चन्दका विप्लवी जटिलता

चन्दका विप्लवी जटिलता

आजका दिनसम्म सुखको सास फेर्न नपाएका बहुसंख्यक नेपाली जनता साइनिंग पाथ काइदाका निराश पथिक हुन अभिशप्त छैनन्

उज्ज्वल प्रसाई १५ मंसिर, २०७१
दिल्लीमा भेट भएकी एक पेरुभियन साथीलाई साइनिंग पाथबारे प्रश्न गरें । उनले जिब्रो टोक्दै भनिन्, ‘ती त आतंकवादी हुन् ।’ उनको भनाई कति गम्भिर थियो वा उनले साइनिंग पाथ नामको पेरुभियन कम्युनिष्ट क्रान्तिकारीबारे कति नजिकबाट अध्ययन गरेकी छन्, थाहा छैन । तर, उनले झट्ट जे जवाफ दिइन्, त्यो पेरुको पछिल्लो पुस्ताको बुझाई हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । प्रोट्रयाक्ट्रेड वार अर्थात वर्षौंसम्म लम्बिएको युद्धले अन्ततः युद्ध छेंड्ने सबैलाई आतंकवादी नै बनाउने हो । दशकौं लम्बिएको युद्ध ‘क्रान्तिकारी’ बनिरहन सक्दैन ।
 
कानु सन्याल जीवित छँदै नक्सलवारी छेऊको हात्तीगिस्सा भन्ने ठाउँमा पुगेर केही साथीहरुले उनीसंग भेटघाट गरे । सन्यालले दिक्दार भएर एक सानो झुपडीको आयतनमा आफ्नो राजनीति र चिन्तनलाई सिमित राखेका थिए । धेरै वर्ष अघि राज्यविरुद्ध युद्ध छेंड्न उनीहरुले भेला पारेका हतियारबारे उनलाई प्रश्न गरियो । ती हतियारहरु त्यही नक्सलबारी वरपर लुटपाट मच्चाउन प्रयोग भइरहेको उनले जवाफ दिएका थिए । त्यसको केही समयपछि उनले आत्महत्या गरे । युद्ध विश्रंखलित भयो भने, नेता नैराश्यको दलदलमा फँस्छन् । कति कार्यकर्ता नेताको नैराश्यपथका निकम्मा पथिक हुन्छन् । कति लुटेरामा परिणत हुन्छन् ।
 
भारतको छत्तिसगढ लगायत ठाउँमा माओवादीहरुले लडिरहेको युद्ध नक्सलवारीकै निरन्तरता भनिए पनि त्यो लामो समयको स्थगन पछि र धेरै टुट फुट पछिमात्र सुरु भएको नक्सलवारीको फरक संस्करण हो । नक्सलवारीबाट छत्तिसगढ पुगेको युद्ध त्यसरी नै अझै दशकौं लम्बिएर गयो र भारत संस्थापन अझ क्रुर बन्दै गयो भने, त्यसले दुखद नियति भोग्नेछ । धेरै मानिस मारिनेछन् । सयौं निराशामा डुब्नेछन् । बाँकी रहेका लुटपाट र आतंकमा सामेल हुनेछन् । भारतीय सत्ता ज्युँ का त्युँ रहेर बजारको सेवा गरिरहनेछ ।
 
आज भन्दा नौ वर्षअघि नेपालमा जे भयो, त्यसले माथिका सवै सम्भावनाहरुलाई टारेर एउटा नयाँ उदाहरण स्थापित गर्यो । विश्वभरिका वामपन्थी नेपालका माओवादीहरुबाट शिक्षा लिनुपर्छ भन्ने निश्कर्षमा पुगे । नेपाली माओवादीले युद्धलाई लम्बिन नदिने जुन निर्णय गरे र परिवर्तनका एजेण्डाहरुलार्ई जसरी मुखरित तुल्याए, त्यसबाट नेपालभित्रैका ठूलो बौद्धिक वृत्त र संसारभरका प्रगतिशिल मानिसहरु उत्साहित थिए । तर, उत्साह धेरै दिन टिक्न सकेन । माओवादी नेताका लागि शान्ति प्रक्रिया आँफैमा ठूलो परीक्षा थियो जसमा उनीहरु खरो उत्रन सकेनन् । शान्तिकालमा सामना गर्नुपर्ने चुनौतीको राम्रो आकलन र तयारी उनीहरुसँग रहेनछ भन्ने बुझ्न अब गाह्रो छैन । कारण, त्यस्तो आकलन र तयारी हुँदो हो त, यति धेरै फुट र विफलता माओवादीले बेहोर्ने थिएन । 
 
युद्ध छोटियो, राम्रो भयो । परिवर्तन धेरै मानेमा अधुरो रह्यो, अर्को साइनिंग पाथको सम्भावना बढेर गयो । साइनिंग पाथ वा नक्सलबारीको नयाँ नेपाली संस्करणको जन्म हुने खतरा बढेको छ । नेत्र विक्रम चन्द नेकपा–माओवादीबाट फुटेर ‘नयाँ क्रान्ति’को उद्घोष गर्न पुग्नु त्यही खतराको सूचक हो ।
 
चन्द पहिल्यैदेखि सबभन्दा असन्तुष्ट माओवादी नेता हुन् । एनेकपा माओवादीबाट मोहन वैद्य समुह फुट्ने बेला नै अर्को फुटको कालिगढ चन्द नै हुनेछन् भनेर केही विश्लेषकले अनुमान लगाएका थिए । चन्दले सो अनुमानलाई सही सावित गरिदिए । नेकपा–माओवादीको ठोस राजनीतिक कार्यसूची केही छैन । अल्मल र निराशा नै व्याप्त छ त्यहाँ । चन्दले त्यही अकर्मण्यता चिर्न खोजेका हुन् । तर, उनको अहिलेको कदम लामो चिन्तन, गहिरो छलफल, र घनिभुत वैचारिक अन्तरक्रियाबाट निकालिएको निश्कर्ष होइन । जुन राष्ट्रिय अन्र्तराष्ट्रिय परस्थितिका कारण तत्कालीन नेकपा माओवादीले युद्धको अन्त गरी शान्ति प्रक्रियामा सामेल भएको थियो, सशत्र क्रान्तिका लागि अहिले त्यो भन्दा बढ्ता प्रतिकूल समय छ । तर, नेपालमा र संसारभरि जसरी दक्षिणपन्थ नै राजनीतिक मूलधार बन्ने संकेत देखिएको छ, त्यसले कुनै प्रकारको हस्तक्षेपको माग अवश्य गरेको छ । राजनीतिक हस्तक्षेप कस्तो हुने भन्ने तय गर्न व्यापक वैचारिक छलफल र गहिरो सुझबुझ भने जरुरी छ ।
 
वर्तमान नेपालमा मुख्य हस्तक्षेप संविधान निर्माणकै प्रक्रियामा हुन जरुरी थियो । अहिले नेपालमा गर्न सकिने एक मात्र आन्दोलन भनेको प्रगतिशील, समावेशी, र सिमान्तकृत समुदाय र गरिब जनता अनुकूल संविधान निर्माणका लागि सुझबुझपूर्ण हस्तक्षेप गर्ने हो । त्यसका लागि परिवर्तनको पक्षमा रहेका सबैखाले शक्तिलाई मोर्चाबद्ध गराउनु हो । तर, नेकपा–माओवादीमा हुँदै चन्द लगायत नेताले गत संविधान सभा निर्वाचनमा एनेकपा माओवादीलाई हराउन सहयोग गरेर प्रगतिशिल संविधान बनाउने कामप्रति चरम उदासिनता देखाएका हुन् । अहिले आएर २०४७ सालकै जस्तो संविधान ल्याइने अवस्थाको निर्माण हुँदैछ । त्यसो हुन नदिनलाई कांग्रेस एमालेसँग गम्भिर बहस गरेर उनीहरुलाई आफ्ना मतमा सहमत गराउन सक्नु पर्यो । वा उनीहरुको सात प्रदेश वाला मोडल के कारणले पश्चगामी छ, धर्मनिपेक्षताको मुद्दा किन महत्वपूर्ण छ, राज्यको पुर्नसंरचना के गर्दा सम्पन्न हुन्छ, यस्ता विषयमा सक्दो बढी जनतालाई जानकार बनाउन सक्नुपर्यो । जसको बलमा संविधानसभा बन्यो, तिनै जनतालाई सडकमा उतारेर दवाव दिने बाहेक गर्न सकिने अरु केही छैन । तर, यी विकल्प अपनाउनका लागि चन्दहरुले पहिल्यै बाटो बन्द गरिसकेका थिए ।
  
त्यसैले चन्दले हिजो चितवनको एक जंगलमा नजिकका कमरेडहरुको भेला डाके । नयाँ क्रान्तिको उद्घोष गरे । जस्तोसुकै क्रान्तिमा सामेल हुन जनतालाई तयार रहन भने ।परोक्ष रुपमा उनले सशत्र क्रान्तिकै सम्भावना देखेका हुन् । अध्यक्षद्वय प्रचण्ड र किरण र अर्का चर्चित नेता बाबुराम भट्टराईप्रति असन्तुष्ट पूर्व लडाकुहरु आफ्नो साथमा भएको, अझै पनि केही हतियारहरु आफूसँगै रहेको, र युद्ध कौशलमा निपुण थुप्रै लडाकुहरु आफ्नै साथमा हुनुले युद्धको तयारी छिटो गर्न सकिने भएकाले उनी सशत्र क्रान्तिको रुपरेखा खिंच्न थालेको अनुमान गर्न सकिन्छ ।
 
शान्तिकालमा पार्टी बिग्रेको र नेताहरु आफ्नो र आफ्नो परिवारको सर्वोपरि हित जोगाउन लागेकाले थुप्रै पुराना माओवादी लडाकु र इमान्दार कार्यकर्ता पार्टीप्रति आक्रोसित छन् । त्यो आक्रोस उम्लन थालेको शिर्ष भनिने नेतागणलाई राम्रोसँग थाहा छ । तर, धेरै हदमा करियरिष्ट बनेका पूर्व क्रान्तिकारीहरुले आफ्ना क्रान्तिका सहयोद्धाले गरेका गुनासालाई नजरअन्दाज गरे । बरु, अनेक बजारवादी झुण्डसँगका गोप्य मन्त्रणा र उनीहरुकै सल्लाहमा आफुले जगेडा गरेका जेथा जोगाउनतिर बढी तल्लिन भए । यही अति प्रतिगामी हर्कतलाई एक्सपोज गर्दै चन्दले पुराना लडाकुका मन जितेका हुन् । तर, चन्दसँग युद्ध सरदार बन्ने सपना पालेका केही मानिसहरु पनि भएको र उनीहरुले पनि युद्धका लागि उक्साइरहेको अनुमान लगाउनेहरु धेरै छन् । जे होस्, अहिले युद्धको तयारी थालिएको साँचो हो भने, छिटै त्यसका संकेतहरु देखिन थाल्नेछन् । केही महिनामै उनीहरुले कार्वाही सुरु गनेछन् ।
 
जसै उनीहरुका छिटफुट कार्वाही सुरु हुन्छ, राज्यले युद्धलाई सुरुमै स्याबोटेज गर्ने नीति अख्तियार गर्नेछ । हिजो जनयुद्ध दबाउन लडेका र योजना बनाएर धेरै निपुण बनिसकेका योजनाकारहरु राज्यसँग पनि काफी छन् । फेरि भएन हिजो माओवादीमा रहेर काम गर्ने नेता र पुराना कार्यकर्ताहरु पनि राज्यका गतिला इन्फर्मर बन्नेछन् । कथं युद्ध लम्बिन थाल्यो भने, भारतले व्यापारका लागि लगानी होइन, अलिकति गरेको लगानी जोगाउन हतियार पठाउन थाल्छ । इतिहासलाई हेर्यो भने नेपालको अर्को छिमेकी चीन जहिल्यै संस्थापनलाई बलियो बनाउन तत्परता देखाउने मुलुक हो भन्ने सहजै बुझिन्छ । उसले विद्रोहीलाई साथ देला भनेर अनुमान गर्नु स्वैरकल्पना हुनेछ । अमेरीकाको आतंकवाद विरुद्धको मिसन त त्यसबेला सम्म पनि चलिरहने नै छ । परिणाम, अत्यधिक मानिस मारिनेछन् र धेरै मारिनेमा दुखिया गरिबहरु नै हुनेछन् । सबभन्दा ठूलो दुख त के भने त्यतिका मानिसका बलिदानी फजुल हुनेछ ।
 
आजका दिनसम्म सुखको सास फेर्न नपाएका बहुसंख्यक नेपाली जनता साइनिंग पाथ काइदाका निराश पथिक हुन अभिशप्त छैनन् । न उनीहरु नवउदारवादी बजारका सस्ता नोकर रहिरहन अभिशप्त छन् । त्यसैले पुरानो कम्युनिष्ट ढर्रा, क्रान्तिका पुराना मोडल, र राजनीतिक हस्तक्षेपका पुराना काइदामाथि गम्भिर आलोचनात्मक चिन्तन र संघर्षका नयाँ गोरेटोको खोज सायद अहिलेको टड्कारो आवश्यकता हो । तर, चन्द नै यस्तो सम्भावनाको सबभन्दा ठूलो बाधक बन्न सक्ने संकेत देखिंदैछ । 
 
कभर फोटो एरिक टोर्नर, फ्लीकर

निरन्तर रेकर्ड