पाठ्यपुस्तकमा भाग्यवाद

पाठ्यपुस्तकमा भाग्यवाद

विषयवस्तुको सामाजिक प्रभावका दृष्टिले अहिलेको नेपाली भाषाको पाठ्यपुस्तक ‘महेन्द्रमाला’कै पुनरावृत्ति हो

दामोदर ढुङ्गेल १९ आषाढ, २०७३

माध्यमिक शिक्षा पाठ्यक्रम २०६४ को उद्देश्यमध्ये एउटा “विद्यार्थीहरुलाई श्रमप्रति सकारात्मक बनाउने” भन्ने छ । तर, यो उद्देश्य प्राप्त गर्न बनाइएका सामाग्री भने भाग्यवादलाई प्रश्रय दिने खालका छन् । एउटा उदाहरण यहाँ प्रस्तुत गर्न चाहान्छु । वर्तमान विद्यालय तह कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकमा रहेको पाठ ‘भाग्यभन्दा परिश्रम ठुलो’ वादविवादमा यस्तो अभिव्यक्ति छ:  

भाग्यमा छैन भने जतिसुकै परिश्रम गरे पनि, टाउको फोरे पनि सफलता प्राप्त गर्न सकिँदैन ।....संसारमा जन्मिएका सबै व्यक्ति परिश्रम गर्दैमा महान् हुन सक्दैनन्, विद्वान् र धनाढ्य बन्न पनि सक्दैनन् ।.... यो सबै भाग्यको खेल हो । ....परिश्रम गर्दैमा सबै मानिस सुखी र सम्पन्न हुने भए मजदुर, भरिया वा श्रमजीवी मानिसहरुको जिन्दगी किन त्यति दुःखी हुन्थ्यो ? ....भाग्यमानी व्यक्ति सानैदेखि सुखी हुन्छ ।....परिश्रम गर्दैमा सबै सुखी हुने भए यो संसारमा कोही पनि दुःखी हुने थिएनन्, सबै धनी र सम्पन्न हुने थिए । यो संसारमा धनी वर्गले भन्दा गरिब वर्गले नै बढी परिश्रम गरेको, बढी पसिना बगाएको पाइन्छ तर ती बिचरा आफ्नो दैनिक गुजारा गर्न पनि सक्दैनन् । के तिनले कम शारीरिक श्रम गरेका छन् ? बिहान उठेदेखि बेलुका नसुतेसम्म तिनीहरु काममा जोतिएका जोतियै हुन्छन् तर साँझ बिहान हातमुख जोड्न पनि तिनीहरुलाई धौ धौ पर्छ । किनकि तिनीहरुको भाग्यमा सुख छैन ।

उपर्युक्त अभिव्यक्ति वादविवादमा परिश्रमको विपक्षमा भाग्यको तर्फबाट गरिएको हो । सरसर्ती हेर्दा पाठ्यपुस्तकमा विद्यार्थीहरुलाई भाषिक सिपमा अभ्यस्त गराउन राखिएको एउटा पाठ मात्र हो जस्तो ठानिएला । तर पाठ्यपुस्तकमा समावेश पाठ्यवस्तुले भाषिक सिप मात्र होइन जीवनदर्शन र सामाजिक चेतना पनि निर्माण गर्छ ।

हाम्रो विद्यालय तहमा पाठ्यपुस्तक शिक्षणको आधार हो । अझ बहुसङ्ख्यक शिक्षकले त यसैलाई पाठ्यक्रम ठानेको पनि पाइन्छ । पाठ्यक्रमको सहज पहुँच नहुने त्यसमा पनि पाठ्यक्रम अध्ययन नगर्ने शिक्षकले त यसैलाई मात्र आधार बनाएर शिक्षण गर्छन् । पाठ्यपुस्तकमा लेखेको कुरालाई अकाट्य सत्य मानेर पढाउने चलन छ । विद्यालय शिक्षाको यस्तो स्थिति भएको देशमा पाठ्यपुस्तकमा गलत धारणा निर्माण गर्ने पाठ्य सामग्री राख्नाले हामी कस्ता विद्यार्थी निर्माण गर्दैछौँ भन्ने प्रश्न उठेको छ । 

नेपाली विषय विद्यालय तहमा जसले पनि पढाउन सक्छ भन्ने विषयको रुपमा स्थापित भएको छ । अधिकांश नेपाली विषयका शिक्षक नेपाली विषयलाई भाषा शिक्षणका रुपमा होइन अन्य विषय शिक्षण गरे जस्तो विषयगत ज्ञानलाई प्राथमिता दिएर पढाउँछन् । वादविवाद शिक्षण गर्दा अघिल्लो दिन विद्यार्थीहरुलाई पाठ्य पुस्तकको वाद विवाद पढ्न लगाउने र भोलिपल्ट सोही शीर्षकमा कक्षामा वाद विवाद गराउने प्रचलन छ । हाम्रो समाज, प्रत्येक परिवार अनि व्यक्ति अझै पनि भाग्यमै विश्वास गर्ने भएकाले र पाठ्यपुस्तकमा पनि भाग्यकै पक्षमा जोड दिइएकाले 'भाग्यभन्दा परिश्रम ठुलो' शीर्षकमा वादविवाद गराउँदा विद्यार्थीहरु पाठ्य पुस्तकमा भाग्य स्थापित गराउने अभिव्यक्ति भएकाले विद्यार्थीले श्रमका पक्षमा बलियो मत नै बनाउन सक्दैनन् । 

यसले श्रमको महत्त्वलाई निस्तेज त पारेकै छ । हाम्रा सामाजिक समस्याहरु पनि भाग्यको परिणाम भएकाले चुपचाप सहनु पर्ने बानीको विकास गर्न उद्यत् छ । त्यसैले यस्तो अभिव्यक्ति समावेशी र समतामुलक समाज निर्माणको विरुद्धमा छ । यो भाग्यवाद श्रमको विरुद्धमा त छँदै छ । साथै यसले हाम्रा तमाम सामाजिक विभेदहरुलाई पनि भाग्यवादको लेप लगाएर वास्तविकता छोपिरहेको छ । आर्थिक असमानता, जातीय, लैङ्गिक विभेद पनि भाग्यकै परिणाम भएकाले स्विकार्नै पर्ने धारणा निर्माण गर्नमा सघाउ पुर्याएकोछ । 

आलोचनात्मक चेत र विश्लेषणात्मक सिप विकास गर्ने माध्यमिक शिक्षाको उद्देश्यमा उल्लेख गरिएको छ तर यस खालका पाठ्यवस्तुले विद्यार्थीमा थोपरिएका र लादिएका विचार जबर्जस्त, बिना सर्त स्वीकार गर्ने प्रवृत्ति निर्माण गरिरहेको छ । सामाजिक चेतनाका आलोक ढाक्ने यस्ता अवरोध पन्छाउन ढिलो गर्नु हुँदैन । सामाजिक कुसंस्कारका जालो च्यात्न अबेर गर्नु भनेको यथास्थितिमा जोड दिनु हो । श्रमप्रति सकारात्मक सोचाइ भएका विद्यार्थी र समावेशी समाज निर्माण गर्न ढिलो गर्ने शासकहरुको चेष्टा हो भने त्यसमा प्रश्न उठाउन जरुरी छ । 

चेतना निर्माणको बलियो औपचारिक स्थल विद्यालय नै हो । अनि विद्यालय तहमा नै यस्ता पाठ्य सामग्री अध्यापन गराइएपछि कसरी हाम्रा सामाजिक समस्याहरु समाधान हुन्छन् ? हाम्रा पाठ्य पुस्तक सामाजिक समस्या समाधानतर्फ होइन पुनरावृत्तितर्फ केन्द्रित छन् । जीवनभर परिश्रम गरेर पनि आर्थिक उन्नति नहुनु भाग्यमा नभएर होइन । हाम्रो सामाजिक संरचना, अर्थ व्यवस्था र राजनीतिक प्रणालीका कारण हो । ०६२/६३ को लोकतान्त्रिक जन आन्दोलन, त्यसले जनतामा ल्याएको चेतना र हामीले स्वीकार गरेको समावेशी समाजका विरुद्धमा भाग्यवादलाई प्रश्रय दिने यो पाठ्यवस्तुले गरिब, निमुखा, दलित, महिला, सीमान्तकृत समुदायले जीवनभर कर्म गरेर पनि कर्महारा बन्नुलाई भाग्यको खेल भनेको छ । भाग्यमा नभएर नै गरिब भएको अनि भाग्यकै कारण धनी भएको भन्ने बाल मस्तिष्कमा छाप पारेको छ ।

जति नै पसिना बगाए पनि भाग्य नहुनेको केही चल्दैन भन्ने कुरा पढाइएपछि श्रमप्रतिको सम्मान नै रहँदैन । भाग्यमा हुनेको तालुमा आलु फल्छ भन्ने जस्ता कुरा पढाएपछि कसले र किन गर्ने श्रम ? यस्ता प्रश्नको जवाफ पाठ्य पुस्तक लेखकहरुले दिनुपर्छ । होइन भने किन राखिन्छन् यस्ता पाठ्यवस्तु ? यसको पनि जवाफ दिनुपर्छ लेखकहरुले । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विद्यालय तहको पाठ्यपुस्तकले समावेशी बनाएको जस्तो गरेको छ तर त्यो शब्द तहमा मात्र छ । पाठ्यपुस्तकबाट ‘श्री ५ को सरकार’ हटाएर नेपाल सरकार बनाउने काम भयो तर विषयवस्तुको सामाजिक प्रभावका दृष्टिले अहिलेको नेपाली भाषाको पाठ्यपुस्तक ‘महेन्द्रमाला’कै पुनरावृत्ति हो ।

बाल्यकालमै मैले समाजमा जमिन्दारहरुले गरिबहरुको शोषण गरेको देखेँ । मेरा बुबा जमिन्दारकै खेती अधियाँ कमाउनु हुन्थ्यो । प्रत्येक वर्ष असार साउन महिनामा जमिन्दारहरुको रोपाइँमा हौली दिनुपथ्र्यो । हौली अर्थात् जमिन्दारको रोपाइँका दिन रोप्न ठिक्क पारेको आफ्नो मेलो छोडेर सित्तैमा सघाउनु पर्ने । यो प्रचलन तराईमा अझै छ । कतिपय लेखकहरु हौलीलाई हाम्रो कृषि संस्कृति मान्छन् तर मेरो विचारमा हौली कृषिमा सामन्ती संस्कारको प्रतीक हो । मेरो बुबा हौलीका दिन कामै नभए पनि प्रायः घर छोडेर टाढा आफन्तका घरमा जानु हुन्थ्यो । गाउँका सबै मानिसहरु हौलीमा पाएको खाजा ल्याएर खान्थे । तर मेरा बुबा भाग्नु हुन्थ्यो । यो कुरा त मैले पछि बुझेँ । बुबा भन्नुहुन्थ्यो, “शोषक सामन्तीका घरमा खाजाका लोभमा परेर सित्तैमा जोत्न जादिनँ ।” बुबाबाटै थाहा भयो मलाई श्रमको महत्त्व । सानैदेखि मेरा लागि श्रम अप्रतिम वस्तु र श्रमिकहरु महान् भए । त्यसैले श्रमको बद्ख्याइँ गरेर भाग्यको महत्ता गाउने उक्त पाठ मैले विद्यालय तह शिक्षणको १२ वर्षको अवधिमा पढाइनँ । यसमा मलाई कुनै अफशोच पनि छैन । किनकि पाठ्यक्रमको उद्देश्य विद्यार्थीलाई भाग्यवादी बनाउने होइन र छैन ।

पाठ्यक्रम विकास केन्द्रका पाठ्यपुस्तक लेखनका स्थायी वैतनिक विद्वान्हरुले तयार पारेको वादविवाद बोलाइ सिप विकास गर्न पाठ्यपुस्तकमा राखिएको हो । परीक्षणीय पक्ष र व्यावहारिक परिवर्तन भनेको पनि वादविवाद गर्ने सिपको मापन हो । त्यसैले मैले कक्षा १० मा वादविवाद शिक्षण गर्न अन्य शीर्षकहरु चयन गर्ने गरेको छु । ती शीर्षकहरु कर्मभन्दा भाग्य ठुलो भन्ने खालका हुँदैनन बरु तिनीहरुले विद्यार्थीमा समानता, भ्रातृत्व, सम्मान गर्ने सिप र कर्मयोगी बन्ने प्रेरणा दिन्छन् । 

कतिपयलाई लाग्न सक्छ वादविवाद त हो नि, यो वा त्यो पक्षमा राखेर कुरा बुझाए भयो नि । तर मेरो व्यक्तिगत अनुभवका आधारमा के भन्न सक्छु भने, यस्ता कुतर्कले विद्यार्थीको जीवनमा र जीवन दर्शनमा पारेको नकारात्मक प्रभाव अत्यन्त गहिरो हुन्छ । 

कभर फोटोः सिमोना सेराटो / फ्लीकर

निरन्तर रेकर्ड