एमाले महात्म्य

एमाले महात्म्य

एक वाक्यमा भन्दा, हिजो रुक्मांगद कटुवाल जे चाहान्थे, आज केपी ओली त्यही चाहान्छन्

उज्ज्वल प्रसाई २४ माघ, २०७१

यो एमाले–याम हो । मुलुकमा निष्पक्षता कायम राख्नुपर्ने दुई मुख्य पदहरुमा समेत अहिले एमाले–प्रभाव परेको छ । सभामुख पदमा आसिन सम्माननीय सुवास नेम्वांग पूर्णतया ओली गुटका इमान्दार कार्यकर्ता बनेका छन् । राष्ट्रपति पदमा विराजमान सम्माननीय रामवरण यादवलाई नचाहेर नै एमाले भन्दा फरक बन्नु परिरहेको छ । कटुवाल काण्डमा उनको भूमिका सम्झने हो भने यो भन्दा अर्को निश्कर्ष निकाल्न सकिंदैन । त्यसैले एमालेको चर्चा नगर्दा वर्तमान राजनीतिमाथि टिप्पणी गर्न असम्भव छ ।  

एमालेको डिएनए 

नेकपा एमाले आजका दिनसम्म आफूलाई वामपन्थी प्रगतिशील पार्टी बताउँछ । आफूलाई वामपन्थी नै दावी गर्ने माओवादीले ‘जात’को नारा उरालेकोले ‘वर्ग’को राजनीतिमा आफ्नो सर्वाधिकार भएको उसको दावी छ । कसैले दक्षिणपन्थी भनिदिए अत्यन्त क्रुद्ध हुन्छन् एमालेजन । वामपन्थप्रतिको उनीहरुको भावुकता बुझ्न सकिन्छ । ‘वर्ग’प्रतिको उनीहरुको अतिशय प्रेम पनि त्यति अवोधगम्य छैन । केवल ‘वर्ग’ र ‘वामपन्थ’ जस्ता शब्दका चलायमान अर्थको सर्कसमा एमालेले आफूलाई कहाँ उभ्याएको छ, त्यो निरुपण गर्नुपर्छ ।

एमालेको परिभाषामा वामपन्थ भनेको मदन भण्डारीको फ्रेम गरिएको फोटो हो, वस् । त्यो हरेक निष्ठावान एमालेका मस्तिष्कमा उनिएको छ । उनीहरुले रक्षा गर्ने वर्गीय स्वार्थ भनेको त्यो समुहको स्वार्थ हो जसले हिन्दुवाद मात्रलाई आफ्नो जीवन दर्शन मानेको छ, लोग्ने मानिस मात्रलाई शासक हुन लायक ‘नागरिक’ ठानेको छ, बजार मात्रलाई नियमक निकाय मानेको छ, शुद्ध खस नेपाली भाषा बोल्ने र दौरा सुरुवाल लगाउने मात्रमा शासन गर्ने ‘डीएनए’ रहेको ठानेको छ । 

यो निष्कर्षमा अर्को एउटा सपाट सत्य जोडिएन भने नेपाली राजनीतिको बुझाइ अपुरो हुन्छ– एमालेको पूर्व वैरी नेपाली कांग्रेस पार्टी अहिले एमालेकै भक्तजनहरुको झुण्ड बनेको छ । पर्खेर हेर्नुमात्र पर्छ, दुनियाँमा गाइजात्राका सयौं संस्करणहरु देख्न पाइन्छ ।  

पार्टी बुद्धिजीवीको भविष्यवाणी 

श्रीमान खिलराज रेग्मीले सफलतापूर्वक गराएको निर्वाचन अघिसम्म एमालेभित्रको ठूलो पंक्तिलाई निर्वाचन जितिएला भन्ने आत्मविश्वास थिएन । पार्टी नेतृत्व र शिर्ष भनिने नेतागण आफूले जित्नेमा निकै आशावादी भएपनि त्यो आशा तलसम्म सञ्चार भएको थिएन । शिर्ष तहमा बसेर उनीहरुले गर्ने अनेकन चलखेलका सूचनाबाट वञ्चित पार्टीका एकथरी बुद्धिजीवी नेताहरु भारतलाई भूत करार गर्दै ‘यो हुनेछ र त्यो हुनेछ’ भनेर पत्रिकामा हावादारी भविष्यवाणी गर्थे । अर्थात्, निर्वाचनमा माओवादीले नै जित्ने र मुलुक विखण्डनतिर गएर एक अंश भारततिर मिसिन सक्ने आशय व्यक्त गर्थे । माओवादी आँफैलाई जित्न हम्मे भएपनि विखण्डन सम्भव तुल्याउन भारतले जादुको छडी चलाएर उसलाई र मधेसवादीलाई जिताउने उनीहरुको जीरह रहन्थ्यो । चुनाव परिणाम उनीहरुको मनको डर भन्दा ठीक विपरित आयो । 

राष्ट्रवादी ती भविष्यवेत्ता बुद्धिजीवीले त्यसबेला कथेका कथ्यहरु पत्रिकाको अर्काइभमा गएर हेर्नुस्, तिनको ‘वर्गीय ज्योतिषशास्त्र’ कति कमजोर रहेछ भन्ने थाहा हुनेछ ।

चुनावको परिणाम आउन थालेपछि चुनावमा भारतको कुनै डण्डी नचलेको निष्कर्षमा पुगे उनीहरु । पहिलेको आफ्नो भविष्यवाणीलाई हावादारी करार नगरी नै उनीहरुले पछिल्लो निश्कर्ष निकालेका थिए । शिर्ष नेताहरुबाट बेवकुफ बनाइएका उनीहरु आफूमा सूचनाको अल्पता थियो भन्ने तथ्यबाट अहिले आएर जानकार भए होलान् । कारण, ति भविष्यवेत्ता आँफै अहिले नेतृत्वमा पुगेका छन् । उपल्लो दर्जाको फुली काँधमा टाँसेपछि उनीहरु भ्रममुक्त भएका हुन सक्छन् । तर, अहिले उनीहरुमा त्यस्तो भविष्यवाणी गर्ने आँट छैन किनभने समयले पल्टाबाजी खाँदा उनीहरु आँफै स्वार्थका अनेकन् छली पर्दा टाँग्ने र सिंगो पार्टीपंक्तिलाई कथित राष्ट्रवादी भ्रममा लठ्याउने ठाउँमा पुगिसकेका छन् । 

हिजो रुढ चिन्तन र कुनै ठोस सूचनाबिना विपक्षी र तिनले उठाएका मुद्दालाई भ्रष्टीकरण गर्न जति सजिलो थियो, आज आएर सूचनाको कसीमा घोटेर सत्यको भविष्यवाणी गर्न उनीहरुलाई त्यति नै सकस परेको छ । उनीहरुका पुराना राष्ट्रवादी तर्क सूचना र तथ्यको जमिन नभेटेर हावामा लावारिस झुण्डिएका छन् । अब उनीहरुसँग एउटै विकल्प छ, सर्वशक्तिमान अध्यक्ष के पी ओलीलाई मौन समर्थन गर्ने । संस्कृत पढेका आफ्ना बाहुन पुर्खालाई सम्झना गर्दै उनीहरु भन्दा हुन्, मौनं स्वीकृति लक्षणम् । 

शान्ति प्रक्रिया र ओली 

माओवादीले गरेको सशत्र विद्रोह जायज थियो वा थिएन ? सैद्धान्तिक व्याख्या र ऐतिहासिक निरुपण हुँदै जाला । तर, काट्न नसकिने सत्य के हो भने माओवादीलाई हतियारको बलमा हराउन नसकिने शक्ति मानेर नै वार्ता र सम्झौताद्वारा मूलधारमा बोलाइएको हो । त्यसैले उनीहरुले ल्याएका गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता जस्ता मुद्दाहरु स्थापित भएका हुन् । त्यसैगरी मधेस आन्दोलन भएकै हो र त्यो आन्दोलनलाई सम्बोधन गर्दै र खासगरी मधेसलाई नै अधिकारसम्पन्न बनाउन मुलुकलाई संघीय ढाँचामा ढालेर राज्यको पुर्नसंरचना गरिने तय भएको हो । एमालेका अध्यक्ष केपी ओली यो सत्यलाई अस्वीकार गर्न चाहान्छन् । समावेशिता सम्बन्धी उनको सिल्ली धारणा, कांग्रेस र एमालेले अघि सारेको सात मोडलको संघीय खाका, र धर्मनिरपेक्षताका विरुद्ध मोदनाथ प्रश्रितहरु मार्फत फैल्याइएका भ्रमलाई हेर्ने हो भने ओली, उनका पार्टीका बुद्धिजीवी नेता, र उनका कांग्रेसी भक्तजन कोही पनि माथि भनिएको सत्यलाई स्वीकार्न चाहँदैनन् ।

के चाहान्छन् त ओली ? सोझो भाषामा भन्दा शान्ति प्रक्रियाप्रति अत्यन्त नकारात्मक धारणा राख्ने नेपालको स्थायी सत्तालाई उद्धार गरिदिने मसिहा बन्न चाहान्छन् उनी । नेपालका स्थायी सत्ता भनेका उच्चपदस्थ सैनिकहरु, उच्चपदस्थ प्रशासकहरु, घरानिया व्यापारीहरु, बडागुरुज्यु र पण्डितका सन्तानहरु, विदेशी दातासंग सम्बन्ध भएका ठूला एनजीओ चलाउने र आइएनजीओका हाकिमहरु हुन् । तिनैको स्वार्थलाई रक्षा गर्न ओली उदाएका हुन् त्यसैले उनी विपक्षीलाई टाउको उठाउने कुनै मौका दिन चाहँदैनन् । एक वाक्यमा भन्दा, हिजो रुक्मांगद कटुवाल जे चाहान्थे, आज केपी ओली त्यही चाहान्छन् । महेन्द्रको निगाहामा हुर्केर जंगी अड्डाको हाकिम बन्न पुगेका कटुवाल र सशत्र कम्युनिष्ट आन्दोलनबाट बनेका नेता केपी ओलीमा यो समानता कसरी देखापर्यो ? नेपाली राजनीतिमा अनुसन्धान गर्न चाहानेका लागि यो अत्यन्त रुचिकर विषय हुन सक्छ । 

केपी ओली आफ्नो अभिष्ट पूरा गर्न सफल भए भने, हिजो भएका विद्रोहहरुलाई असफल मान्नुपर्छ । ति विद्रोहबाट प्राप्त उपलब्धिलाई सम्हाल्न नसक्नुमा विद्रोही शक्ति पनि दोषी हुनेछन् । आफूलाई परिवर्तनका शक्ति हौं भनेर दावी गर्नेहरु इमान्दार छन् भने, हिजोका घाउ कोट्याएर बसिरहँदैनन् । बरु हिजोबाट पाठ सिकेर भोलीका लागि अर्को चरणको आन्दोलनको तयारी गर्छन् । हिजो सत्तामा रहँदा उनीहरुबाट हुन पुगेका व्यवहारिक कमजोरी र गल्तीहरुमा टेकेर उनीहरुको साख गिराउनु एकथरीको धन्दा हो, त्यो अकण्टक चलिरहन्छ । नेता विशेषका कमजोरीलाई टेकेर सिंगो मुद्दाको भ्रष्टिकरण पनि सदैव चलिरहने नै छ । नाफामुखी प्रचार संयन्त्रहरुलाई त्यस्ता मसला तयार पार्नेहरु आफ्नो जिम्मेवारीबाट चुक्ने छैनन् । 

सत्यको अर्को रुप

तर, सत्यको अर्को पाटो पनि उजागर हुँदै जानेछ । कांग्रेस एमालेको गठबन्धन सरकार इतिहासको सबभन्दा निकम्मा सरकार हो भन्ने प्रमाणित हुन अब धेरै समय लाग्ने छैन । त्यसैगरी आवाजविहिन डोल्पालीहरु र सिमान्तकृत मधेसीको रगत लतपतिएको यसको अनुहारको आवरण उत्रिन पनि धेरै कुर्नु पर्छ भन्ने लाग्दैन । ‘वर्गीय’ राजनीति गर्ने एमाले मन्त्रीहरुले कस्तो ‘जात’ देखाए भन्ने धेरै दिन लुक्दैन । कांग्रेस मन्त्रीहरुले कस्ता कानुन बनाए, कस्ता निर्णय गरे, र ओलीको ढाड पछिल्तिर लुकेर कस्तो तर मार्न खोजे भन्ने पनि खुल्दै गएकैछ । अहिले आधारभूत आवश्यकताबाट वञ्चित हुँदा समेत जनता सरकार विरुद्ध आन्दोलित नहुनुमा सत्ताधारीले स्वाद मानेका छन् । यो स्वाद घातक बेस्वादमा परिणत भएको दिनदेखि विपक्षीको आन्दोलनले केही ऊर्जा प्राप्त गर्छ । त्यसका लागि एक मात्र सर्त छ, आन्दोलनकारीले इमान्दार प्रयत्न जारी राख्नुपर्छ । तिनलाई खुल्याइनेले लगाएका लोभीपापीको आरोप सत्य सावित गर्दै फेरि सत्ताको एक चोइटो पाउन हाम फालेर कोही आयो भने, उसले आफ्नो राजनीति गर्ने जमिन पूर्णतया गुमाउनेछ भन्ने बुझे हुन्छ ।  

अन्त्यमा 

केपी ओली लडभीड गर्न बानी परेका नेता हुन् । मार्सलका भेषमा कमाण्डो लगाएर विपक्षीको आवाजलाई दबाएका ओली एकपटक मुठभेड नै चाहान्छन् भन्ने स्पष्ट छ । उनी जतिसक्दो चाँडो मुठभेड होस् र विपक्षीलाई ठूलो खलनायक बनाएर दबाउन पाइयोस् भन्ने दाउमा छन् । रुक्मांगद कटुवालको भेषमा स्थायी सत्ताले जितेको इतिहास ताजै भएकाले अर्को पटक जित्ने लालसा ओलीमा हुनु अनौठो होइन । उनलाई परास्त गर्न चाहाने विपक्षी मोर्चाले कतिको बुद्धिमतापूर्वक जनता रिझाउने काम गर्छ भन्नेमा नेपालको भविष्य अडेको छ । 

*कभर फोटो: नेकपा एमाले केन्द्रिय कार्यालय, बल्खु / विकिपिडिया

निरन्तर रेकर्ड