भूकम्प पीडित थामी भन्छन् ‘लालपूर्जा नभएकाले अनुदान पाएनौं’

भूकम्प पीडित थामी भन्छन् ‘लालपूर्जा नभएकाले अनुदान पाएनौं’

'शरीरमा ताकत हुँदासम्म त यसरी बसौंला, खाउँला । बल नभएपछि के गर्ने ? घर कसरी बनाउने ?'

चिरन मानन्धर १४ आषाढ, २०७३

गत वर्ष गएको भूकम्पले भत्काएको आफ्नो घर नजिकै सानो टहरोमा बसेकी छिन, ६१ वर्षीया बुधमाया थामी । उनको घर र टहरा भएको जग्गा आफ्नो नाममा भने छैन । उनको परिवारको जीविका दोलखाका नेवारहरुको जग्गा अधियाँमा कमाएर चलिरहेको छ । अहिलो घर भएको ठाउँमा बुधमायाका श्रीमानले २८  वर्षअघि घर बनाएर बसेकोे दाबी गर्छिन् उनी । धेरै लामो समयदेखि अधियाँमा खेतबारी कमाए पनि कानूनी प्रमाण नभएकोले मोहीयानी हक पाउन नसकेको गुनासो उनका छोरा अमिर थामी गर्छन । यसरी आफ्नो नाममा लालपूर्जा नहँदा र जग्गाधनीले घर बनाउने स्वीकृति पनि नदिँदा ढुंगामाटोले बनाएको पक्की घर भत्किए पनि भूकम्प पीडितको पुनर्वासकालागि सरकारले  दिने २ लाख अनुदान पाउनबाट उनीहरु बन्चित भएका छन् । 

दोलखाको भीमेश्वर नगरपालिकामा यसरी पुस्तौदेखि अरुको जग्गा अधियाँमा कमाउने र अरुकै जग्गामा घर बनाएर बस्ने ६ परिवार थामी छन् । उनीहरु सो नगरपालिकाको वार्ड नं ३ सरस्वती थान नजिक टहरामा कष्टसाध्य जीवन बिताउन बाध्य छन् । पुस्तौंदेखि एकै ठाउँमा बस्दै आएका उनीहरु कसैका नाममा पनि एक आना जग्गा छैन । अधियाँमा जग्गा कामउने बाहेक आवश्यक पर्दा जगाधनीको भैपरी आउने काम गर्छन् । थामी जाति नेपालको अतिसिमान्तकृत जातीमध्येको एक हो ।

५ सन्तानकी आमा बुधमाया छोरासँग एउटै घरमा बसे पनि भूकम्प आउनु पहिले नै भिन्न भैसकेकी थिइन । कान्छो छोरोले मूलघरसँगै जोडेर घर बनाएको थियो । माइलो छोरो र उनी भिन्न तलामा अलग अलग बस्थे । गत वर्ष बैशाख १२ गतेको भूकम्पले चिराचिरा पारेको घर २९ गतेको दोस्रो ठूलो कम्पनले लड्यो । उक्त घरको भुईंतला नभत्काई जस्ता लगाएर बुधमायाले बस्तुभाउ पाल्ने गोठ बनाएकी छन् । उनका दुई छोराले भूकम्प पीडित राहत कार्ड पाए । तर, घर भत्काउनु अघि नै भिन्न बसेकी बुधमायाले कुनै राहत पाउन सकेकी छैनन् । उनी आफ्नो बोल्न नसक्ने छोरीसँग सानो टहरोमा बसेकी छिन् । पुरानो घरको जस्ताले बारबेर गरेर टहरा बनाएकी छिन् । पातलो र खिया लागेको जस्ता भएकोले अघिल्लो वर्खामा घर भित्र आहाल बन्थ्यो । त्यसपछि छोराले आफूले राहतमा पाएको त्रिपाल ओडाई दिएका छन् । अर्काको जग्गा कमाउनु बाहेक उनी जिवीकोपार्जनको लागि गाउँमा मेलापात गर्छिन । यसरी मेलापात गएबापत उनले दिनको ३ सय रुपैयाँ ज्याला पाउने गरेकी छिन् । उनी भन्छिन् ‘शरीरमा ताकत हुँदासम्म त यसरी बसौंला, खाउँला । बल नभएपछि के गर्ने ? घर कसरी बनाउने ?’

बुधमायाका २ छोरा अमिर र समिर पनि अहिले भत्केको पुरानो घरसँगै टहरो हालेर संयुक्त रुपमा बसेका छन् । दुई भाइले पाएको राहतको जस्ताले टहरा बनाए पनि टहरा भित्रको जिवन निकै सकसपूर्ण भएको छ । एक महिना अगाडि सुत्केरी भएकी जेठा छोराकी श्रीमति ज्योति थामी भन्छिन ‘हिउँदमा शित चुहुन्छ । अहिले वर्षातमा पानी चुहुन्छ । चिसोले बच्चा र मेरो मुख सुनिएका छन् ।’ बिहान उठ्दा बच्चाको आँखा चिप्प्राले टम्म पुरिने गरेको उनले बताईन् । गाइवस्तु पालेको गोठसँगै छ ज्योतिको सुत्ने कोठा । मलमुत्रको दुर्गन्ध त आउँछ नै, गाइवस्तुको पिसाब पनि टहरो भित्र छिर्छ । झुलको अभावमा उनको छोरीलाई लामखुट्टेले टोकेर मुख पाकेको छ । उनी भन्छिन्,‘घर नहँुदा समस्या त कति हो कति । टहरो भित्र बार बन्देज लगाएको छैन । देवर देउरानी पनि सँगै बसेका छौ । अनेक समस्या छन् ।’ 

केन्द्रिय तथ्यांक विभागबाट आएका सर्भेयरले घर नापजोख गरेर दिएको निस्सा पनि उनीहरुसँग छ । तर लालपुर्जा नहुँदा उनीहरुको आवास सम्झौतामा उनीहको नाम पर्न सकेन । आवास पुर्ननिर्माण अनुदान सम्झौता गर्न लालपुर्जा अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था कायम गरिएको छ । 

कक्षा तीनमा पढ्दा पढ्दै बुबाको मृत्यु भएपछि पढाई अगाडि बढाउन नसकेको २९ वर्षीय अमिर अहिले डकर्मी काम गर्छन । उनले घर बनाउन जग्गा धनीसँग लालपुर्जा मागे पनि  जग्गाधनीले आनाकानी गरेर टारेको बताए । उनी भन्छन ‘जग्गाधनीले लालपूर्जा नदिँदा सरकारबाट अनुदान पाउन सकिएन । आफूले कमाएको पैसाले खान त गाह्रो छ । टहरामा नै जीवन जाला जस्तो छ ।’

६१ वर्षीय सोमबहादुर थामी पनि विगत १६/१७ वर्षदेखि भिम उच्चमाविको जग्गामा घर बनाएर बसेका थिए ।  भत्केको घरको ढुंगा प्रयोग गरेर ३ फिट जस्तो बारेर अहिले बस्ने थलो बनाएका छन् । त्यसमाथि कुनै बारबन्देज छैन  । बस्ने ठाउँको एक कुनामा ओदाने चुलो छ । खाना पकाउन प्रयोग गरिने सानो कालो दुई भाँडा छन् । चार किला भुइँमा गाडेर सुत्ने खाट बनाएका छन् । विछ्यौनाको नाममा गुन्द्री र पातलो मैलो कम्बल छ । उनको सम्पत्ती जम्मा त्यति नै हो । जंगल भित्र एकलासको ठाउँमा उनको बसाई छ । चिसोमा मुटु काम्ने जाडो हुन्छ र वर्षातमा बाछिट्टा छिरेर दह बन्छ । कहिले सुत्दा पानीले लछ्याप्रै भिज्छन् । त्यसमाथि जंगलको बीचमा जंगली जनवारको डर त हुने नै भयो । भूकम्प पीडित राहत कार्ड र सर्भेअरले दिएको निस्सा भए पनि उनीसँग लालपुर्जा छैन । उनी र उनका ३० वर्षीय छोरा पूर्णबहादुर थामीले सरकारले दिने २ लाख अनुदानको विषयमा पनि कुनै जानकारी नभएको बताए । 

त्यस्तै कहर सुनाए धनबहादुर थामीले । आफ्नो परिवारले ढुंगा फुटाएर बनाएको घर भूकम्पले काँक्रा चिरे जस्तो चिरेपछि केही समय उनी र उनको परिवार बाँस र चित्राले बेरेको टहरोमा बसे । बाटोको छेउमै भएकोले मोटर चल्दा टहरो भित्र धुलो छिर्दा सहेर बस्नुको विकल्प थिएन । तर, एक दिन सर्प नै टहरा भित्र छिरेपछि भने करिब रु १ लाखमा जस्ताको टहरो निर्माण गरेको बताउँछन धनबहादुर । उनकी श्रीमती मैती थामी सर्भेअरले दिएको निस्सा लिएर आवास अनुदान सम्झौताको लागि नाम लेखाउन गएकी थिइन  तर लालपूर्जा आवश्यक पर्छ भनेपछि रित्तो हात र अमिलो मन लिएर फर्कीन । 

पुस्तौंदेखि अरुको जग्गा कमाएर बसेको र घर पनि आफ्नै दुःखले बनाएका धनबहादुरको हातमा लालपूर्जा छैन । घरमै बस्दा पनि लालपूर्जा नभएकोले बिजुली बत्ति र खानेपानीको धारो पनि जोड्न पाएका थिएनन् । अहिले टहरामा कुनै सुविधा हुनु असम्भव नै छ । उनको छोरीले प्रवेसीका परिक्षाको तयारी टुकी मै गर्छिन । मैती भन्छीन ‘हाम्रो पो आधा उमेर गयो, बच्चाको त पुरै बाँकी छ । हामीले पुस्तौंदेखि कमाएको जग्गा भएकोले तल्सीङले हामीले पाउने भाग हाम्रो नाममा गरिदिए हुन्थ्यो ।’ 

उनीहरुले धेरै पटक जग्गा धनिलाई जग्गा आफ्नो नाममा गरिदिन अनुरोध गरिसके । तर जग्गा धनिले विभिन्न बाहाना बनाएर टार्ने गरेका छन् । धनबहादुर भन्छन् ‘उनीहरुको मान्द्रोमा हामी बसेका छौ । उनीहरुलाई धोका दिन मिल्दैन । उनीहरुको चाकरी हामीले गर्नैपर्छ । आफ्नो घर भएको र आफ्नो पुर्खाले कमाएको जग्गा माया धर्मले दिए हात थाप्ने हो । घर बनाएर बस्ने हो । नभए यतिकै मर्ने त होला नि ।’

 

कभर फोटोमा थामी परिवार 

फोटोः लेखक

 

निरन्तर रेकर्ड