भारदह घटनाको नालीबेली

भारदह घटनाको नालीबेली

आन्दोलनमा भएको झडपका कारण र राजीव राउतको ज्यान जाने गरी प्रहरीले गरेको कारवाहीबारे रेकर्ड नेपालले गरेको खोज

रेकर्ड नेपाल ६ भाद्र, २०७२

मधेसमा आन्दोलन हुँदा सबैभन्दा छिटो रापिलो बन्ने मधेसका केही ठाउँहरुमध्ये पर्छ सप्तरी जिल्लाको भारदह । यसअघिका आन्दोलनहरुमा भारदहले ठूला प्रदर्शनहरु गरेको थियो भने आन्दोलनकारी र प्रहरीबीचको झडप पनि यहाँ बढी नै हुने गरेको थियो । यसपटक पनि त्यस्तै भयो । 

संविधानसभामा रहेका चार मुख्य दलहरुबीच भएको १६ बुँदै सम्झौता पछि ‘फास्ट ट्«याक’बाट ल्याइएको संविधानको पहिलो मस्यौदा र त्यसपछि भएको सीमांकनबाट असन्तुष्ट आम मधेसी, थारु, जनजाति र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन थालेका हुन् । यसका साथै, अखण्ड मध्यपश्चिम र सुदुरपश्चिमको माग गरेर पनि आन्दोलनहरु भए । देशभरि भएका आन्दोलनमा पाँच जनाको मृत्यु भएको छ भने भारदहमा प्रहरीले चलाएको गोली लागेर राजीव राउतको ज्यान गएको छ । आन्दोलनमा भएको झडपका कारण र राउतको ज्यान जाने गरी प्रहरीले गरेको कारवाहीबारे रेकर्ड नेपालले गरेको सोधखोजबाट पत्ता लागेका तथ्य यहाँ प्रस्तुत गरिएको छ ।   

भारदहमा नै झडप किन ? 

हरेक आन्दोलनका क्रममा आह्वान गरिएका बन्दमा काठमाडौंबाट पूर्व जान छुटेका गाडीले अन्यत्र ठूलो सास्ती बेहोर्न नपरे पनि कमला नदि तरेर सिरहा प्रवेश गरेपछि बन्दकर्ताहरुको आक्रोशको सामना गर्ने गरेका छन् । त्यस्तै पूर्व काँकरभिट्टा वा अन्यत्रबाट छुटेका गाडीले कोशी ब्यारेज तरेर सप्तरी पुगेपछि मधेसी बन्दकर्ताहरुको उस्तै आवेगको सामना गर्नुपर्छ । राजमार्गको यही खण्डमा पर्छ भारदह । 

पूर्व पश्चिम राजमार्गको यो खण्डमा मधेसीहरुको बाहुल्य छ । राजमार्ग छेऊका अन्य बजार र शहरहरुमा भने पहाडी समुदायको बसाई बाक्लो छ । मधेसीहरुले आफ्नो अधिकारको सुनिश्चितताका लागि गरेको आन्दोलनको प्रभाव मधेसी बाहुल्य क्षेत्रमा बढी हुनु सामान्य हो । त्यसउपर, धेरै अघिदेखि नै सिरहा र सप्तरीका गाऊँहरु समेत मधेसी राजनीतिका केन्द्रबिन्दु हुन् । मधेसी पहिचान र अधिकारका लागि लडेका सबभन्दा पुराना नेता गजेन्द्रनारायण सिंहदेखि अहिलेका जल्दा बल्दा नेता उपेन्द्र यादवको स्कुलिंगमा हुर्केका नेता कार्यकर्ताको राम्रो पकड रहेका क्षेत्र पनि यही नै हो ।  

यसपटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव यो क्षेत्रमा बढी थियो । गएको श्रावण ३२ गते बन्दकर्ताहरु सडकमा बसेर बन्दको कार्यक्रम प्रभावकारी बनाएका थिए । अन्यत्र बन्द त्यति सफल नभएको तर भारदह र वरपरका क्षेत्रमा मात्र बन्द भएर सवारी साधन चल्न नसकेकाले यो क्षेत्र प्रशासनको तारो बन्यो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई एसपी (प्रहरी उपरिक्षक) ‘कुनै हालतमा बन्द खुलाउन’ भनेर भारदह पुगे, स्थानीय प्रहरीलाई बन्द खुलाउन दबाब दिए । एक प्रत्यक्षदर्शी भन्छन्, ‘बन्दकर्ताले केही समयसम्म आफ्नो बन्द कायम रहने दावी नछोडेपछि बन्दकर्ता र प्रहरीबीच झडप सुरु हुन पुगेको हो ।’ 

साउन ३२ र भदौ १ मा भारदहमा घटेका घटना 

चार राजनीतिक दलले ६ प्रदेशको सीमांकनको खाका सार्वजनिक गरेपछि त्यसको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले साउन ३१ र ३२ गते मधेस बन्दको आह्वान गरेको थियो । भदौ ३१ गतेको बन्द शान्तिपूर्ण रह्यो । ३२ गते साँझ आन्दोलनकारीहरु पूर्व पश्चिम राजमार्ग बन्द गरेर भारदहमा बसेका थिए । साँझ ६ बजेतिर जनपद प्रहरी र सशस्त्र प्रहरीका एसपी राजमार्ग खुलाउन बन्दकर्ताहरुसँग अनुरोध गर्न आए । बन्दका कारण करिब एक दर्जन सवारी साधन रोकिएको थियो । भोलीपल्ट देखि फेरि अर्को अनिश्चितकालिन बन्द सुरु हुने भएकाले आन्दोलनकारीले पनि रोकिएका सवारी साधनलाई छोड्ने मनस्थिति बनाएका थिए । आन्दोलनको नेतृत्व गरिरहेकाहरुले बन्दकर्ता सर्वसाधारणलाई सम्झाई बुझाई सवारी आवागमन खुल्ला गर्न चाहन्थे । त्यसका लागि उनीहरुले एक घण्टाको समय मागेका थिए । तर प्रहरीले तुरुन्त खोल्न दबाब दिंदै बल प्रयोग ग¥यो, हवाई फायर र अश्रुग्यास प्रहार ग¥यो । आन्दोलनकारीका तर्फबाट पनि प्रहरीमाथि ढुंगामुढा प्रहार भयो । राति ८ बजेसम्म प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप जारी रह्यो । अन्ततः आन्दोलनकारीहरु तितरबितर भए । ८ बजेपछि बन्द भएको सवारी आवागमन सुचारु भयो ।

अघिल्लो दिन बेलुकीको कुटपिटले भारदहका स्थानीयवासी प्रहरीसँग आक्रोशित थिए । करिब ६० जना बिहान ८ बजेबाट सडक बन्द गरेर बसे । प्रहरीले बन्दकर्ताहरु माथि लाठीचार्ज सुरु गर्यो । बन्दको नेतृत्व गरिरहेका संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह र जिल्ला अध्यक्ष दिनेश यादव लगायतलाई कुटपिट गर्यो । नेताहरुलाई निर्घात कुटिएको कुरा भारदह बजार र वरीपरीका गाँउहरुमा डढेलो जस्तै फैलियो । साढे आठ बजेबाट गाँउगाँउका मानिसहरु भारदहमा आउन थाले । उनीहरु पनि प्रहरीमाथि ढुंगामुढा गर्दै जाईलागे । 

आन्दोलनकारीको समुहले प्रहरीलाई खेद्दै प्रहरी चौकीसम्म पुर्याए । चौकी नजिकैको अल्गो घरमा बसेर प्रहरीले अश्रुग्याँस र गोली चलायो । आन्दोलन हेर्न भनेर घरबाट निस्केका बेला स्थानीय राजिब राउतलाई गोली लाग्यो । साथै अन्य आन्दोलनकारीहरु घाइते भए । उनीहरुलाई उपचार गराउन लैजाँदा राउतको मृत्यु भयो । 

आन्दोलनमा सहभागी र प्रत्यक्षदर्शीको भनाई 

आन्दोलनका नेतृत्व गरिरहेका संघीय समाजवादी फोरम नेपालका सप्तरी जिल्ला अध्यक्ष दिनेश यादव आफूहरुले साउन ३२ गते रोकिएका सवारी साधन खुलाउन साँझ भएपछि छलफल गरिरहेको बताउँछन् । भोलिपल्ट देखि फेरि अनिश्चितकालिन बन्दको कार्यक्रम तय भएकाले रोकिएका सवारी साधनका यात्रुलाई मर्का पर्छ भनेर नै त्यसदिन बेलुका बन्द खुलाउनेबारे छलफल गरिरहेको उनको भनाई छ । यादव भन्छन्, ‘हामीले साथीहरुलाई सम्झाउन एक घण्टाको समय दिन प्रहरीलाई भन्यौ । प्रहरीले तुरुन्त राजमार्ग खोल्नुपर्छ भनेर बलप्रयोग ग¥यो ।’  यादवका अनुसार प्रहरीले घरघरमा गएर ‘आन्दोलनकारी र निहन्था नागरिकहरुलाई बिहारी, मधिसे, धोती भन्दै राति १० बजेसम्म कुटपिट गरे ।’ प्रहरीले पहाडी समुदायको मोटरसाइकल निर्वाध रुपमा चल्न दिए पनि मधेसी समुदायका मानिसका मोटरसाइकल देख्ने वितिकै उनीहरुलाई ओरालेर कुटपिट गरेको यादवले आरोप लगाए । 

आन्दोलनका अर्का नेतृत्वकर्ता शैलेन्द साहका अनुसार भदौ एक गते विहान कुनै गाडी गुडिरहेको थिएन । करिब ६० जना आन्दोलनकारीहरु बाटोमा बसेका थिए । उनले भने, ‘प्रहरी आएर एक्कासी हामीमाथि डन्डा बर्साउन थाल्यो । हामीलाई पक्रन सक्थ्यो तर त्यसो नगरेर कुटपिट गर्दै शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाउन खोज्यो ।’ आन्दोलनलाई बद्नाम गरेर प्रशासनले भाँड्ने षडयन्त्र गरेको साहको दावी छ । त्यसपछि ‘आफूहरु पनि ढुंगामुडामा उत्रनु परेको’ उनले स्वीकारे । 

रिपोर्टिङ्गका लागि झडप भएको ठाउँमा पुगेका एक स्थानीय पत्रकारले प्रहरीले अनावश्यक बल प्रयोग गरेको बताए । प्रहरी चौकी नजिकै बसोबास गर्ने एक स्थानीयवासी भन्छन्, ‘अपने सुरक्षा होएत कहिक पुलिस चौकी बनाब में ओतेक सहयोग कएलहुँ, मुदा अखन ओएह पुलिस हमरे सभके सन्तान पर गोली बरसा रहल अछि ।’ अर्थात, प्रहरीले सुरक्षा दिन्छ भनेर हामीले नै सहयोग गरेर प्रहरी चौकी बनाईयो, अहिले हाम्रै छोराछोरीमाथि गोली बर्साऊन थाले । 

प्रहरीको दावी 

जनपद प्रहरी सप्तरीका प्रहरी उपरिक्षक शिशिर कर्माचार्यले घटनाका विषयमा बोल्न अस्वीकार गरे । जिल्ला प्रहरी सप्तरीका नायब उपरिक्षक तथा प्रवक्ता नारायण प्रसाद चिमरियाका अनुसार प्रहरीले एक गते विहान सडकमा अवरोध गरेर बसेका आन्दोलनकारीलाई सम्झाई बुझाई अबरोध हटाउन प्रयास गरेको तर उनीहरुले एम्बुलेन्स समेत तोडफोड गरेको बताए । ‘बरमझियाबाट सहयोगको लागि आएको प्रहरीहरुलाई पनि भारदह चोकको उत्तर तर्फबाट ढुगांमुढा गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको हो ।’ त्यसपछि भिड तितरबितर भएको थियो । 

तर ९ः४५ बजे चारैतिरबाट भिड एकत्रित भएर अनियन्त्रित ढंगले ढुंगामुडामा उत्रेको चिमरीया दावी गर्छन् । भिड नियन्त्रण गर्न प्रहरीले ३२ सेल अश्रुग्याँस प्रहार गरे पनि नियन्त्रण नभएपछि प्रहरीहरु आफ्नो कार्यालयभित्र लुक्न बाध्य भए । उनले भने, ‘भिडले प्रहरी चौकीमाथि ढुंगामुडा र पेट्रोल बम प्रहार गरेको, प्रहरीको गाडी जलाएको र फाईरिङको पनि आवाज आएपछि सेन्ट्रिमा बसेको प्रहरीले गोली चलाएको हो ।’ प्रहरी चौकीको पूर्व तर्फबाट आन्दोलनकारीले चलाएको गोली भित्तामा लागेको उनले बताए । प्रहरीले कुनै पनि नश्लभेदी गाली नगरेको पनि चिमरीयाको दावी छ ।  

घटनामाथि टिप्पणी 

अधिकारकर्मी तथा लेखक दिपेन्द्र झाको टोलीले गरेको अनुसन्धानले भने घटनामा प्रहरीले अनावश्यक दमन गरेको खुलाएको छ । झा सम्बद्ध संस्था थर्ड अलायन्सले तयार पारेको प्रतिवेदनका अनुसार, जिल्ला प्रहरी कार्यालय सप्तरीका दुई प्रहरी निरिक्षकहरु अमतलाल माझी र मेघराज थापा आएर शान्तिपूर्ण रुपमा सडकमा बसेका आन्दोलनकारीलाई कुटपिट गरेको हो । झा भन्छन्, ‘भदौ १ गते प्रहरीले गोली चलाउनु पर्ने गरी अनियन्त्रित स्थिति सिर्जना भएकै थिएन ।’ घटना भइसकेपछि अनुगमनका लागि पुगेको नागरिक समाजको टोलीमा सहभागी विमल अर्यालको बुझाई पनि झाको दावीसँग मिल्दोजुल्दो छ । अर्याल भन्छन्, ‘बन्द खुलाउन खोज्नु प्रहरीको दायित्व होला । तर, आन्दोलनकारीले मागेको एक घण्टाको समय दिएको भए स्थिति यति तनावपूर्ण हुँदैन थियो । प्रहरीले नै आन्दोलनकारीलाई उत्तेजक बनाउन खोजेको देखिन्छ ।’ नागरिक समाजको अनुगमन टोलीको नेतृत्व गरेका डा. सुन्दरमणि दीक्षितले एक राष्ट्रिय दैनिकसँगको कुराकानीमा भने, ‘भीडलाई नियन्त्रण गर्ने अनेक उपाय हुँदाहुँदै पनि प्रहरीले मान्छे ताकेर गोली चलाएको देखिन्छ ।’ 

भीड नियन्त्रण गर्न सकिने हुँदा समेत प्रहरीले गोली चलाउनुको कारण ‘माथि’बाट स्थानीय प्रहरीलाई आएको दबाब हुन सक्ने दिपेन्द्र झाले अनुमान गरे । अन्यत्र बन्द खुकुलो भएपनि भारदह क्षेत्रमा बन्द प्रभावकारी भएकाले सवारी साधनहरु यहाँ आएर रोकिएका थिए । यहाँको बन्द खुलाउन सके लामो दुरीका सवारी साधन निर्वाध चल्न सक्ने सुरक्षा संयन्त्रको बुझाई रह्यो । त्यसैले भारदहमा ‘जुनसुकै हालतमा बन्द खुलाउन’ प्रहरी दृढ रहेको थियो । झा भन्छन्,‘यो क्षेत्र मधेसी राजनीतिमा अत्यन्त संवेदनशील छ भन्ने प्रहरीले बुझ्न सकेन । कुटपिट गरेर आन्दोलनलाई दबाउने दुस्साहस गर्नु मुर्खतापूर्ण थियो । गोली चलाउनुपर्ने कुनै कारण थिएन ।’  

निष्कर्ष

सप्तरीको भारदहमा घटेको घटना सर्वथा नौलो होइन । यसअघि पनि प्रहरीले आन्दोलन मत्थर पार्न अपनाएका उपायहरुको अध्ययन गर्दा यस घटनामा प्रहरीका तर्फबाट दमन भएन भन्न सकिने ठाउँ छैन । अर्थात बाध्यात्मक स्थिति आएर नै गोली चलाउनु परेको प्रहरीको दावीलाई पुष्टि गर्ने यथेष्ट प्रमाणहरु छैनन् । आन्दोलनकारीले चलाएको भनिएको ‘गोली भित्तामा ठोकिएको र गोलीको दाग अझै रहेको प्रहरीको प्रमाण’ विश्वासिलो छैन । भारदहमा एक जनाको मृत्यु भए लगत्तै त्यहाँ पुगेका पत्रकार, अधिकारकर्मी, र बुद्धिजीविले पनि प्रहरीको दावी पुष्टि गर्न नसकिएको बताएका छन् । 

पूर्वी मधेस र थरुहट क्षेत्रमा भइरहेका आन्दोलनलाई हिंसात्मक हुन नदिने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको हो । प्रशासनले दमन गर्न नचाहे आन्दोलन हिंसात्मक हुने देखिंदैन । साथै, आन्दोलनकारीहरु स्पष्ट राजनीतिक माग लिएर सडकमा आएकाले समस्याको समाधान राजनीतिक तवरले नै गर्नुपर्छ । अर्थात, सत्तारुढ दल र संविधानसभामा रहेका ठूला दलहरुले आन्दोलनरत पक्षसँग वार्ता गर्न अनुकूल वातावरण तयार पार्न ठोस कदम चाल्न जरुरी छ । 

भारदह घटनाको निष्पक्ष छानविन गरी अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको ज्यान लिने दोषी प्रहरीलाई कारवाही गर्नु सरकारको दायित्व हो । यसो गरेमा सरकार आन्दोलनरत पक्षप्रति गम्भिर रहेको सन्देश जानेछ र आन्दोलनले हिंसात्मक मोड लिने छैन । आफ्नो दायित्वबाट च्युत हुँदै बल प्रयोग गरिरहे परिणति राम्रो नहुने सत्ताधारीले बुझ्न ढिलो गर्नुहुँदैन ।

कभर फोटो: भारदह प्रहरी कार्यालय सुरक्षार्थ खडा प्रहरी ।

निरन्तर रेकर्ड