धूलौटोदेखि साइबरको जङ्गलसम्म

धूलौटोदेखि साइबरको जङ्गलसम्म

साइबरको जङ्गल त मेरीबास्सै, वैचारिक झडपको दोहोरी र वादहरुको घर्षणको अखाडा पो रहेछ

खगेन्द्र संग्रौला २१ फागुन, २०७१

आफ्नै अतीततिर फर्केर घोत्लिँदा त मेरी बास्सै जीवनमा अग्घोरै लामो यात्रा पो पार गरिएछ हाउ भन्ने लाग्छ । योचाहिँ मैले एकपछि अर्को गर्दै प्रयोग गरेका लेखन प्रविधिसम्बन्धी यात्राका उर्धमुखी खुट्किलाहरुको कथा हो । बाल्यकालमा अक्षरसँग नाता गाँस्ने शुभमुहुर्तमा मैले धूलौटामा कपुरी लेख्न थालेको थिएँ । घुम्दैफिर्दै, जीवनका अनेक कुइनेटा छिचोल्दै अहिले म साइबरको जङ्गलमा पुगेको छु । कहाँको लोसे सामन्ती धूलौटो, कहाँको वायुपङ्खी पूँजीवादी साइबर ! एकबारको जुनी त यार्, लेखन प्रविधिका उपकरणहरु फेरीफेरी पो बाँचिएछ लौ ।

मेरो ग्रामीण बाल्यकाल नेपाली इतिहासको धूलौटे काल थियो । ऊबेला यता काठमाडौँको सिंहासनमा मुकुटधारी राजा हातमा राजदण्ड बोकेर बस्थ्यो । त्यो योग्यता र क्षमता तथा इमान र नैतिकताका आधारमा होइन,  जन्म र जात, धर्म र वंश एवं भाषा र लिङ्गका आधारमा बन्ने भुसतीघ्रे सामन्ती राजा थियो । सुदूर पूर्वको मेरो गाउँ ज्ञान र विज्ञान तथा प्रविधि र प्रगतिका हिसाबले घना अन्धकारमा थियो । भगवानका कृपामा चल्ने आदिम प्रकृतिको कृषि अर्थव्यवस्था थियो, र जीवन थियो घटनाशून्य, एकरस र निरस । जन्मिनु, जेनतेन गोजेरो भर्नु, तरुण हुनु, सन्तान पैदा गर्नु र फुस्स मर्नु जीवनको नित्य चक्र थियो । न कुनै नवीन वादविवाद, न कुनै नवीन अन्वेषण, न कुनै नवीन सिर्जना, न कुनै नवीन आविष्कार— जीवन हदैसम्मको जडताको कैदी थियो । कतिकति अघिदेखि मियो वरिपरि बूढो गोरुझैँ घुम्दै आएको त्यही जीवनचक्रको एउटा क्षण भएर म जन्मेँ ।

त्यो सुस्त र शुष्क जीवनमा रोचक र रोमाञ्चक एवं कौतुकमय र आल्हादकारी खासै केही चीज नभए पनि मेरो कालीदासीय कपुरी क भने अवश्यै थियो । जीवन र जगत्लाई हेर्ने मेरा आँखा खोलिदिने मेरो कपुरी क, जीवन र जगत्सँग अन्तक्र्रिया गर्ने माध्यमरुपी मेरो कपुरी क, जीवनको जटिल यात्रामा पहुँच र अवसरका ढोका खोलिदिने मेरो गुनिलो कपुरी क, र जीवनभरिको अभिन्न मित्र मेरो ढ्याके कपुरी क । त्यो अर्थपूर्ण कपुरी क लेख्ने मेरो धूलौटो थियो । धूलौटो भन्नु के छ, त्यस्तै अढाइ बाइ एक फुटजतिको फलेक छ, फलेकमा धूलो छ र धूलोमा छ कपुरी क लेख्ने बाँसको डीको । अगाडि गुरुको आसनमा गजधम्म मुद्रामा बा बसेका छन् । बाको समीपमा उस्तै परे चेलालाई मायालु भावले मरम्मत गर्ने चिम्टा छ । मेरो धूलौटो हुनुसम्म गुनिलो छ । लेख्यो, मेट्यो, फेरि लेख्यो, फेरि मेट्यो, अनि फेरि खराखरी लेख्यो र फेरि स्वाट्ट मेट्यो । जति लेख, जति मेट, धूलो निख्रिँदैन, डीको खिइँदैन । धूलौटाको बैगुन एउटै छ— मेरो अनुहार धूलाले धुस्रैफुस्रै हुन्छ । र, चन्चले हावाको झोँक्काले जनाउ नै नदिई मेरा आँखाभरि हठात् धूलो कोचिदिन्छ । तर जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ त्यो दु:खदायी धूलो कोचाइको पनि एउटा फाइदा छ । बाका चिम्टाको डर नमानी आँखा मिच्दै अलिबेर चैनले सास फेर्न पाइन्छ ।

मेरो धूलौटे बाल्यकालको जीवन अनेकथरी पिराहा र कष्टकर तत्वहरुले पलपल घेरिएको थियो । एउटा अदृश्य हाउगुजी थियो जसले घरिघरि मेरो सातो लिइरहन्थ्यो । मलाई अत्याउनु र मेरो मुख थुन्नु पर्‍यो कि जो पनि ‘चुप लाग्, हाउगुजी आउला’ भन्थ्यो । देख्नु कतै केही छैन, हाउगुजीको कुरा उठ्यो कि डरले मेरो आङ त्यसैत्यसै सिरिङ्ग हुन्थ्यो । मेरा कथाहरुमा भूत र प्रेत थिए, बोक्सी र डङ्किनी थिए, वनझाँक्री र मुर्कट्टा थिए । मेरालागि ती सबै भयानक त्रासका मुहान थिए । त्रासका ती दुच्छर मुहानहरु मेरो बाल्यकालको आनन्दका हत्याराहरु थिए । ती मेरा चुल्बुले खुल्दुली, मेरा कलिला प्रश्न र मेरा मूत्र्त आकार लिइनसकेका विमतिहरुका बाटाका काँडे तारका बार थिए । ती सब जीवनको जीवन्त स्पन्दनको हुर्मत लिने तत्वहरु थिए । ती मेरो मुख थुन्ने बुजो थिए, ती मेरा कान थुन्ने ठेडी थिए, ती मेरा आँखा घोच्ने झीर थिए । ती सब मलाई रुढ र क्रूर परम्पराको मृतवत् गोटी बनाउने साधनहरु थिए । र, मेरो बाल्यकालको जीवन ती यावत् भयकारी तत्वहरुको घेराभित्रको निरुपाय कैदी थियो । त्यो निसासलाग्दो जीवनमा मेरो धूलौटे कुपुरी क मेरो आशाको एकमात्र धिपधिपे जूनकीरी थियो । जीवनको विराट् विस्तारमा अहिले म जहाँ छु, खासमा मलाई यसतर्फ डोर्‍याउने आरम्भिक धूमिल ज्योति मेरो त्यही धूलौटे कपुरी क हो ।

जब म धूलौटामा बाराखरी लेख्ने अभ्यासमा पारङ्गत भएँ, धूले संसारबाट खबटे संसारमा मेरो बढुवा भयो । प्रविधिको एक तह उक्लिएर अब म भालुबाँसका खबटामा लेख्न पाउने भएँ । बाँसघारीमा खबटा खोज, घाममा सुकाएर खबटालाई समतल बनाऊ, खबटाको झुस धूलाले रगेडेर फाल, र खबटामा झारपातका झोलको मसी र बाँसको कलमले लेख । लेखाइको त्यो खबटे अभ्यास तुरिएपछि पहाडे कागतमा मेरो बढुवा भयो । अरे हाउ, गर्‍यो त केटाले ! व्यग्र प्रतीक्षापछि हात लागेको त्यो सफलताको गर्वले मेरो नाक फुलेर घिरौँलो जत्रो भयो । फुरुङ्ग पर्दै मनमनै भनेँ— हेर है, अब भने म पनि बा र दाइहरुसरह भएँ । आखिर तिनले लेख्ने पनि त घुँडामा राखेर त्यही पहाडे कागतमा हो । लौ त तिनले अब मलाई हेपून् !

लेखन यात्रामा भद्दा पहाडे कागत र बाँसको ढ्याके कलमपछि छरितो सोह्र पाने कापी र चिटिक्क परेको फुल्टिनमा मेरो  स्तरबृद्धि भयो । उता म कत्ति न जान्ने हुँ भन्ने मेरा जोतिसी बा पहाडे कागतमै अड्किए, यता म फड्को मारेर काइदाको कापी समात्न पुगेँ । अब भने बाको चिम्टा थाकेर कतै कुनामा थन्कियो । र, विजयभावले मेरो शिर सगरमाथाको चुचुरो भयो । यिनै कापी र फुल्टिनको सहाराले मैले औपचारिक पढाइको मेसो तुरेँ, र यिनकै सहाराले मैले लामो समयसम्म मौलिक लेखन र अनुवाद गरेँ । धेरैपछि, विक्रमाब्दको चालीसको दशकमा अर्को फड्को मारेर म टाइपराइटर स्पर्श गर्न पुगेँ । सेकन्ड हेन्ड भएर के भो, कार्ल माक्र्सको जर्मनीमा बनेको मेरो रेमिङ्टन टाइपराइटर गजपको थियो । त्यसले छिपासरहका अक्षर टाइप गथ्र्यो । चल्तीका टाइपराइटरहरु हेरी त्यो किञ्चित् दुर्लभ थियो, त्यसैले त त्यसको शानै अर्कै थियो । औँला नचाउँदै मुरली मकै पड्किएझैँ पटटको अविराम लयमा मैले त्यो टाइपराइटरले थुप्रै किताब उल्था गरेँ । त्यो थियो कलमभन्दा कता हो कता छिटो र साफी गर्ने लेठोबाट मलाई मुक्ति दिने  बडो कल्याणकारी यन्त्र । क्याबात् ! मेरो टाइपराइटरले मेरो लेखन–यात्रामा गति र प्रगति थपिदियो । 

अर्को दशकमा उत्सवी आनन्द लिएर मेरो घरमा आयो जादूगरी कम्प्यूटर । पहिले धूलौटे कालमा बा मेरा गुरु थिए, अब कम्प्यूटर कालमा छोरो मेरो गुरु भयो । कहाँको त्यो चिप्लेकीरो सरी चल्ने धूलौटे युग, कहाँको तुफानी वेगमा चल्ने यो कम्प्यूटर युग †  समयले पल्टा खायो । र, किशोर वयको छोरो कत्ति न जान्ने हुँ भन्ने उसको बाबुको गुरु बन्यो । कम्प्यूटर मेरालागि एकसाथ रोमान्च र रहस्यको वस्तु हुनगयो । आम्मामामा, त्यसका चमत्कारमय जुक्तिहरु त कति कति † त्यसको बिछट्टको चातुर्य, त्यसको अचुक स्मरणशक्ति, त्यसको अनुपम आज्ञाकारिता, ती सबको म खै कसरी बयान गरु ? धन्य कम्प्यूटर, त्यसले मेरो लेखनको गति ह्वात्तै बढायो र मेरो वृत्ति आर्जनमा निकै नै सघाउ पुर्‍यायो । लेख्ने कम्प्यूटरमा र पत्रिकामा छाप्न पठाउने फ्याक्स मिसिनमार्फत् । यसरी मेरो लेखन यात्रामा अर्को छलाङकारी मोड आयो । अब समय र पैसा खर्चेर धाईधाई पत्रिकाको अड्डा जाने झ्याउलो छुट्यो । अनि त्यसपछि आयो तमासा देखउँदै गगनमार्गी इमेल । शानले कुर्सीमा बसेर कम्प्यूटरमा फटाफट लेख्यो, घर बसीबसी इमेलबाट हुत्त फाल्दियो, चीज भोलिपल्ट बिहान जस्ताकोतस्तै छापिएर आउँछ । भएन त हाइसन्चो ! 

अर्को डेढ दशकपछि आनाकानी गर्दागर्दै म साइबरको जङ्गलमा पुगेँ । ख्यालख्यालमै पुगेँ र उम्किनै नसक्ने जन्जालमा फसेँ म । मेरा कतिपय युवा पाठकहरु मलाई कर गरिरहन्थे— हाई ब्रो, ट्वीटरमा जाऊँ, त्यहाँ अर्कै संसार भेटिन्छ । एक त प्राविधिक उपकरणहरु चलाउने काममा म महाको बुद्धु छु, अर्कोतिर जीवनका झैझमेलाहरु मेरालागि यसै पनि पर्याप्त छन् । त्यसैले थप झमेलाहरु निम्त्याउन म किन त्यता लागूँ ? यता यसो भन्दै म पन्छिइरहेँ, उता साइबरको जङ्गलमा पसेकाहरुले नि:शुल्क अर्तिबुद्धि दिँदै मलाई सम्झाइरहे— फेसबुक ठीक छैन, त्यहाँ झल्लाहरुको बाहुल्य छ । ट्वीटर तैबिसेक ठीक छ । कारण त्यसमा शब्दका सीमा छन् । त्यो सीमाभित्र बसेर केही भन्नलाई थोरै भए पनि बुद्धितत्व र भाषाको केही न केही कौशल चाहिन्छ । त्यसैले त्यहाँ झल्लाहरुको संख्या अपेक्षाकृत कम छ । आ... नदुखेको टाउको बित्थामा किन दुखाउनु ? मुख बंग्याउँदै म पन्छिइरहेँ । एक दिन मेरा एकजना तरुण मित्रले ओठमा मृदु मुस्कान झुन्ड्याएर मनोविनोदी पाराले उद्घोष गरे— ल है, ट्वीटर एकाउन्ट खोलियो । जाने हैन बूढा साइबरको जङ्गल घुम्न ? सुनेर म त्यसैत्यसै रनभुल्ल परेँ । तै तै हेरिहालूँ न त के रहेछ यो साइबरको जङ्गल, मेरो जिद्दीले यसरी घ्याप्पै घुँडा टेक्यो । र, म नाइँनाइँ भन्दाभन्दै म साइबरको घना जङ्गलको होस्ल्याङे यात्री बन्न पुगेँ ।

लेखकको पहिलो ट्वीट:

थरीथरीका ट्वीटे पार्टनरहरुको संसारमा पाइला टेक्नु के थियो, म अनायासै चौतर्फी घेराउमा परिहालेँ । गर्नलाई ट्वीटरको रहस्यमय भित्तोमा एउटा सूत्र–वचन टाँस्नु सिवाय म केही नै गर्दिनँ । त्यो पनि दिनदिनै कहाँ हो र ? कतिले त कतिकति दिनसम्म म हात बाँधेर चुपचाप बस्छु । ट्वीटे जगत्मा म कसैसँग दोहोरो वार्ता गर्दिनँ । म प्रश्नोत्तरमा भाग लिन्नँ । जबाफी आक्रमण म गर्दिनँ । न त म कसैलाई धन्यवाद नै भन्छु । म केवल एउटा सूत्र–वचन फाल्छु र कसले के प्रतिक्रिया गर्‍यो होला भनेर फुर्सदको बेला यसो चियाएर हेर्छु । तर अचम्म छ, खास चाखै नमान्दा पनि यो नाथे साइबरे जङ्गलको नशा लाग्दो रहेछ । हैन, कसैले केही नयाँ कुरा पो भन्यो कि ? कतैका कसैको दिव्य वचनको अमृतरसबाट म वञ्चित पो भएँ कि ? नशाको तोडले उखर्माउलो खसखस लागेर आउने, अनि आ... हेर्दिनँ भन्दाभन्दै ट्वीटे जगत्मा अग्घिनै पुगिहालिने । परेन कि फसाद †

साइबरको जङ्गल त मेरीबास्सै, वैचारिक झडपको दोहोरी र वादहरुको घर्षणको अखाडा पो रहेछ । कोलाहलमय ट्वीटे जगत्मा विचार र मनोवृत्तिका हिसाबले मोटामोटी चारथरी मनुवाहरुसित मेरो जम्काभेट भयो । हुनलाई ती र त्यस्ताहरुसित यता मुद्रण माध्यममा पनि मेरो बारम्बार भेट भएकै हो । तैपनि त्यो अदृश्य संसारको अनुभव मलाई किञ्चित् रोमाञ्चक लाग्यो । त्यहाँ तिनका अनुहारको केवल अचल छविछायाँमात्र देखिन्छ । छुपेरुस्तमहरुको त त्यही छायाँछविसम्म पनि गोचर हुँदैन । ती आफ्ना मत र विमत वा निवेदन र आक्षेपका पन्तुरा बोकेर अघि सर्छन् । र, जो जे हो, जो जस्तो हो र जो जताको हो, तिनले आफ्ना वचनमा आफ्ना सक्कली अनुहार ख्वात्तै उजागर गर्छन् ।

मेरा ट्वीटे पार्टनरहरुको पहिलो कित्तामा मेरा शुभचिन्तकहरु स्नेहशील र मुस्कानमय मुद्रामा खुरखुर–खुरखुर प्रकट भए । दृष्टिकोणको साम्यता र भावनाको समानुभूतिका कारण ती मेरा निकटवर्ती मित्रहरु रहेछन् । सूत्र–वचनमा म जेसुकै लेखूँ, त्यसको ती कि त सह्राहना गर्छन् वा हाम्रै बूढाले भनेको कुरा हो भनेर मौन बस्छन् । ती पक्कै पनि न्यूनाधिक निजत्वसहितका मानिस हुन्, त्यसैले मसँग अवश्यै तिनका विमति हुँदा हुन् । तर मसँग थान थाप्न, विमति जनाउन वा घर्षणकारी मुद्रामा भिड्न ती कहिल्यै अघि सर्दैनन् । ट्वीटेको दोस्रो कित्तामा मसित बहुधा असहमत हुने मनुवाहरु पर्छन् । आफूसित केही न केही बौद्धिक सामथ्र्य र अभिव्यक्तिको कला हुनाले यी पार्टनरहरु धेरथोर शिष्ट र मर्यादित तरिकाले मसित विमति जनाउँछन् । यिनले मप्रति कठोर कटाक्ष नै गर्दा पनि शैलीगत विशिष्टताका कारण मलाई त्यो उतिसाह्रो तिक्त लाग्दैन । अनि एकथरी सीधा स्वभावका आदर्शवादी छन्, जो मलाई बडो प्रेमले यो जटिल जगत्मा पूरा गर्न नसकिने परामर्श दिइरहछन् । विनयशील भाकामा ती भन्छन्— गुरु † हजूरले वाद र विवाददेखि पर हटेर र दल र दलीय झडपभन्दा माथि उठेर स्वच्छ, पवित्र र कञ्चन कुराहरु लेखिदिए लोकलाई कति राम्रो हुन्थ्यो † म मान्छु, यो नि:सन्देह सदाशयतायुक्त र सुन्दर परामर्श हो, तर दुर्भाग्यवश, दृष्टिकोण र स्वार्थमा चर्कोसँग ध्रुवीकृत भएको यो अस्वच्छ, अपवित्र र अकञ्चन जगत्मा यो परामर्शले गरिखान असम्भव छ । धु्रव–ध्रुवमा, कित्ता–कित्तामा र कोण–कोणमा विभाजित एवं पलप्रतिपल घर्षणकारी जगत्मा वाद र विवाददेखि पर हट्नु भनेको जीवनदेखि नै पर हट्नु हो, र दल र दलीय झडपभन्दा माथि उठ्नु भनेको आफैँ आफ्ना कान समातेर माथि हावामा उठ्नुजस्तै हो । मलाई माफ गर मेरा प्रिय मित्रगण, हामी बाँचेको समाजमा यो ‘पर’ र ‘माथि’को कतै अस्तित्व छैन ।

आयो अब चौथो कित्ताका झक्की ट्वीटेहरुको कारुणिक प्रसङ्ग । साइबरको संसारका यी अजीवका जीव हुन् । यिनका सपाट दृष्टिमा जीवन सरल रेखामा सुरुसुरु हिँडछ् । र, जीवनलाई सदैव सरल रेखामा हिँडाउन यी ट्वीटेहरु गर्नुबिधि गिद्दी गर्छन् । यिनको अभिव्यक्तिको रुप बिल्कुल एकांकी र एक आयामिक छ । त्योबाहेक मानौँ अभिव्यक्तिको अर्को कुनै रुपको अस्तित्वबारे यी बिलकुल अनभिज्ञ छन् । यिनको सपाट बुझाइमा विमति र विद्वेषबीच कुनै भेद छैन । आलोचना र निन्दाबीच कुनै पार्थक्य छैन । ब्यङ्ग्य र भत्र्सनाबीच कुनै सीमारेखा छैन । व्यञ्जना र लक्षणाबीच कुनै बेग्लोपना छैन । यिनका दृष्टिमा जीवन खालि मालिक र भक्तमा विभक्त छ । यिनको परिभाषामा यी दुईथरी नाता र यी दुईथरी प्रवृत्तिबाहेक जीवनमा अन्य नाता र प्रवृत्तिको न कुनै अस्तित्व छ, न त्यस्तो अस्तित्वलाई यो नरलोकमा कुनै स्थान नै छ । यी ट्वीटेहरु साइबरका दूलाबाट कमिलाझैँ ह्वार्ह्वार्–ह्वार्ह्वार् बाहिर निस्कन्छन् र मेरो गर्नु नगर्नु बद्ख्वाइँ गर्छन् । यी मलाई ‘तँ’को संज्ञाले सम्बोधन गर्छन् । जस्तो कि ‘तँ चोर, तँ गधा, तँ भाते, तँ किन नमरेको ? तँ प्रचण्डको पुच्छर, तँलाई बाबुरामले पैसा पठाउन छाड्यो कि कसो ? साले, तँलाई परैबाट हान्दिउँ जस्तो’ आदि । जो आफ्नो मालिकको भक्त होइन उसलाई मेरा यी झक्की मित्रहरु परचक्री ठान्छन् । मप्रति लक्षित तिनका दिव्य कथनहरुमा मानौँ ‘मेरो काइदाको मालिक हुँदाहुँदै तँ अर्काको भक्त हुने’ भन्ने भाव लुकिबसेको हुन्छ । यी ट्वीटेहरु ठोक्रामा शब्दका विषाक्त तीरहरु बोकेर मानौँ कुन बेला त्यो आउला र ठाकूँला भन्दै हर्दम्  कुरिबसेका हुन्छन् । अनि मेरो सूच–वचनके विषय, सन्दर्भ र अभिप्रायको एकरत्ती पर्वाह नगरी अन्धाधुन्ध तीर चलाउँछन् । रोचक कुरा के भने यस्ता आठ–दश ट्वीटेले ममाथि धावा बोलेपछि एउटा सानो मानिस खुर्खुर दगुर्दै आउँछ र यिनका नितम्ब वा ढाडमा पयर चुम्बन प्रदान गरी हावामा विलुप्त हुन्छ । त्यो दृश्य हेर्दै म मुसुमुसु हाँस्छु ।

घडीको सुई हर्दम् सीमाबद्ध वृत्तभित्र घुमिरहे पनि मेरो समय सीमावद्ध छैन । त्यो अविच्छिन्नरुपले अगाडि बढिरहन्छ । तर मेरा यी चौथो काँटका ट्वीटे मित्रहरुको समय नित्य घडीको उही वृत्तभित्र घुमिरहन्छ । एकबारको जुनीमा के गर्ने र के नगर्ने, केलाई समर्थन गर्ने र केको विरोध गर्ने यसबारे मेरा आफ्नै मत र मान्यताहरु छन् । यो गर्नु र नगर्नुको आदेश म कसैसँग कतै माग्दिनँ,  म आफ्नै अन्तस्करणबाट आदेश ग्रहण गर्छु ।  म जे गर्छु वा जे गर्दिनँ त्यसका नतिजाहरुप्रति म स्वयं जिम्मेदार छु । समकालीन राजनीतिका न्यायमुखी परिवर्तनका एजेन्डाहरुको मूल बाहक को हो ? हजूर–हामीलाई मन परे पनि मन नपरे पनि यसको अकाट्य उत्तर हो— माओवादी । अरु त अरु, उग्र सनातनीहरुसमेत अनिच्छापूर्वक यो कुरा मान्न विवश छन् । भीषण संघर्षको वेदीबाट जब मानव मुक्तिका एजेन्डाहरु उठ्छन्, विधिको लिखतमा तिनलाई लिपिबद्ध गर्ने कर्ताहरु त हुन्छन् नै । मैले जम्माजम्मी तिनै एजेन्डा र तिनै कर्ताहरुप्रति क्रियाशील समभाव राख्ने गरेको छु । यो त बख्त बख्तको बात पो हो जी । 

जीवन कुनै स्थिर विन्दुमा अड्किएर जाम हुँदैन । जीवनका उकाली र ओराली हुन्छन् । र नै प्रगतिशील परिवर्तनका एजेन्डाका कर्ताहरुका जीवनका पनि आफ्नै उकाली र ओराली हुन्छन् । सामाजिक घर्षणको आगोबाट एजेन्डाको उठानकर्ता र बाहक आफ्नो सामाजिक–नैतिक दायित्वबाट च्यूत हुँदै गए त्यसलार्इृ बाँदरले मरेको बच्चालाई बोक्न नछाडेझैँ बोकिरहने कि बिसाउने ? म त बिसाउँछु । तर लोकको हित गर्ने परिवर्तनका एजेन्डाहरु भने नित्य–निरन्तर मेरो जीवन–यात्राका अभिन्न अङ्ग हुन् । बरु जीवन छाडिएला, म तिनलाई कहिल्यै छाड्दिनँ । तर फसाद छ, चौथो काँटका मेरा अविस्मरणीय ट्वीटे मित्रहरुलाई यो कुरा म कसरी बुझाउँm ?

आफ्नै शब्दहरुको ऐनामा यी ट्वीटे पार्टनरहरुका अनुहार विचित्रका देखिन्छन् । तीनवटा ‘म’प्रति अर्थात् माओवादी, मधेशी र जनजातिप्रति यिनका चित्तमा चर्को घृणा छ । यी माओवादीको बिम्बमा राक्षस देख्छन् । मधेशबासी नेपालीहरुको अस्तित्वमा यिनलाई बिदेशी गन्हाउँछ । र, जनजातिहरुका पहिचानका आकांक्षामा यिनका आँखामा जातीय विद्वेषको चित्र नाच्छ । यी दु:खी हुन्, कारण जीवनका सबै जटिल प्रश्नहरुका उत्तर यी मनुवा रुढ परम्परामा, सरल रेखामा र सेतो–कालो रङमा खोजिहिँड्छन् । आफ्ना उत्तरहरु जब मेरा उत्तरहरुसँग मिल्दैनन्, यी मित्रहरु दाह्रा किट्दै मतिर धारे हात लगाउँछन् । त्यसो गर्दा तिनलाई आनन्द आउँछ भने तिनको आनन्दप्रति मलाई कुनै इष्र्या छैन । यसरी तर्कना गर्दै म साइबरको जङ्गलबाट फुत्त बाहिर निस्कन्छु ।

मेरा ट्वीटे मित्रहरुको यो झुन्डमा थुप्रै छद्मभेषी अन्तरेहरु प्नि छन् । ती न साइबरको भित्तोमा आफ्नो फोटो टाँस्छन् न आफ्नो सक्कली नाम नै लेख्न आँट गर्छन् । अनुहार लुकाउँछन्, नाम लुकाउँछन् र मलाई भन्नु नभन्नु भन्छन् । रिसानी माफ होस् जी, अनुहार र नाम लुकाएर जीवनमा दुई नम्बरी क्रीडा गर्ने धन्दा त चोरको पो हो !

मुद्रण माध्यममा स्पेसको सीमा हुन्छ । त्यो सीमित स्पेसमा मुन्टो लुकाउने ठाउँ पाउन केही न केही योग्यता हुनैपर्छ । अलिकता अन्तर्दृष्टि र स्वप्नदृष्टि, अलिकता अभिव्यक्ति कला र अभिव्यक्तिको मर्यादा आदि । त्यो सीमाभित्र ठाउँ खोज्न क्यूमा उभिनेहरुको लर्को सदैव लामो हुन्छ । तीमध्ये कति अभागी त ठाउँ नपाएर सुस्केरा हाल्दै बीचैमा अलप हुन्छन् । उसो त त्यहाँ ठाउँ पाउने भाग्यमानीहरुको भाग्य पनि कठोर प्रतिस्पर्धाको चक्करमा सधैँ खतरामा हुन्छ । तर साइबरको जङ्गलमा भने स्पेस जति पनि हुन्छ । त्यो स्पेस पाउन न कुनै रोकटोक हुन्छ, न कुनै योग्यता चाहिन्छ । त्यसैले ट्वीटर जगत्का चारनम्बरी मित्रहरुबारे मलाई दु:ख एउटै कुरामा छ, यिनले जीवनमा कहिल्यै केही नसिक्ने पो हुन् कि !

*यो निबन्ध 'पाण्डुलिपि' साहित्यिक पत्रिकामा प्रकाशित छ ।

लेखकका ट्वीटहरु:

कभर फोटो: मार्क स्मिथ / फ्लिकर

निरन्तर रेकर्ड