‘बनायो भुइँचालोले हामीलाई, वल्लो घाट न पल्लो तीर’

‘बनायो भुइँचालोले हामीलाई, वल्लो घाट न पल्लो तीर’

बिस्थापितहरु जग्गा माग गरिरहेका छन्

चिरन मानन्धर दोलखा २३ आषाढ, २०७३

भूकम्प लगतै दोलखाका विभिन्न वस्तिहरु पहिरोको जोखिममा रहेकाले स्थानान्तरणको बहस चल्यो । २०७२ चैत ४ गतेसम्म क्षमावती, बुलुङ, लाकुरीडाँडा, लादुक र लामिडाँडा गाविसका ४ सय ४८ घर विस्थापित भएको तथ्यांक गृह मन्त्रालयले संकलन गरेको छ । ती गाविसका १७ सय ८९ परिवार प्रभावित भएका छन् । स्थानान्तरणको वहस जारी रहे पनि ठोस निर्णय केही भएको छैन ।   

सुस्पा क्षेमावती गाविस बोसिन्पा र बुमाकमा बैशाख १२ गतेको भूकम्पले अधिकांश घर ध्वस्त भयो । भूकम्प पश्चात गाउँ माथि पहाडमा चिरा परेको छ । बस्ति नजिकै रहेको अक्करिलो पहाडबाट ठूलाठूला ढुंगा बस्तिमा निरन्तर खस्न थालेपछि त्यहाँका बासिन्दाहरुले त्यस ठाउँमा बस्न नसक्ने निर्णय गरे । बोसिन्पा र बुमाका थामि जातिको बस्ति थियो । भूकम्पपश्चात केही दिन उनीहरु आफ्ना छरछिमेकको शरण लिए । त्यसपछि लागे सुरक्षित स्थानको खोजिमा । त्यसै मेसोमा उनीहरुले त्यही गाविसको पानीपोखरी भन्ने ठाउँमा अस्थाई टहरा हालेर बस्ने निधो गरे । बैशाख १६ गतेसम्म त उनीहरुले जेनतेन मुखलुकाउने अस्थायी टहरा निर्माण पनि गरिसकेका थिए ।

पानीपोखरी उनीहरुको पुरानो बस्तिबाट नजिक भएकोले खेतबाली लगाउन जान सजिलो हुन्थ्यो । त्यसमाथि पानीपोखरी पर्यो सार्वजनिक पर्ति बाझो जग्गा । बोसिन्पाको आफ्नो घर ध्वस्त भएपछि पानीपोखरीमा अस्थाई टहरा हालेर बसेका भिमबहादुर थामी अहिले त्यहाँ ८४ परिवार रेहेको बताउछन् । त्यस ठाउँमा थामीबाहेक थोरै संख्यामा दलित पनि बसोबास गर्छन । भीमबहादुर थामी भन्छन् ‘यहाँ दुखजिलो गरेर बसेका छौ । पुरानो बस्ति भएको ठाउँमा खेतीसम्म गर्न सकिन्छ । तर त्यहाँ घर नै बनाएर बस्न सकिदैन । पुरानो थलोमा बस्न सक्ने भए यो चौरमा संघर्ष गरेर बस्न पर्दैन थियो ।’ बोसिन्पाकोे भ्रमण गरेको भूगर्भविदले पनि त्यस ठाउँमा नबस्न सुझाब दिएका थिए ।

पानीपोखरीको ७४ रोपनी जग्गामा जस्ता र त्रिपालको अस्थाई टहराहरु रहेका छन् । विभिन्न संघसंस्थाको सहयोगमा पानी र चर्पीको प्रबन्ध गरिएको छ । विस्थापितहरु आफ्नै प्रयासमा बिजुली बत्ति पनि जोडिएको छ । केही परिवार सामुहिक रुपमा पनि बसेका छन् ।
सुस्पा माइति भएर एक्लै बस्दै आएकी निमा छोटी शेर्पा (कार्की)ले पनि त्यही ठाउँमा २५ हजार ऋण गरेर टहरा बनाएकी छिन । त्यो ऋण कसरी तिर्ने उनी चिन्तित देखिन्थिन । उनले आफ्नो चिन्ता भाखा हालेर व्यक्त गरिन ‘बनायो भुइचालोले हामीलाई, वल्लो घाट न पल्लो तीर । लाग्छ नि मनमा गहिरो पीर ।’ निमा छोटी थप्छिन ‘यो ठाउँमा सरकारले स्थायी बास बस्ने व्यवस्था गरिदिए हुन्थ्यो । खाने व्यवस्था त हामी आफ्नै पाखुरा बजारेर गथ्र्यौ ।’

सुष्पाक्षेमावतीका गाविस सचिबका सरोज कुमार श्रेष्ठले गाविसलाई त्यहाँ बसोबास गर्ने प्रत्येक ८४ घरधुरीको पहिलेको ठाउँको जग्गाको लालपूर्जा पठाइदिन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चरिकोटले पत्राचार गरेको बताए । उनले थपे ‘अहिले आर्थिक बर्षको अन्त भएकोले अन्यकामको चाप छ । यो आर्थिक वर्षको अन्तपछि मात्र लालपुर्जा संकलन गरेर पठाउने काम अगाडि बढ्छ ।’

दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही उनीहरुले जग्गा प्राप्त गर्न समय लाग्ने बताउछन् । प्रमुख जिल्ला अधिकारी शाही भन्छन् ‘उनीहरुलाई जग्गा साटफेर प्रणाली अन्तर्गत जग्गा उपलब्ध गराउने हो । सार्वजनिक जग्गा दिन सरकारले नै निर्णय गर्नुपर्छ । यसको लागि समय लाग्छ ।’

पानीपोखरीका विस्थापितहरु संगठीत रुपमा जग्गा प्राप्ति गर्न एक स्वरमा माग गरिरहेका छन् । तथापि यो प्रक्रिया ढिलो भइरहेको छ । तर विस्थापित भएका अन्य चारवटा वस्तिका बासिन्दाका विषयमा सरोकारवाला निकाय बेखबर देखिन्छ ।

कभर फोटो ः केदार शिवाकोटी

निरन्तर रेकर्ड