ढोंग र असफलताको स्मृति स्तम्भ

ढोंग र असफलताको स्मृति स्तम्भ

भूकम्पको बबन्डर र राजनीतिक बेइमानीले क्षतविक्षत बनाएका जनताका अघिल्तिर बसेर करोडौंको भोज गर्ने बेसरम शासकबारे ठाडो भाषामा लेख्नु आफ्नै बेइज्जती हो

उज्ज्वल प्रसाई १२ बैशाख, २०७३

आज वि.सं २०७३, वैशाख १२ गते । यो मितिले इंगित गर्ने निराशा, विषाद, आक्रोश, र वेदना, र विस्मृतिमा विस्तारै विलिन हुँदै गएका सपनालाई नियमित लेखको सपाट भाषाले व्यक्त गर्न सक्दैन । यी सबै एकैसाथ व्यक्त गर्न सायद कवितामा मात्रै सम्भव छ । अहिले लेखिने शक्तिशाली कविताले समयको त्यस्तो अभिलेख राख्ने थियो जसले शासकले रच्ने इतिहासको झुठलाई उजागर गथ्र्यो र जनताको भग्न सपनाको हिसाब राख्थ्यो । 

भूकम्पको बबन्डर र राजनीतिक बेइमानीले क्षतविक्षत बनाएका जनताका अघिल्तिर बसेर करोडौंको भोज गर्ने बेसरम शासकबारे ठाडो भाषामा लेख्नु आफ्नै बेइज्जती हो । ठाडो अभिव्यक्तिले यो निशासलाग्दो वर्तमान भोगिरहेका जनतालाई थप निराशा दिनेछ भने त्यस्तो सपाट लेखनले नांगो उभिएका शासकलाई थप हौसला प्रदान गर्ने सम्भावना रहन्छ । सम्भवत शक्तिशाली कविताको विम्वले जनतालाई थप संघर्षका लागि प्रेरित गर्नेछ भने शासकलाई इतिहासमा अंकित हुने उसको सग्लो चित्र देखाइदिन सक्नेछ । प्रतिभासम्पन्न मानिसहरुले त्यो उद्यम गरिरहेका हुनसक्छन् भन्ने अनुमानले मात्रै पनि झिनो आशा दिन्छ ।

आक्रोश र क्षोभमिश्रित सपाट गद्यले हजारौं पाना भरिइसकेको वर्तमानमा फेरि एक पाना थप्नुको खासै औचित्य छैन । तथापि मौन हुनुको अवाञ्छित राजनीतिक अर्थ लाग्ने सम्भावनालाई पनि सम्बोधन गर्नै पर्ने हुन्छ । त्यसैले यति भनौं, नेपालमा अहिले लोकतन्त्र सर्वथा कमजोर भएको छ । आफूलाई जनताका औपचारिक प्रतिनिधि भएको दावी गर्ने केही मानिसहरुले प्रतिनिधिमुलक व्यवस्थाको वेदीमा जनताकै सपनाको धमाधम हत्या गरिरहेका छन् । बदलामा जनतालाई फाल्तु ठट्टा र भद्धा आश्वासन बाँडिएको छ । उहिलेदेखिका शासकले प्रजा झुक्याउन प्रयोग गर्ने थोत्रो राष्ट्रवादको बेइमानी कथ्यको मौन उपभोक्ता हुन जनतालाई बाध्य बनाइएको छ । 

भूकम्पले क्षती सहेर बाँचेका जनताका मनमा सन्देहसहित एउटा सपनाको अंकुरण भएको थियो– मुलुकको पुर्ननिर्माण थालिएला । पूर्ती गर्न नसकिने क्षति सहेर हुन सक्ने निर्माणप्रति जनता किञ्चित आशावादी हुन खोज्दै थिए । त्यसै आशालाई हतियार बनाएर मुठ्ठीभर शासकहरुले एउटा अपूरो र पुराना समस्यालाई निरन्तरता दिने एक थान संविधान थोपरे । त्यसो त संविधानको वैधताका लागि संविधानसभामा बहुमतको सुविधा पनि उनीहरुलाई प्राप्त नै थियो । उच्चाटलाग्दो एक दशक बेहोरेका एक थरि जनताले संविधान ल्याइएकोमा खुशी व्यक्त गरे । तर, यो मुलुकको एउटा ठूलो हिस्साले संविधानमा आफ्ना विमति रहेको सार्वजनकि गरे । ति विमतिहरुलाई सम्बोधन गर भनेर आन्दोलन गरे । खासगरि मधेसमा जनआन्दोलन भयो । हजारौं मानिस सडकमा आए, ठूलो स्वरमा विरोध जनाए । आन्दोलनका क्रममा आन्दोलनकारीबाट समेत ज्यादती भएका अभिलेखहरुमा उल्लेख भइसकेका छन् । तर, त्यसको धेरै गुणा बढी त संविधानप्रति असन्तुष्ट जनताले राज्यको चर्को दमन सहे । पचासौंले एक बारको आफ्नो अमूल्य ज्यान गुमाए । ज्युँदा मधेसीहरु जो असन्तुष्टि मनमा उमालेर बसेका छन्, तिनका मागलाई चरम बेवास्ता गरेर नै तिनका सपना निमोठ्न सकिन्छ भन्ने भ्रममा मग्न छन् प्रधानमन्त्री खड्गप्रसाद जसले भर्खरै ठूलो हिस्सामा मधेसी समेतले तिरेको करबाट तीन करोडको भोज खाएका छन् । 

भूकम्पले क्षती बेहोरेर बाँचेका जनतामा सरकारले घर बनाइदेला भन्ने आशा प्रचुर थियो । भूकम्प लगत्तै त उनीहरु आफूले सकेको दुःख गरेर बस्ने ठाउँको जोहो गर्न लागेका थिए । आफन्त गुमाएकाहरुले दुःख मनमा कैद गरेर बाँचेका बाल बच्चा र बृद्ध बाआमालाई राख्ने थलो बनाउन जुटे । केही समयपछि सरकारले ठूलो हल्लाखल्ला गर्यो । दाता सम्मेलन बोलायो । दाताले अरबौंको सहयोगको वाचा गरे । जनताका मनमा नेतृत्वप्रति काफी सन्देह हुँदै गर्दा समेत त्यो ठूलो सहयोगको एउटा सानो अंशले आफ्नो ढलेको घर सग्लो बन्ला भन्ने आशा अंकुरायो । उनीहरुले एक वर्षभरि त्यसैको बाटो हेरे । ‘राहतले अल्छी बनेका भुकम्प पिंडितहरु काम गर्न छोडे’ भन्ने आरोप सहेर उनीहरु आफ्ना नियमित काममा फर्केका थिए । खासगरी तामांग, दलित, र महिलाहरु सबभन्दा बढी पिंिडत भएका तथ्यांकहरुले देखाएका छन् । यीनै सिमान्तका पिंडितहरुलाई शहरमा बसेका पढेलेखेका ठालु र नेतृत्वका वरपर गोलचक्कर लगाउने चाकरहरुले अल्छी भए भन्ने आरोप लगाएर समस्यालाई छोप्न खोजेका थिए । 

नेतृत्वको चरम अकर्मण्यताको शिकार हुँदा भूकम्पबाट बँचाएका कतिका ज्यान चिसोले कठ्यांग्रेर बित्यो । अब बाँचेका मानिसका सपनालाई उही सत्ताको जग बनाउन उद्यत शासकहरु आफ्नै नामको धरहरा ठड्याउने संकल्प लिएर हिंडेका छन् । उनीहरु चाहान्छन् आउने पुस्ताले हरेकपटक सुन्धारा पुग्दा नयाँ उभिएको धरहरा हेरेर आफूलाई नै स्मरण गरुन् । यसरी एक झुठो कथ्यलाई इतिहासमा दर्ज गराउन हजारौं जनताका सपनालाई सत्ताको वेदीमा हत्या गर्ने दुष्प्रयत्न भइरहेको छ । 

संविधानमा समतामुलक समाजको परिकल्पनालाई ठाऊँ नदिने शासकहरुको पहिलो प्रयास हाललाई सफल भएको छ । भूकम्प स्तम्भ र नयाँ धरहराका नाममा व्यक्तिगत अहंकारका खाँबा ठड्याउन पनि उनीहरु सफल नै हुने छन् । यो सफलताको अन्तर्यमा जनताका निमोठिएका आशा र हत्या भएका सपना छन् । भोक, असुरक्षा, र अपमानलाई ढोंगी स्तम्भले छोप्न खोज्ने शासकको दुष्प्रयत्नको अभिलेख राख्न जरुरी छ । यो सत्यको अभिलेख कसले राख्ने ? फुटकर र सपाट भाषामा लेखिएका यस्ता लेखहरु अभिलेखका रुपमा सधैं नरहलान् । विवरणात्मक इतिहास लेखनको महत्व त हुन्छ नै, जनताको स्तरबाट त्यो काम गर्न सके । तर, प्रतिभासम्पन्न मानिसहरुले त्यस्तो भाष्यको खोजी गर्नुपर्नेछ जो पुस्ता दरपुस्ताले पढ्दा आजको असफल नेतृत्वको नाममा ठडिने धरहरा र स्मृति स्तम्भहरु सर्वथा ढोंग र अकर्मण्यताका प्रतिक थिए भनेर बुझ्न सकुन् । 

सम्भवतः त्यस्तो भाष्य उचित विम्व र समयको झंकार पैदा गर्न सक्ने संगीतको सम्मिश्रणबाट तयार हुन्छ । अहिलेलाई त्यति एउटा शक्तिशाली कविताले मात्र पनि त्राण दिनेछ । बाँकी, जनताका भागमा सम्भवत अझै ठूला संघर्षहरु नै होलान् । 

राजधानीतिर 
पानीपुरी बेच्न गएका जन्तीले 
उही हजार वर्ष पुरानो बात गरेका छन् 
शासकहरुले पानीपुरी खाएनन् 
रगत नै खाए यो वर्ष पनि ... ।
-स्वप्निल स्मृति 
 
कभर फोटोः गोरखाको लाप्राकमा राहत वितरण हुँदै / रेकर्ड नेपाल

निरन्तर रेकर्ड