्त्र हुन सक्दैन

ड्यानियल ल्याक ३ बैशाख, २०७३

 

नेपाल – गौरवशाली, सार्वभौम र अविजित । उत्तरतिर चीन र अन्य तीनतिर भारतरुपी विशाल चट्टानले घेरिएको भए तापनि जुझारु छ । एक नेपाली शङ्कैशङ्काले आफू वरिपरि हेर्छ । उसलाई थाहा छ अङ्ग्रेजहरूको समयदेखि मात्र नभई मुगलहरूको समयदेखि नै अरुहरूले आफ्नो भूभाग र प्राकृतिक स्रोतमाथि आँखा गाडेका छन् । उसलाई त यो पनि पढाइएको छ कि उसका पुर्खाले उन्नाइसौँ शताब्दीको सुरुआततिर बेलायती इष्ट इण्डिया कम्पनीसँग युद्ध लडेर जितेका थिए । त्यसैले ऊ  नेपाली सार्वभौमिकता र स्वतन्त्रतामाथि सानो मात्र पनि प्रश्न उठ्यो भने पनि भिड्न र जोडदार विरोध गर्न तयार छ । 

आज भारतमा शासन गर्ने बेलायतका उत्तराधिकारीहरू झन् लोभी छन् भन्ने उसलाई विश्वास छ । एकचोटि मलाई एकजना नेपाली लेखकले भने, भारतले हिमालको पानी तान्ने एक धूर्त उपाय निकालेको छ जसअनुसार सीमा नजिक पुगेपछि खोला वा नदीको पानी स्वाट्टै तल सोसिन्छ ।  
 
मैले यस्तो भारतविरोधी भावना बीबीसी नेपाल संवाददाता भएर काम गर्दाको सुरुआतकै दिनमा थाहा पाएको थिएँ । दक्षिण एसियामा रिपोर्टिङ् गरेको केही अनुभव भएको नाताले मलाई नेपाल–भारत सम्बन्धका विभिन्न विषयबारे एक फोन–इन कार्यक्रम सञ्चालन गर्न लगाइयो । यसमा आफ्नो छिमेकीको चासोको बेवास्ता गर्दै विश्वका बाँकी देशहरूसँग आँफै सम्बन्ध विस्तार गर्ने घोषित रुपमै बहुपक्षिय नेपालदेखि त्वम्शरणम् गर्दै भारत सरकारको पाउ पर्न खोज्नेहरूसम्म पर्थे । ती दुई चरमका बीचमा धेरै विकल्पहरू थिए जसमध्ये सबै अहिलेको व्यवस्थाका यथोचित स्वरुपहरू थिए ।  धेरैजसोले यथार्थमा भएभन्दा राम्रो कुटनीति र राज्यकला छ भन्ने अनुमान गर्थे । क्यानेडेली नागरिकको रुपमा मलाई ठूलो, मिचाहा र घमण्डी छिमेकी हुनुका चुनौती र अवसर राम्ररी थाहा थियो । हाम्रो हकमा पनि त्यस्तै छिमेकी थियो – संयुक्त राज्य अमेरिका । मलाई लागेको थियो नेपालले यो छलफल त्यही रुपले बुझ्नेछ । 

तर त्यसो भएन । एकदिन कार्यक्रम सुरु हुनुभन्दा अगाडि एकाबिहानै धर्ना, जुलुस र बीबीसी लेखिएका पुत्ला दहनबारे उत्तेजित फोनकलहरूले म बिउझिएँ । कार्यक्रमका मेरा एक अतिथि जो एक अङ्ग्रेजी भाषाको पत्रिकाका सम्मानित सम्पादक थिए पहाडतिर भागेछन् । पत्रिकाहरूमा मैले पढेँ कि बीबीसीले नेपाललाई भारतमा गाभिन आग्रह गरेको थियो । आघात, त्रास, अत्याचार । कतिपयले भने कि लण्डनमा रहेका मेरा हाकिमहरूले सन् १८१४–१८१६सम्मको अङ्ग्रेज–गोर्खा युद्धमा नेपालले बेलायतलाई लज्जास्पद तरिकाले हराएको कुरा बिर्सिए । हो त्यही युद्ध, जसमा यस देशले आप्mनो भूभागको दुई–तिहाई गुमाउनु पर्यो, अक्सर हस्तक्षेप गरिरहने स्थायी बेलायती उपस्थितिको सुरुआत भयो र आजको दिनसम्म पनि आफ्ना उत्कृष्ट सैन्य जनशक्ति बेलायती सेनाको गोर्खा रेजिमेन्टहरूलाई बुझाउने अवस्थामा ल्याइदियो ।

‘‘नबिर्स बीबीसी,’’ अहिलेका एक चर्चित पत्रकार (जसको नाम म यहाँ उल्लेख गर्न चाहन्न ) ले लेखे, ‘‘हामीले तिमीलाई (बेलायतलाई) एकचोटी पहिले पनि हराएका थियौँ, फेरि पनि हराउँछौँ ।’’

हरे, के भैरहेछ? मैले सोचेँ ।

केही साथीहरूबाट अलि संयमित प्रतिक्रिया आयो जसले मलाई आश्वस्त पारे कि यो दरबारको इशारामा हुने दक्षिणपन्थी निर्देशित भारत–विरोधी भावनाको मञ्चन हो जुन सरकारको असफलता वा कुनै कमी–कमजोरी लुकाउने जस्ता दूषित उद्देश्य हासिल गर्न बेला बेलामा उठाउने गरिन्छ । मलाई बलीको बोको मात्र बनाइएको थियो । हुन पनि एक हप्तापछि कुनै तुष बाँकी नरहने गरि यो सबै सेलायो । कुनै–कुनै पत्रिकाले भने म भारतीय जासुस हो कि होइन भन्ने चर्चा चलाइरहे । अचम्मको कुरा त म भड्काउने र इतिहास बिर्सिने लण्डनको पनि प्रतिनिधित्व गर्थेँ रे, र सीमानामा पानी तान्ने भयङ्कर प्रविधि प्रयोग गर्ने लोभी नयाँ दिल्लीको पनि प्रतिनिधित्व गर्थेँ रे ।
 
दुःख लाग्दो कुरा त यो सबै कुरा गणतन्त्र, सङ्घियता, गौरवशाली प्रजातन्त्र र आडम्बरी धर्म निरपेक्षता सहितको नयाँ नेपालमा फेरि देखिँदैछ । ठूलो मेहनतले स्थापित नयाँ मान्यताहरू, शान्ति प्रक्रियाको समापन र सबैले स्वागत नगरेको भए पनि नयाँ संविधान पाएपछि काठमाडौँको संभ्रान्त वर्गले असफल राजनीतिको फोहोरी खेलबाट मानिसहरूको मोड्न कमसेकम नयाँ हाउगुजी खोज्लान् जस्तो लाग्थ्यो । तर होइन । यो सबै भारत विरोधी हो, जहिले पनि ।  

मैले यो विषयको मजाक उडाउन खोजेको होइन । किनभने चाहे ती माओवादी हुन् वा राजा हुन् वा प्रजातन्त्रवादी हुन् नेपालको जनधारणालाई प्रभावित गर्नेहरूले जब जब यो पत्ता फ्याँक्छन्, उनीहरूले नेपालको सीमा क्षेत्रमा बस्ने धेरै समयदेखि दुःख झेलिरहेका मधेसीहरूविरुद्ध अवश्यंभावी तरिकाले जानी जानी नश्लवादको कुरुप शक्ति उजागर गर्छन् । दोस्रो दर्जाको नागरिकतासहित दोस्रो वर्गका नागरिक मानिएका मधेसीहरूलाई सीमापारी विवाह र उच्च जन्मदरको माध्यमले जनसङ्ख्या बढाइ भारतको नेपाली भूभाग कब्जा गर्ने उद्देश्यलाई सघाउ पुर्याउने दिल्लीको ‘पाँचौ स्तम्भ’ (समर्थक)को रुपमा लिइन्छ । यो खतरनाक सोच वर्तमान पूर्वाग्रहको ‘गलत’ किनारमा जन्मिएका महिला र अन्यलाई अधिकारबाट वञ्चित गर्ने संसारकै अद्वितिय नयाँ संविधानमा पनि प्रतिबिम्बित छ ।

एकछिन् यहाँ इमान्दार बनौँ ।यो सबै भारत विरोधी कुराहरू मानवद्वेषी र खतरनाक बहाना हो । नेपालका राजनीतिज्ञ र देशभक्तहरूलाई साँच्चै भारतले आफ्नो सार्वभौमिकता वा जमीन लैजाला भन्ने डर भए वा उनीहरूले साँच्चै स्वतन्त्रताको कदर गर्ने भए खुला सिमाना हुन्थ्यो त ? उनीहरू नेपालीहरू विहेको लागि त कुरै छोड्नुस् जागीर खान वा रासन कार्ड लिन मात्र पनि भारत जाने कुरामा खुशी हुन्थे त ? वा यहाँको स्थानीय मुद्रा भारतीय रुपैयाँसँग अमिट तरिकाले दशकौँदेखि एउटै दरमा स्थिर राखिन्थ्यो होला त ?

जुन देशले आफ्नो आर्थिक, मौद्रिक वा श्रम नीति आफैँले नियन्त्रण नगरी यस्ता अति महत्वपूर्ण साधनहरू छिमेकी मुलुकको जिम्मामा छोड्छ, त्यो देश स्वतन्त्र हुन सक्दैन। यो कुरा नेपाली समकक्षीहरूभन्दा विलकुल फरक, आफ्नो आर्थिक निर्णयहरूको आधारमा बाँच्ने र मर्ने राजनीतिकर्मीहरू भएको छिमेकी देशको प्रजातान्त्रिक यथार्थसँग नारिएको छ । रोजगारीका अवसर सिर्जना नगर्ने र समृद्धि नबढाउने भारतीय सरकारहरू फेरि निर्वाचित हुँदैनन् ।

त नेपालका एकपछि अर्को सरकार किन भारतसँगको सम्बन्धमा यथास्थिति अपनाउँछन् त ? प्रष्ट छ । उनीहरू आफ्नै नीति बनाउन चाहँदैनन् । उनीहरू मेहनत गर्न वा आँफै राज्य चलाउन पनि चाहँदैनन् । उनीहरूलाई थाहा छ, खुला सिमा पारी भारतले नेपालीहरूको लागि नोकरी र व्यवसाय गर्ने अवसर प्रदान गरिहाल्छ जुन उनीहरू आफैँले नीतिगत र राजनीतिक कार्यक्रम मार्फत कहिल्यै गरेनन् । अझै सिधा भन्नुपर्दा उनीहरू कुर्ची ढुकेर बस्ने लुटको भाग खोज्ने पार्टीले कालो धनले पोषेका पूर्णकालीन अल्छी आवाराहरू हुन् । तैपनि उनीहरू ताकपर्दा वा स्व–निर्मित राजनीतिक दाउपेचबाट उम्किन सहयोगको लागि नयाँ दिल्ली धाउनुपर्ने अवस्था नरहेको बेला भारतको निन्दा गर्न छोड्दैनन् ।  

तर विडम्बना, यो सुपरिचित व्यवहारले राजनीति बाहिरका क्षेत्रलाई पनि गाँजेको छ । काठमाडौँका स्वघोषित देशभक्त र राष्ट्रवादीहरूलाई थाहा छ उनीहरू को हुन् र किन उनीहरू आप्mनो देशको जानी जानी सिमित गरिएको स्वतन्त्रताका यथार्थहरूलाई नजरन्दाज गर्छन् भन्ने । यो उनीहरू स्वयंको विवेकको कुरा हो । तर म यति चाहिँ भन्छु । नयाँ दिल्लीमाथिको पछिल्लो प्रहारमा आँट गरेर ३ब्याकअफइण्डिया ट्वीट गर्नेहरूलाई सार्वभौमिकताको अर्थबारे विचार गर्न म आग्रह गर्छु । यसले तपाईँलाई त्यति असर गर्छ भने, आफ्ना नेताहरूलाई उनीहरूले भनेजस्तै व्यवहार गर्न आग्रह गर्नुहोस् । स्वतन्त्रताको अभ्यास गर्नुहोस् र आर्थिक र अन्य घरेलु नीतिहरूबारे आप्mनै निर्णय लिनुहोस् । विदेशमा ठूला छिमेकी र अन्य महत्वपूर्ण देशहरूसँग पनि सम्बन्ध विस्तार गर्नुहोस् । उपयुक्त गैर राजनीतिक कुटनीतिक दूतहरू नियुक्त गर्नुहोस् । सबै देशहरूसँगको दौत्य सम्बन्ध सम्मान र आपसी हितमा आधारित गर्नुहोस्  ।

समावेशी र प्रजातान्त्रिक हुने आँट गर्नुहोस् । आफ्नै नागरिक र पूरै विश्वलाई निराश पार्ने आजको झण्डै–झण्डै असफल राष्ट्रको स्थितिमा उत्सव नमनाउनुहोस् । समानता र स्वतन्त्रता सुनिश्चित गर्ने संविधान बनाउन मेहनत गर्नुहोस् । शिक्षा, रोजगारी सिर्जना, स्वास्थ्य सेवा मार्फत भविष्यको लागि लगानी गर्नुहोस् । देशको सम्पत्तिलाई सम्मानका साथ हेर्नुहोस् । दैवी प्रकोप लगायतका चुनौतीहरूलाई द्रुत गतिमा करुणासहित सम्बोधन गर्नुहोस् । शक्ति र कालो धन बाँडफाँट गर्न अँध्यारा कोठामा गरिने सौदाबाजीले नभइ आफ्नो नीति र कार्यक्रमहरूका कारण राजनैतिक रुपले सरकार बन्ने र ढल्ने गर्नुपर्छ ।  
 
अन्त्यमा, तरुल र ढुङ्गाको सादृश्य त्याग्नुहोस् । भूराजनीतिक यथार्थ भन्दा पनि यो आफ्नै छनौटको विषय हो । के थाहा, भोलिको राष्ट्रवादी धार अन्ततः कुनै उपयोगी र गर्व गर्न लायक कुरामा पो बदलिन्छ कि । जय नेपाल ।
 

कभर फोटोमा बिरगन्जस्थित एक पोखरीमाथि उडिरहेको काग ।  
फोटो: सागर क्षेत्री, काठमाडौंका फ्रीलान्स फोटोग्राफर ।

निरन्तर रेकर्ड