समतातर्फको यात्रा

समतातर्फको यात्रा

हामी सबैले एक पल्ट सोच्नै पर्छ भन्ने लाग्छ, के हामी साँच्चिकै अरु सबैभन्दा श्रेष्ठ भएरै अहिले जहाँ छौं त्यहाँ पुगेका हौं ?

मुकेश झा ३२ जेष्ठ, २०७३

प्रिभिलिज भन्ने अंग्रेजी शब्दको उल्था गर्न खोज्दा ‘विशेषाधिकार’ भन्ने शब्द सबै भन्दा उपयुक्त शब्द लाग्यो । आफ्नो जीवनलाई यसो फर्केर हेर्छु, खासै ‘विशेषाधिकार’ पाएको जस्तो लाग्दैन । सरकारी विद्यालय पढें, छात्रवृत्तिमा भारततिर पढ्न गएँ, अहिले दुवईमा एउटा विश्वबिद्यालयमा जागिर खाँदै छु । कहिले कसैमाथि भेदभाव गरिएन । जातपात मानिएन, यसमा गर्व गर्दछु । काठमाडौँमा एसएलसीसम्म पढेकोले  यहाँ मधेसीलाई गरिने अपहेलनाबारे थाहा नहुने कुरै भएन । आफूले सधैं प्रत्यक्ष अप्रत्यक्ष त्यस्तो व्यवहारको सामना गर्नु पर्यो । यहाँ यस्तै हो भनेर सन्तोष गरें ।

अहिले आएर फेसबुकमा केही मानिसहरुले क्षमा माग्ने अभियान चलाईरहेका छन् । क्षमा अभियानको मूल वक्तव्यमा चार वटा भाषामा यी कुरा लेखिएको छ: ‘दलित, मुस्लिम, थारु, महिला र सीमान्तकृत समुदायहरुका विरुद्ध पुस्तौंदेखि भएको ऐतिहासिक, अमानवीय, अमर्यादित व्यवहार तथा भेदभावमा मेरो संलग्नताका लागि म विनम्र माफी माग्दछु । यो उत्पीडक संरचनाको लाभ मेरो परिवार र मैले पनि प्राप्त गर्दै आएका छु । सामाजिक, सांस्कृतिक तथा धार्मिक विभेद, आर्थिक शोषण र सीमान्तकृत समुदायका विरुद्ध हुने व्यक्तिगत अपमानपूर्ण व्यवहारविरुद्ध लड्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रण गर्दछु । म यो ऐतिहासिक अन्याय सच्याउने सबै प्रयासहरुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । न्याय, समानता तथा अधिकारको लागि हुने संघर्षमा उहाँहरुलाई मेरो साथ रहिरहने वाचासमेत गर्दछु ।’

म आँफै सीमान्तकृत समुदायको मानिस अनि म किन पो क्षमा याचना गर्नु भन्ने मेरो पहिलो प्रतिक्रिया थियो । मैले कहिले महिला, थारु, मुस्लिम वा दलितलाई विभेद गरें भन्ने सम्झिन प्रयास गरें । कुनै एउटा घटना पनि सम्झन सकिन । मैले पनि सरकारी विद्यालयमा पढेर आफ्नो पेशामा आफूलाई दक्ष बनाएँ, त्यसो भए ती दलित, मुस्लिम, थारु वा महिला नै किन नहुन्, तिनले गर्न नसक्ने कुरै भएन । पक्का पनि उनीहरु पछाडी पर्नुमा उनीहरु नै दोषी छन् भन्ने लाग्यो । कोही म जतिला जाँगरिला र मिहिनेती भएनन् होला । 

बडो सजिलो तरिकाले आउने तर्क यीनै थिए । मैले क्षमा याचना गर्नु पर्ने कारण केही देखिन । झन् क्षमा याचना गरेर के हुन्छ, यो त केहि टाठाबाठाले चलाएको अभियान हुनुपर्छ भन्ने बुझाउने प्रयत्न गर्दै थिए केही मैले चिनेका मानिसहरु । त्यसैले लाग्यो, यो अभियानले समाजमा खासै परिवर्तन गर्छ जस्तो लागेन ।

दिमागमा आउने पहिलो र दोश्रो प्रतिक्रियापछि अझ पनि आँफैसँग तर्कवितर्क गरिरहें । कारण यो अभियानलाई खराब नै पनि भन्न सकेको थिइन । त्यसैले दुविधाग्रस्त भएर सोची नै रहें । पहिलो प्रतिक्रिया त्यसैपनि मानवको ‘लड् वा भाग्’बाट उत्पन्न भएको हुन्छ । यी मुद्दाहरुबाट न लड्नु पर्ने, न भाग्नु पर्ने, त्यसैले बरु अझ गम्भीर रुपमा विचार विमर्श गरौं जस्तो लाग्यो ।

म आफू पनि नेपालको सीमान्तकृत समुदायमा पर्छु, मधेसी हुँ । मधेसीभित्र महिला हुने नै भए तर मुस्लिम, दलित लगायत थुप्रै जातजाति पनि त छन् । म आँफै ब्राह्मण जातमा जन्मेको छु । बुवा पुलिसमा हुनुहुन्थ्यो त्यसैले काठमाडौँमा पढ्न पाएँ । 

यसलाई अब एकपटक अरुसँग तुलना गरौं भन्ने लाग्यो । मेरै गाउँमा वा नजिकको दलित परिवारमा जन्मे हुर्केको एक जना महिलाले के म जस्तै अवसर पाउनु भयो होला ? विद्यालयमा पनि दलितप्रति दुर्व्यवहार हुने गरेको हामीले सुन्दै पढ्दै नै आएका छौं । पानी समेत अर्कै भाँडोबाट खानु पर्ने जस्ता व्यवहार मैले आफूले कहिल्यै भोग्नुपरेन त्यसैले लाग्यो आखिर म र एउटा दलितलाई उस्तै अवसर त थियो नि । पढ्ने किताब उही हुन्, पढाउने मानिस पनि एकै त हुन् । तर, म जसरी विस्तारै अघि बढ्दै गएँ, के ति महिला र दलित दौंतरीहरु पनि अघि बढे ? किन बढेनन् ? यो प्रश्नको सही उत्तर पहिल्याउन बढी नै मथिंगल घुमाउनु पर्ने भयो । 

काठमाडौँमा समेत छोरालाई निजी अनि छोरीलाई सरकारीमा पढाउने भन्ने कुरा एउटा सर्वेक्षणले नै देखाइसक्यो । अनि मैले पुरुष भएर जन्मिँदा मेरो यसमा के दोष भनेर सोच्नु ठिक होला ? राम्रोसँग सोच्दा थाहा हुने रहेछ, आफू ब्राह्मण र पुरुष भएकाले मैले त्यसका लाभांश उठाइसकेको रहेंछु । मैले केही विशेष अधिकारहरु, जो महिला वा दलितसँग थिएन, तिनको उपभोग गरिसकेको रहेंछु । 

मैले कहिले पनि अरुलाई विभेद गरिन बरु म आँफै विभेद भोग्दै आएको छु भन्ने अर्को तर्कमा केही सत्यता छ । तर संगसंगै मैले कहिले पनि विभेदको बिरोध पनि त गरिन । कहिले पनि मेरो अवसरलाई फरक पर्न सक्नेगरि अमानवीय सामाजिक संरचनालाई चुनौती दिन अगाडी बढीन भन्ने पनि उतिकै सत्य हो । 

नेपाल सरकार वा भारत सरकारको छात्रवृत्तिमा किन मधेसी दलित परेका छैनन् भन्ने प्रश्न मनमा कहिल्यै आएन । तिनले ती अवसरबारे थाहा पाएका छन् वा छैनन् भन्ने पनि मतलब भएन । मैले विभेद गरिन तर ती विभेद छन् भन्ने आभाष हुँदाहुँदै, त्यसलाई बुझ्ने र त्यस्तो अमानवीयताको विरोध गर्ने कुनै योजना बनेन । 

हामी सबैले एक पल्ट सोच्नै पर्छ भन्ने लाग्छ, के हामी साँच्चिकै अरु सबैभन्दा श्रेष्ठ भएरै अहिले जहाँ छौं त्यहाँ पुगेका हौं ? वा समाजमा व्याप्त विभेदलाई देखेर पनि नदेखे जस्तो गरि अवसरको अधिकतम फायदा लिएकाले नै हामीले आफ्नो लागि सुरक्षित स्थान पाएका हौं । सद्भाव, मित्रता, र प्रेम विरोधी सामाजिक संरचनालाई जस्ताको तस्तै राख्न हाम्रो मौनता वा अबुझपनाले सहयोग गरेको छ भन्ने बुझ्नु अपरिहार्य भइसकेको छ भन्ने निश्कर्षमा पुग्न थालें । धेरै सोचेर यतिको निश्कर्षमा पुगें ।   

इम्प्याथी अर्थात् समानुभूतिबारे हामीले कमै विचार गर्दा रहेछौं । अरुले कस्तो महसूस गर्छ होला भनेर बुझ्ने प्रयत्न गर्नुभन्दा उसले कस्तो महसूस गरेको हुनुपर्छ भन्ने घोषणा गरिदिन्छौं । मलाई काठमाडौँको सार्वजनिक यातायातमा बसको सहचालकले, ‘ओ भैय्या पैसा ल्याऊ’ भन्दा मलाई कस्तो महसूस हुन्छ भन्ने बुझ्न अरुलाई सजिलो छैन । अपमानबोध हुन्छ वा रिस उठ्छ भनी अरुले अड्कल लगाउन सक्छन् तर त्यसबेलाको मेरो मनोभाव ठ्याक्कै कस्तो हुन्छ भन्ने यकिन गर्न गैर मधेसीले सक्दैनन् । 

हो, बढी संवेदनशील मान्छेले मसँग समानुभूतिसम्म राख्न सक्छन् । यति समानुभूति राख्न सक्ने सामथ्र्य विकास गर्न सक्यौं भने त हामी सबै मज्जाले मिलेर बस्न सक्छौं । तर, त्यो सजिलो काम भने होइन रहेछ । मधेसी पुरुष बाहेकका चाहे मधेसी ब्राह्मण महिला हुन् वा मधेसी अरु जातका पुरुष र महिला हुन् वा थारु, मुस्लिम, दलित, उनीहरुबारे धारणा बनाउनु जति सजिलो छ, त्यती नै गाह्रो छ समानुभूतिको भावनाले तिनको जीवन बुझ्न । तर, प्रयत्न गर्न थाल्यौं भने उनीहरु सबैसँग समानुभूति राख्न सक्छौं होला । 

लेखक र अनुसन्धाता तुला नारायण शाहले देवनारायण मरिक नामका एक मधेसी दलितको घरमा क्षमायाचना गर्दै चियापान गरे । दिपेन्द्र झाले क्षमा याचना सँगसँगै अर्का दलित शहीद रामेशवर पासीको घर निर्माण कार्यमा मजदुरको रुपमा काम गरेर सघाए । उनले आँफैले जुटाउन सक्ने केही श्रोत र आफ्नो श्रम समेत दिएर क्षमायाचनालाई मूर्त रुप दिन कोशिस गरे । तुला र दिपेन्द्रका यी कर्म भनेका समानुभूति गर्ने प्रयत्न रहेछन् । उनीहरु पूर्ण रुपमा सफल भएनन् होला तर समतातर्फको पाइला अघि बढाए । उनीहरुले गरेका कामका आलोचना गर्नेहरु पनि नभएका होइनन् । काम गर्नेको प्रशंसा र आलोचना दुवै हुन्छ । तर, सत्य के हो भने समानुभूति स्थापित गर्ने यो भन्दा अर्को राम्रो उपाय सायद छैन । 

मैले माथी उल्लेख गरे झैं, आफ्नै तर्कहरुबारे चिन्तन गरें र तात्कालिक प्रतिक्रिया भन्दा भिन्नै निष्कर्षमा पुगें । मैले जस्तै केही अलमल र दुविधाबारे गमेर नै होला विस्तारै अरु युवा पनि यस अभियानमा जोडिंदै छन् । ती सबै मधेसी समुदायका मात्र होइनन् । यस अभियानमा पहाडी समुदाय, महिला, जनजाती दलित (एउटा वा एक भन्दा बढी समूहमा पर्न सकिन्छ) इत्यादी सबैको समर्थन बढ्दो छ । समाजका हरेक मानिसले समान अवसर, अधिकार र प्रतिष्ठा पाउनु पर्छ । यति बुझेर अघि बढ्यौं भने सायद सुखद गन्तव्य धेरै पर छैन । 

निरन्तर रेकर्ड