मित्र राष्ट्रको राँगो

मित्र राष्ट्रको राँगो

उपदेशको भाकामा राँगो बोल्यो । ‘मोदीज्यूको बजारतन्त्रको नामै उदार छ, र श्रीहजुरको हिन्दुतन्त्र पवित्र छ'

खगेन्द्र संग्रौला १ मंसिर, २०७१

जे भयो त्यो हुनुसम्म उल्का भयो । एकसाथ कष्टकर र मनोरञ्जक घटना घट्यो । कात्तिक महिना । स्थान ललितपुर । नागरिक आन्दोलनका फिल्ड मार्शल विमल अर्याल मर्निङ वाकमा थिए । तिनको देहमा अलि बिसन्च थियो । पथपहरेज चालु थियो । नामी डाक्टर सुन्दरमणिद्वारा कडिकडाउ भाषामा रेड मिट निषिद्ध थियो । लुखुरलुखुर हिँड्दै जाँदा बाटामा सधैँ मासु किन्ने गरेको पसल आयो । पेट ठुस्स छ, विमलबाबुलाई आज मासु किन्नु थिएन । उनी लुसुलुसु बाटो लागे । तर पुख्खली मासु पसलेले उमङ्गमय स्वरमा डाके र मासु किन कि किन भनेर कर गरे । उनले मुख मिठ्याउँदै भने— सर, यो ऐतिहासिक मासु हो । जिन्दगीमा यस्तो मासु कहाँ पाउनु ? विमलको चित्त पगाल्न पसले मासुको अखण्ड महिमाको रहस्य खोल्न थाले । पसलेले एउटा राँगो किनेर ल्याएछन् । राँगो पनि लर्तरो होइन, दक्षिणी महान् मित्र मुलुकबाट भित्र्याइएको भयंकर राँगो । आयातीत अभागी राँगो सडकछेउमा नाके डोरीले बाँधिएको रहेछ । उतातिरबाट दुईजना तरुण नरनारी सँगसँगै नारिएर आएछन् । नारी रहिछन् श्रृङ्गार, वस्त्र र हाउभाउमा एमदमै टिपटप  । सके आफ्नो जोडासँग रुमानी कुरा गर्नमा व्यस्त हुँदी हुन्, राँगाका छेउमा पुगेको तिनलाई पत्तै भएन । र, जे भयो त्यो हुनुसम्म उल्का भयो । नारीका झोलाको उझिन्डो राँगाका सिङमा उनियो । लौ है पर्‍यो फसाद । नारीलाई पनि, राँगालाई पनि । अरे, पडोसी भूमिमा यो के भएको हो ? राँगो अताल्लियो ? हे हरि, जिन्दगीमा यो के भएको हो ? नारी अताल्लिइन् । नारीका झोलामा जेबी फोन थियो । राँगाका सिङमा रिङ टोन बज्न थाल्यो । रिङ टोनको बोल थियो— ‘गर्नु गर्‍यौ बलराम भैँसी पालेर’ । राँगो हाम्रै मक्तिमुखी मधेशतिरको हुँदो हो त नेपाली रिङ टोन धेरथोर बुझ्दो हो । तर त्यो पर्‍यो बिहारबासी र हिन्दीभाषी । विरानो देश, बिरानो रिङ टोन, राँगो तर्सियो । र, त्यो बेस्मारी सिङ हल्लाउँदै, फिँज काड्दै, खुट्टा बजार्दै आकाश चिर्न थाल्यो । त्यो थकित दु:खी वाइँ–वाइँ गर्दै बिपतमा गुहार माग्न थाल्यो । उसै त राँगो, त्यसमाथि मुङगालनको, अझ त्यसमाथि तर्सिएको, गुहार दिन आँट गर्ने कसको बुता ? तै केही गर्ला कि त भनेर राँगोपतिले बगरेलाई गुहार्‍यो । बगरेले झोला हात पार्न यसो सिङतिर हात लम्काउन खोजेको के थियो आतङ्कित राँगाले उसका टाउकामा ढ्याङ्ग धक्का दियो । बरा बगरे लड्यो र इन्तु न चिन्तु भयो । निजकी पत्नी आएर अलाप–बिलाप गर्न थालिन् । र, तिनले संकटमा न्याय माग्न प्रहरी बललाई गुहारिन् । 

 

अलिबेरमा धूलो उडाउँदै प्रहरी आयो । र, उसले घटनाको वृत्तान्त बुझेर ट्याक्क न्याय निरुपण गर्‍यो । एकाबिहानै पाउकष्ट गरेर आइदिए बापत प्रहरीले पसलेबाट दुई हज्जार नखत ग्रहण गर्‍यो । पसलले ध्वस्त भएको जेबी फोनको सट्टाभर्नास्वरुप नारीलाई दुई हज्जार नखत तिर्‍यो । र, उसले घाइते बगरेलाई कुच्चिएका टाउकाको सिटी स्क्यान गर्न चार हज्जार नखत टक्र्यायो । राँगो ढालियो । र, अहिले भुक्तभोगी पसले विमललाई भन्दैछन्— सर, इहलोकमा यस्ता राँगाको मासु कहाँ पाउनु ? भोलि किन्छु भनेर पाइने होइन क्यारे । आज नकिने भोलि पछुतो हुन्छ सर । त्यसले गर्दाहुँदी मासु लिनुस् । र, मनमा अजम्मरी सम्झनाको छाप ठोक्नुस् । अनि भाउ नि ? भाउमा त्यो आठ हज्जार नखत जोडिएको होला, हैन ? होइन सर, पसलेले भन्यो । मरीजाने जिन्दगीमा म त्यस्तो अधर्म किन गर्थेँ ? भाउ साबिकै हो । मासु अनमोल हो । मासुको तृष्णाले विमलबाबुको मुख रसायो । र, पसलेको चिप्लो वचन हार्न नसकेर विमलबाबुले आधा किलो मासु किने, र घर गएपछि खानु नहुनेले किन रेड मिट ल्याएको भनेर गृहमन्त्रीको प्रेमपूर्ण खप्की खाए ।

०००

मित्र राष्ट्रका ऐतिहासिक राँगाको विचित्रको सम्झना दिनभरि मेरो मथिङ्गलमा मडारिइरह्यो । अवचेतनमा परेको त्यसैको प्रभावले होला शायद, राति मेरो सपनामा बाङ्खुरे सिङ अघि लाएर भयङ्कर राँगो आयो । अहो ! जेमराजले महिषासुर पो पठायो कि ? पहिले त मनमा डरको उत्ताल छाल उठ्यो । तर कुरो बुझ्दा राँगो उही रहेछ । आप्रवासी राँगासँग मेरो वार्तालाप हिन्दीमा भयो । तर, लेखको लय भङ्ग नहोस् भनेर म यो वार्तालाप नेपालीमै प्रस्तुत गर्दैछु । 

‘नमस्ते जी,’ मित्र मुलुकका चौपाया पाहुनालाई स्वागत गर्दै मैले सविनय भनेँ ।

‘जय हिन्द,’ प्रत्युत्तरमा राँगो बोल्यो । सोचेँ— गाँठ्ठे, यो विशालकाय चौपाया त चर्को राष्ट्रवादी पो रहेछ कि कसो ?

‘कति कामले पाल्नु भो जी ?’ अतिथि महिषलाई मैले सोधनी गरेँ ।

‘तपाईँको देशको कुसंस्कृति र बर्बरताको निर्मम चरित्रबारे यसो केही जानकारी गराउँ कि भनेर....’

अरे, राँगाको कुरो त चर्को पो छ बा । यस पशुले भन्न खोजेको के होला ? मनमा दुर्दम जिज्ञासा जागेर अयो र मैले निवेदन गरेँ, ‘आज्ञा होस् जी ।’

अतिथि राँगाका सुन्दैमा रुँरुँ लाग्ने मर्का र गुनासा अनेक रहेछन् । वेदना र आक्रोश घोलिएको लबजमा उसले सोध्यो, ‘भन्नुस् जी, यो देश सभ्य हो कि जङ्गली ?’

‘आखिर यो अप्रिय प्रश्न उठ्यो नै किन ज्यू ?’

‘म र मेरो वंशका चौपायाहरुलाई ट्रकमा चरम् क्रूरतासाथ कोचेर रौरव नर्कको जस्तो यातना दिँदै ल्याइयो । मेरा नाकको डोरी माथि डन्डीमा बाँधियो, तल मेरा खुट्टा बाँधिए । बाटो जताततै जोल्ठिङ परेको छ । गर्मी उखर्माउलो छ । ट्रकमा हलचल गर्ने एक सुता ठाउँ छैन । थकान, तिर्खा र यातनाबाट पीडित भई मेरी प्राणपियारी प्रेमिकाले ट्रकमै प्राण त्यागिन् । मेरा अरु दुई सहयात्री बीचैमा गले, ढले र फुस्स मरे ।’

बेल्दाबोल्दै बिछोडको असीम वेदनाले राँगो द्रवीत भयो । उसका कचेरे आँखा रसाए र ऊ पिलपिल रोयो ।

‘भन्नोस् जी,’ आँखा पिर्लिक्क पल्टाउँदै राँगो कड्क्यो, ‘यो भूमि नरलोक हो कि नर्क हो ?’

म अकमक्क परेँ । अनि गम खाएर चित्तमा कुरो कोरल्दै भनेँ, ‘महिष प्रजातिमाथि यो सरासर अन्याय हो, म मान्छु । तर अन्यायको मुहान त हजुरकै देश हो नि । हजुरहरुलाई पाल्ने र पोस्ने उतैका । हजुरहरुलाई दुहुने, जोत्ने, गाडा तनाउने र कजाउने उतैका । अनि बूढेसकालमा काटिनका लागि हजुरहरुलाई बेन्चे बैगुनीहरु पनि उतैका । भन्देखिन् यताकालाई मात्र एकलौटी दोष दिनु किन ?’

अहिले भने राँगो अवाक् भयो । अनि अलिबेरको मौनतापछि प्रसङ्ग बदल्दै झनै उग्र स्वरमा ऊ भन्न थाल्यो, ‘साला के हो यो तपाईँहरुको गढीमाई ? हामी भैँसी प्रजातिको वंश विनाश गर्ने खालको बधशाला साला यो के हो ? धर्मका नाउँमा हद दर्जाको अधर्म, भन्नुस्त यो के हो ? म सोध्छु, यो करुणामयी मानवको देश हो कि क्रूर दानवको देश हो ?’

मेरो जिब्रो सनासाले अँठ्याएझैँ भयो ? राँगाको कुरो ठीकै हो ? यस्तोमा मैले के भन्ने ? त्यसैले प्रश्नको प्रहारले रन्थनिदै सूची गर्न म लुसुक्क मूत्रालयतिर लागेँ । बाहिर निस्कन्छु त मेरी बास्सै, राँगो रिसले बुमबुम भएको छ । उसका ढ्याके नाकका पोरा फस्फस् फुल्दै छन्, उसको सास बढेको छ, ऊ सिङले जोडजोडले आकाश जोत्दै छ ।

‘उत्तर दिन नसकेर मुत्नेसँग के कुरा गर्नु ?’ राँगाले रौद्र मुद्रामा हुङ्कार पोख्यो । ‘न्याय र नैतिकता, विचार र तर्क नहुनेसँग के वार्ता गर्नु ?’ मलाई हानूँ कि हानूँ कि गदै राँगो एक पाइलो अघि सर्‍यो । हनाइबाट हुत्त तर्किँदै म दुई पाइला पछि सरेँ ।

उत्तर विनाको दु:खले चालु प्रसङ्गबाट पन्छिँदै मलाई राँगालाई एक राउन्ड जबाफी दनक दिन मन लाग्यो । र, मैले कुरो मोदीतिर मोडेँ । ‘महिषजी, नरेन्द्र मोदीको खबर के छ ?’

‘मान्नुपर्नेको मान राखेर बोल्नु सिक्नुस्,’ आम्मामामा, राँगो त मलाई मर्यादाको शिक्षा दिन पो थाल्यो । ‘यो नाथे गोर्खा राजमा मर्यादा भन्ने चीज छँदैछैन कि कसो ?’

‘मत्लब ?’

‘सम्माननीय प्रधानमन्त्री नरेन्द्र भाइ दामोदरदास मोदी भन्नुस् ।’

‘जी जी ।’ मैले भनेँ । ‘मिस्टर महिष, सम्माननीय नरेन्द्र भाइ दामोदरदास मोदीबारे यहाँको विचार ?’

‘मेरो विचार उच्च छ ।’

‘भनाइको मत्लब ?’

‘मतलब प्रस्ट छ । सम्माननीय मोदीज्यू हिन्दुस्तानका देवतातुल्य प्रधानमन्त्री होइसिन्छ ।’

‘तर मिस्टर महिष, सम्माननीय मोदीका देवता त खतरनाक छन् नि ।’

‘के भन्नु भो रे ?’ कान ठाड्ठाडा पार्दै राँगाले जिब्रो चलायो ।

‘ध्यान र धैर्यसाथ सुन्नुस् जी ।’ मेरो जबाफी राउण्ड शुरु भयो । ‘सम्माननीय मोदीका दुईओटा देवता छन् । एउटा देवता नवउदारवादी बजारतन्त्र, अर्को देवता अनुदारवादी हिन्दूतन्त्र । यो क्रूर बजारतन्त्रमा ठूला माछाले साना माछालाई कपाकप खान्छ । र, यो असहिष्णु हिन्दुतन्त्रमा हिन्दु ठालु बन्छ, मुस्लिम पेलिन्छ । यस्तो अमानवीय आर्थिक र धार्मिक दर्शन भएका सम्माननीय मोदीजी देवतातुल्य ?’

‘हुर्हुर्, हुर्हुर्,’ राँगाका नाक र मुख दुबैबाट विचित्रको आवाज आयो । त्यो मेरो भनाइको ठाडो इन्कारीको आवाज थियो । र, थियो त्यो आक्रामक असन्तुष्टिको आवाज । क्रोधले राँकिँदै राँगाले सिङ हल्लायो । चर्मरक्षाका लागि चनाखो हुँदै म एक पाइलो पछि हटेँ ।

‘कान खोल्नुस्, कुरो सुन्नुस् र सत्यको मर्म बुझ्नुस् ।’ उपदेशको भाकामा राँगो बोल्यो । ‘सम्माननीय मोदीज्यूको बजारतन्त्रको नामै उदार छ, र श्रीहजुरको हिन्दुतन्त्र पवित्र छ । यो उदारता र पवित्रताउपर शंका गर्नु पाप हो ।’

‘जी, जी ।’ मेदीप्रति मिस्टर महिषको अन्धभक्ति देखेर भित्रभित्रै मुटु मिचिमिची हाँस्दै मैले भनेँ, ‘राँगा साहेब, सम्माननीय मोदीको राजमा भैँसी खलकलाई हुने फाइदाचाहिँ के हो नि ?’

‘तिमीलाई यति पनि थाहा छैन ?’ हियाउने लबजमा राँगाले प्रश्न गर्‍यो ।

त्यो सुनेर म मर्माहत भएँ । अरे, राँँगो त ‘तपाईँ’बाट ‘तिमी’मा पो झर्‍यो बा । ठूलो देशको राँगोमा समेत पनि ठुल्दाइको अहंकार ? यो त अत्ति भो । र, राँगाको ‘तिमी’को जबाफ मैले पनि ‘तिमी’कै तहमा झरेर ठोकिदिएँ । 

‘अँ, भन महिष । मोदी हैकममा महिषगणलाई के फाइदा हुन्छ ?’

‘फाइदाबारे सुन,’ राँगो मुख मिठ्याउँदै भन्न थाल्यो, ‘सम्माननीय मोदी सरकारमा माननीय मेनका गान्धी मन्त्री होइसिन्छ । माननीय मन्त्री मेनुकाजी पशुपन्छीप्रति मातातुल्य ममतामयी होइसिन्छ । अब भने पशुपन्छी जगत्को सुरक्षा, सम्मान र कल्याणका लागि केही ने कही जरुर हुन्छ । मैले नर्कको जीवन बिताउनु परे पनि मेरा वंशजहरुको भविष्य उज्ज्वल छ । अब तो आई बात समझ मे ?’

भन्नु मात्र राँगो छ, बजियाको सूचनाको भण्डार कति समृद्ध । जिब्रो कति वाचाल । अनि अहंकार कत्रो । अनि हनुमाने भक्तिभाव कति गहिरो । म अवाक् भएँ । 

‘जी, जी ।’ ब्यङ्ग्यात्मक भावमा मैले भनेँ, ‘जी, जी । सम्माननीय भगवान् मोदीजी......’

‘ठीक भनिस् ।’ अरे, अरे । राँगो त हुँदाहुँदा ‘तँ’को तहमा पो झर्‍यो ।

‘जी, जी । तेरा भगवान् सम्माननीय मोदीजी ।’ ‘तँ’वालेलाई मैले पनि ‘तँ’कै तहबाट ठोकिदिएँ ।

राँगो रिसले रनक्क रन्क्यो । उसका अग्निमय आँखामा आक्रामक भावतरङ्ग खेल्यो । चनाखो हुँदै म एक पाइलो पछि हटेँ ।

‘सुन् बहादुर,’ राँगो अहंकारको चुचुरोबाट बोल्यो, ‘मेरो देशका भगवान् मोदीजी तेरो देशमा पनि भगवानै हुन् ।’

‘नापेर ।’ मैले ओठे जबाफ दिएँ ।

‘यस्तो देश पनि के देश ?’ मुख बंग्याउँदै राँगाले भन्यो, सम्माननीय मोदीले ‘यो देश सार्वभौमसत्तासम्पन्न हो’ भनिदिनु पर्छ । तेरा नेताहरु ताली ठोक्छन् । सम्माननीय मोदीले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर प्रमाणपत्र दिनुपर्छ । ङिच्च हाँस्दै तेरा नेताहरु थप्पडी बजाउँछन् । यस्तो देश पनि देश हुन्छ ? न आत्मविश्वास छ, न स्वाभिमान छ, न आत्मगौरव छ । अनि सम्माननीय मोदीजी तिमीहरुका भगवान् नभए अरु के हुनु ?’

महिषवाणी सुनेर मेरा ओठ–तालु सुके । मैले मुख छोपेँ । राँगो अट्टहासको उग्र लयमा हाँस्यो । मित्र राष्ट्रका राँगाको उचाइ बढ्दै गयो । मेरो उचाइ घट्दै गयो । म हतप्रभ भएँ । अरु त अरु मित्र राष्ट्रका राँगाले समेत हामीलाई यसरी हेप्छ । दोष कसको ?

‘हउल्ट,’ पराजित मुद्रामा म वार्ताबाट पन्छिएँ ।  

अहंंकारले मैमत्त भएको पडोसी राँगो सिङले आकाश चिर्दै आफ्नो बाटो लाग्यो ।

 

*खगेन्द्र संग्रौलाको चर्चित स्तम्भ 'बेलाको बोली' रेकर्ड नेपालमा नियमित प्रकाशित हुनेछ । 

कभर फोटो: ह्यन्क हमट, फ्लीकर

निरन्तर रेकर्ड